बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : सांसदद्वारा महिला हिंसा अन्त्यको माग

बुधबार, २५ जेठ २०७९, १५ : १२
बुधबार, २५ जेठ २०७९

राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उपर कारवाही गर्न माग गरिन् । उनले भनिन्, “महिलाले कहिलेसम्म हिंसाको नामका ज्यान गुमाउनुपर्ने हो ?, यस्ता घटनामा संलग्न व्यक्तिलाई सरकारले किन कारवाही गर्न सक्दैन ?” सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई कारवाहीको माग गरे ।

सांसद उदयबहादुर बोहराले सल्यानमा काठको तस्करी भइरहेकाबारे ध्यानाकर्षण गराउँदै मापदण्ड विपरित क्रसर सञ्चालन गर्ने र नदी उत्खनन गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिए । सांसद गोपालकुमार बस्नतले भने, “ठेक्का प्रक्रिया सुरु गर्ने तर ठेक्काको काम अधुरो छाड्ने ठेकदारमाथि कारवाही हुन्छ कि हुँदैन ?” 

सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछूतको घटनालाई जवरजस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाए । सांसद दुर्गा गुरुङले सुर्खेतका किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन, सहजरुपमा मल कहिले पाइन्छ भनी प्रश्न गरिन् । 

सांसद  नारणदत्त मिश्रले रासायनिक मलको अभाव पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनार, मदनकुमारी शाह (गरिमा) र युवराज शर्माले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप