शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह चुनाव हार्नुका विभिन्न कारण देखाए सीके राउतले

बुधबार, २५ जेठ २०७९, १६ : ५१
बुधबार, २५ जेठ २०७९

सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा सशक्त उम्मेदवारको अभावका कारण अपेक्षाकृत परिणाम ल्याउन नसकेको ठहर गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिले स्थानीय निर्वाचन २०७९ को परिणाम सकारात्मक र उत्साहजनक रहे पनि अपेक्षाकृत नभएको ठहर गरेको छ ।

परिणाम अपेक्षाकृत नहुनुको कारणमा जनमतले सत्ता गठबन्धनद्वारा गरिएको राज्यशक्तिको चरम दुरुपयोग र धाँधली, प्रहरी प्रशासनको संरक्षणमा भएको मतको खरिदविक्री, समाजमा व्याप्त गरिबी र जनचेतनाको कमी, विरोधी पार्टीका नेता कार्यकर्ताहरूद्वारा फैलाइएको भ्रम नै मुख्य रहेको जनाएको छ ।

साथै, आफ्नै पार्टीभित्र देखिएको सशक्त उम्मेदवारको अभाव, उम्मेदवारको कमजोर आर्थिक अवस्था तथा निष्क्रियता, पार्टीभित्र अनुशासनको कमी तथा आफ्नै नेता कार्यकर्ताहरूबाट गरिएको अन्तर्घातका कारण पार्टी कमजोर भएको ठहर सो पार्टीले गरेको छ ।

स्थानीय निर्वाचनमा पार्टीसँग अन्तर्घात गर्ने पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको कालोसूची तयार गर्ने निर्णयसमेत बैठकले गरेको महासचिव चन्दन सिंहले बताए । तर उनीहरूलाई सुधारका लागि एक पटक मौका दिँदै उनीहरूको आगामी एक वर्षको गतिविधि निगरानीमा राखिने निर्णयसमेत गरेको उनले बताए ।

केन्द्रको निर्णयलाई नमान्ने, आफू अनुसार निर्णय भएन भने निष्क्रिय बसिदिने, असहयोग गर्ने तथा विद्रोह गर्ने नेता कार्यकर्ताहरूलाई कालो सूचीमा राख्ने निर्णय गर्दै जनमतले त्यस्ता नेतालाई भविष्यमा कुनै जिम्मेवारी नदिनेसमेत निर्णय गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि केन्द्रले ‘केन्द्रीय पर्यवेक्षक’ पठाउने निर्णय गर्दै सो पार्टीले केन्द्रीय पर्यवेक्षक नतोकेका निर्वाचन क्षेत्रहरूमा जिल्ला इन्चार्जहरू स्वयंले सो कार्यभार सम्पादन गर्ने प्रस्ट पारेको छ ।

जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरूले पूर्णकालीन रूपमा समय दिनुपर्ने उल्लेख गर्दै जनमतले केन्द्रीय सचिवालयबाट प्राप्त निर्णयहरूलाई स्थानीय समितिहरूसँग समन्वय गरेर कार्यान्वयन गर्नुपर्ने जनाएको छ । जिल्ला इन्चार्ज र पर्यवेक्षकहरुले दैनिक रूपमा केन्द्रीय सचिवालयसँग सम्पर्कमा बस्नु पर्ने र आवश्यक कागजात आदानप्रदान गर्नुपर्ने निर्णयसमेत पार्टीले गरेको छ ।

स्थानीय निर्वाचनमा दुई–दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेको ठहर गर्दै बैठकले आगामी निर्वाचनका लागि गठबन्धन गर्न खुल्ला रहने निर्णय गरेको महासचिव सिंहले बताए । राष्ट्रिय, प्रादेशिक, जिल्ला वा निर्वाचन क्षेत्रमध्ये कुनै स्तरमा गठबन्धन हुनसक्ने उनको भनाइ छ ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको लागि खुल्ला आह्वान गर्ने र पार्टीभित्र तथा बाहिरका समेत जनाधार भएका सबल उम्मेदवारहरूलाई टिकट वितरण गर्ने निर्णय गरेको छ ।

सरकारले किसान आन्दोलनको ११–बुँदे माग बजेट मार्फत् सम्बोधन गर्ने भनेर वार्तामार्फत् आश्वासन दिए पनि किसान आन्दोलनका मागहरू सम्बोधन गर्नुको साटो मलखाद खरिद गर्न बजेटसमेत नबढाएको जनमत पार्टीको भनाइ छ । किसानका समस्या समाधान गर्न ठोस पहल नगरेकाले किसान आन्दोलनलाई पुनः अगाडि बढाउने निर्णयसमेत सो पार्टीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप