शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी जमिन खोजी गर्दै वीरेन्द्रनगर नगरपालिका

बुधबार, २५ जेठ २०७९, १७ : ०९
बुधबार, २५ जेठ २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक÷सरकारी जमिनको खोजी गर्ने भएको छ । नगरपालिकाले परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने भएको हो ।

नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले बुधबार पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकको निर्णयबारे जानकारी दिँदै ढकालले भनिन्, ‘लगत लिने र हालको अवस्थाको वस्तुगत र यथार्थ विवरण पनि तयार गरिने छ । र, सबैले देख्ने गरी सूचना बोर्ड राखेर सरकारी जग्गाको संरक्षण गरिने छ ।’

पहिलो कार्यपालिका बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ । जसमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य सेवा प्रभावकारी गराई सामाजिक सुरक्षाको अनुभूति गराउने, ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घ रोगीको विवरण लिई निश्चित मापदण्ड तथा कार्यविधि तयार गर्ने निर्णयसमेत गरेको छ ।

निःशुल्क  स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइने, नगरक्षेत्रका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि भण्डारीले बताइन् । यो उनको चुनावी प्रतिबद्धतामा पनि समेटिएको विषय थियो ।

ढकालले वीरेन्द्रनगरको फोहोरमैला व्यवस्थापनका लागि अनिवार्य तालिका पेस गरिने बताइन् । ‘समयमै फोहोर उठाउन अनिवार्य रुपमा समय तालिका पेस गर्न लगाइने छ,’ उनले भनिन्, ‘सोही अनुसार भए नभएको प्रभावकारी अनुगमन गरिने छ । यदि अनुगमनका क्रममा कमजोरी देखिएको खण्डमा ठेक्का तोडिने छ ।’

नगरपालिकाले बर्षातमा डुबान हुने क्षेत्रको पनि पहिचान गर्ने भएको छ । वीरेन्द्रनगर–१२ को तीनकुने क्षेत्र, वडा नं. १३ लगायतका पहाडी भागका साथै नगरका अन्य क्षेत्रमध्ये जटिल प्रकृतिको डुबान भएका क्षेत्र पहिचान गरी जनप्रतिनिधि र इञ्जिनियरसहितको प्राविधिक टोली खटाइने जनाइएको छ । सो टोलीले तयार पार्ने प्रतिवेदनको आधारमा दीर्घकालीन समाधानका लागि बजेट तथा स्रोत व्यवस्थापन गरी समाधान गर्ने नगर कार्यसमितिको निर्णय छ ।

सडक र छाडा पशु चौपाया

वीरेन्द्रनगरमा छाडा पशुचौपाया नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ढकालले आफ्नो चुनावी प्रतिबद्धतामा छाडा पशु चौपाया व्यवस्थापन गरिने जनाएकी थिइन् ।

सोही अनुसार कार्यपालिकाको पहिलो बैठकले यस सम्बन्धी निर्णय गरेको छ । छाडा पशु चौपायाको व्यवस्थापन गर्न गौशाला निर्माण गरिने भएको हो । त्यसका लागि प्रदेश सरकार र नगरपालिका बीच दुई पक्षीय सम्झौतासमेत भएको जनाइएको छ ।

नगरपालिकाको वडा नं. ११ भेरी पुल नजिक प्रशान्ति धार्मिक सामुदायिक वनमा गौशालाको पुर्वाधारजन्य संरचना निर्माण गरिने नगरप्रमुख ढकालले जानकारी दिइन् ।

वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक कोषको स्थापना गर्ने भएको छ । ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव अभियान’ अन्तर्गत नगरको शैक्षिकस्तर अभिवृद्धि गर्न एक स्वेच्छिक कोष स्थापना गर्न आवश्यक कानुन निर्माण गरिने छ,’ ढकालले भनिन्, ‘त्यसको प्रारम्भिक मस्यौदा पेस गर्न शिक्षा युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिइने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप