बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चुनाव घोषणा नहुँदै उम्मेदवारीको होड : पुकार बमदेखि रञ्जु दर्शना र मानुषी यमीसम्म काठमाडौंमा लड्ने

बुधबार, २५ जेठ २०७९, १४ : ५८
बुधबार, २५ जेठ २०७९

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामी मंसिर वा फागुन कुन महिनामा गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । चुनावको मिति तय नहुँदै काठमाडौंमा भने उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । खासगरी साना दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।

उम्मेदवारी घोषणा गर्ने कतिपयले सामाजिक सञ्जालबाट डिजिटल पोष्टर बनाएर चुनावी अभियान नै अगाडि बढाउन थालेका छन् । स्थापित दलका तर्फबाट कुनै तयारी नभइरहेका बेला साना दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरुले चुनावी माहोल बनाउने काम सुरु गरिसकेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा पुकार बमको उम्मेदवारी

काठमाडौं क्षेत्र नम्बर १ का लागि विवेकशील दलबाट पुकार बमले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार थालेका छन् । उनी यतिबेला समाजिक सञ्जाल तथा मिडियाहरुमा आफ्नो चुनावी अभियानको प्रचारका लागि व्यस्त हुन थालिसकेका छन् ।

राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका कैलालीका बम ‘नेपाल बन्द’ विरोधी अभियन्तामध्ये एक हुन् ।  डा. गोविन्द केसीले उठाएका माग पूरा गराउन तथा उनको अनसनलाई सफल बनाउन पनि उनले भूमिका खेलेका थिए ।

पैसा लगानी नगरे पनि चुनाव जित्न सकिन्छ भन्ने देखाउन चुनाव घोषणा अघि नै उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । उनले भने, ‘पुकार बमले ६ महिना अघि नै उम्मेदवारी दिनु भनेको पैसा बिना चुनाव जित्न सकिन्न भन्ने परम्परागत पार्टीको गलत व्याख्या विरुद्धको कदम पनि हो । अबको केही महिना जनताको घर धाउने हो । उहाँहरूको परे गाली पनि खाने हो । विगतमा गरेको काम र भविष्यमा गर्ने काम जनता समक्ष भन्ने हो र चुनाव जित्न करोडौँ पैसा लाग्दैन भन्ने सन्देश पनि दिने हो ।’

उनले आफ्नो उद्देश्य अहिलेको बेथितिविरुद्ध लड्ने र जनताले पाउने सेवालाई सरल बनाउने रहेको बताए । उनले भने, ‘अहिलेको यो बेथितिविरुद्ध हामी लड्ने हो र लड्नुपर्छ । हामीले नै हो यो फोहोर सफा गर्ने र अघि बढ्ने । तसर्थ, चुनाव प्रक्रियालाई सफा बनाऔँ र सदनमा देश बनाउने युवाको प्रतिनिधित्व गर्न मेरो उम्मेदवारीलाई साथ दिऔं । सडकबाट आवाज र क्रान्ति धेरै गरियो । अब सदनबाट आवाज, क्रान्ति र डेलिभरीको पालो ।’

यसअघि २०७४ सालको प्रतिनिधि सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १० हजार ९ सय ३६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी तत्कालीन साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए ।

क्षेत्र नम्बर ५ वा ७ : मानुषी यमी भट्टराई

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी एवं जनता समाजवादी दलकी नेतृ मानुषी यमी भट्टराई काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने योजनामा छिन् । त्यसका लागि उनले प्रारम्भिक तयारी थालिसकेकी छिन् ।

जसपाका नेता विश्वदीप पाण्डेले क्षेत्र नम्बर ५ वा ७ मध्ये कुनबाट मानुषीजी चुनाव लड्ने भन्ने निश्चित गर्नमात्र बाँकी रहेको रातोपाटीलाई बताए ।

उनले भने, ‘क्षेत्र नम्बर ५ बाट स्वतन्त्र पृष्ठभूमि तथा जसपाका युवा साथीहरु भेट्न आउनुभएको थियो । छलफलमा तपाई चुनाव लड्नुस्, हामी साथ दिन्छौँ भन्ने प्रस्ताव राख्नुभएको छ । मानुषीजी पनि यसमा सकारात्मक हुनुहुन्छ । अब क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने कि ७ बाट भन्ने कुराको निर्णय गर्न बाँकी छ । यो निश्चित भएसँगै हामी चुनावको तयारी गरेर अघि बढ्छौँ ।’

आफ्नो लागि जित निकाल्न कुन क्षेत्र सहज हुन्छ, त्यसको हिसाबमा मानुषी लागिपरेकी छन् । क्षेत्र नम्बर निश्चित गरेसँगै चुनावी अभियान सुरु गरिहाल्ने उनको तयारी छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा बाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मत पाएका थिए ।

यता काठमाडौं क्षेत्र नम्बर ७ मा बाम गठबन्धनबाट एमालेका रामवीर मानन्धर १८ हजार १०२ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत पाएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ६ : सञ्जय श्रेष्ठ (गायक)

यस्तै काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका श्रेष्ठले पार्टीले टिकट दिएमा पार्टीको तर्फबाट अन्यथा स्वतन्त्र रुपमा भए पनि उम्मेदवारी दिने बताएका छन् ।

पप गीत गायनबाट कुनै बेला चर्चामा रहेका श्रेष्ठ २०७० सालमा भएको दोश्रो संविधान सभाको चुनावमा काठमाडाैं क्षेत्र नम्बर ६ बाटै चुनाव लडेका थिए । उनले त्यतिबेला चौथो स्थान हासिल गरेका थिए ।  

रातोपाटीसँग कुरा गर्दै गायक श्रेष्ठले भने, ‘म हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छु, विगत दशबाह्र बर्षदेखि राजनीतिमा सक्रिय रहँदै आएको छु । राप्रपा मेरो पार्टी भएकोले म पार्टीबाटै चुनाव लड्छु । यदि पार्टीबाट टिकट पाइनँ भने स्वतन्त्र रुपमा भए पनि चुनाव लड्छु ।’

उनले चुनावका लागि टिम बनाइसकेको र अर्को सातादेखि घरदैलो तथा भेटघाट कार्यक्रम सुरु गर्ने बताए । उनले चुनावमा जनतालाई ठूलाठूला आश्वासन नदिने बताउँदै सबैको आधारभूत आवश्यकता पूरा गर्नका लागि आफू ढिलो ज्यान दिएर लागिपर्ने जनाए ।

उनले भने, ‘सबै मानिसहरुको आधारभूत आवश्यकता पूरा गर्नु मुख्य कुरा हो । मेरो आधारभूत आवश्यकता जे हुन्छ, मेरो क्षेत्रका जनताको आवश्यकता पनि त्यही हुन्छ । मैले जितेपछि मेरो क्षेत्रका जनताको आवश्यकता जे जति हुन्छ त्यसका लागि अहोरात्र खटिने संकल्प गरेको छु ।’

उनले सामाजिक सञ्जाल मार्फत यसअघि नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ६ मा २०७४ सालको प्रतिनिधि सभा चुनावमा काँग्रेसका भीमसेनदास प्रधान १६ हजार ७८५ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बाम गठबन्धनबाट माओवादी केन्द्रका झक्कु सुवेदीले १५ हजार ४८५ मत पाएका थिए । 

काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । 

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाएका थिए । विवेकशील नेपाली दलका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले तेश्रो स्थान पाएकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।

सुमन सायमी कुन क्षेत्रमा ?

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर राम्रो मत पाएका सुमन सायमीले आगामी प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवारी दिने चर्चा चलेको छ । उनलाई हाल महानगरप्रमुख बनेका बालेन्द्र शाहको टिमले सघाउने चर्चा चलिरहेको छ । उनले काठमाडौंको कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने निश्चित भने भइसकेको छैन ।

स्थानीय तह निर्वाचनमा उनले चौथो स्थान हासिल गर्दै १३ हजार ७ सय ७० मत पाएका थिए ।

र 'मुकुन्दे' पनि...

सामाजिक सञ्जालमा मुकुन्दे भनेर परिचित मुकुन्द घिमिरेले स्थानीय तह निर्वाचन सुरु हुनु पहिले नै काठमाडौं निर्वाचन क्षेत्र ४ का लागि उम्मेदवारी दिने घोषणा गरेका थिए । उनले आगामी निर्वाचनमा आफू काठमाडौंं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने बताए ।

उनले भने, ‘काठमाडौंमा सबैभन्दा पहिला मैले नै उम्मेदवारी दिने घोषणा गरेको हुँ । क्षेत्र नम्बर ४ अलि अप्ठेरो क्षेत्र पनि हो, त्यो क्षेत्रमा धेरै उम्मेदवारी पर्दैन भन्ने लाग्छ । शत्रु लागेनन्, बाधा पारेन भने मैले जित्ने आँकलन गरेको छु । अरु झिना–मसिना केटाकेटीहरूले पनि उम्मेदवारी घोषणा त गरिहाल्छन्, तर तिनीहरु बलिया उम्मेदवार हैनन् ।’

२०७४ सालको प्रतिनिधि सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका गगन थापा २१ हजार ५५८ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बाम गठबन्धनबाट एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप