आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भाजपाद्वारा प्रोफेट मोहम्मदबारे बोल्दा ‘अत्यन्त होसियार’ हुन निर्देशन

बुधबार, २५ जेठ २०७९, १७ : १८
बुधबार, २५ जेठ २०७९

भारतको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी(भाजपा)ले आफ्ना शीर्ष नेतालाई सार्वजनिक स्थानमा धर्मबारे बोल्दा ‘अत्यन्त सचेत’ हुन निर्देशन दिएको छ ।  केही समयअघि पार्टीका दुई नेताले मुसलमान धर्मका प्रवर्तक मोहम्मदबारे अपमानजनक टिप्पणी दिएपछि कैयौं मुस्लिम मुलुकले भारत समक्ष विरोध जताए । 

रोयटर्स समाचार एजेन्सीका अनुसार भाजपाले प्रत्यक्ष टेलिभिजन अन्तरवार्तामा सहभागी हुने अनुमति पाएका तीसभन्दा बढी पदाधिकारी र केही संघीय मन्त्रीलाई यससम्बन्धमा मौखिक प्रशिक्षण दिएको थियो ।  गतसाता भाजपाले आफ्नो प्रवक्ता नुपुर शर्मा र दिल्ली मिडिया सेल प्रमुख नवीनकुमार जिन्दाललाई इस्लाम विरोधी टिप्पणी दिएकोमा पार्टीबाट निष्कासन गर्यो । 

मुस्लिम बहुल मुलुकले ती नेताको टिप्पणीका लागि भारत सरकारसँग माफी माग्न आग्रह गरेपछि भाजपाले सतर्कता अपनाउन सुरु गरेको हो ।  सन् २०१४ मा भाजपा सत्तामा आएदेखि भारतीय मुसलमानहरुले विभिन्न प्रकारका भेदभाव र दबावहरु समाना गर्नुपरेको बताइन्छ । तथापि प्रधानमन्त्री मोदी र उनको पार्टीले यसलाई खण्डन गर्दै आएको छ । 

गत साता अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वार्षिक रिपोर्टले सन् २०२१ मा भारतभर अल्पसंख्यक समुदायका सदस्यहरूमाथि आक्रमण भएको उल्लेख गरेको छ ।  हालैका वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खाडी क्षेत्रका मुस्लिम मुलुकहरूसँग आर्थिक सम्बन्ध सुधारेका छन् । तर मोदीका पार्टी कार्यकर्ताको मुसलमान विरोधी टिप्पणीले सम्बन्धमा कटुता सिर्जना भएको विदेश नीति विज्ञ बताउँछन् । –अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप