बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

बुधबार, २५ जेठ २०७९, १४ : ३६
बुधबार, २५ जेठ २०७९

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ । 

घुर्बिसेपञ्चमी बजार ब्यवस्थापन समितिका पूर्वअध्यक्ष देवीचन्द्र आङ्देम्बेका अनुसार विगतमा स्थानीयस्तरका मुहानसमेतबाट प्रशस्तै पानी आउँथ्यो । यहाँ रहेका धाराखोल्सा, बोहोराटोललगायत मुहानबाट बजारमा पानी ल्याउने गरिएको थियो । यस्तै फिदिम नगरपालिका–८ इथुङबाट पाइपलाइनमार्फत पानी लगिएको थियो । इथुङका स्थानीयवासीले मुहान थापेर पानी स्थानीयस्तरमै प्रयोग गर्न थालेपछि निकै कम मात्रै घुर्बिसेपञ्चमी बजारका लागि प्रवाह हुने गरेको छ । 

पाँचथर र इलामको सीमामा रहेको घुर्बिसेपञ्चमी बजारमै फाल्गुनन्द गाउँपालिकाको अस्थायी केन्द्र भएपछि व्यापारिक चहलपहल झनै बढ्न थाल्यो । राँके–रबि–भेडेटार सडकले समेटेको यस बजारमा उक्त सडक कालोपत्र हुने भएपछि वरिपरिका गाउँका स्थानीयवासीको आकर्षण बढ्दै गयो । बजारमा बसाईं सरेर आउनेको सङ्ख्या बढेसँगै घर थपिँदै गए, जनसङ्ख्या बढ्दै गयो । 

खानेपानी समस्या समाधानका लागि फाल्गुनन्द गाउँपालिका पाँचथर र फाकफोकथुम गाउँपालिका इलामले करीब रु ३५ लाख रकम संयुक्तरुपमा लगानी गरी तीन वर्षअघिदेखि यहाँ डिपबोरिङ सञ्चालनमा ल्याएका थिए । स्थानीयवासीका अनुसार केही समय नियमित सञ्चालन भए पनि डिपबोरिङमा दैनिकजसो समस्या आई स्थानीयवासीको आवश्यकता पूरा गर्न सकिएको छैन् । विद्युत् महसुल महङ्गो पर्ने, विद्युत् नियमित नहुँदा डिपबोरिङबाट पानी ननिस्कने तथा डिपबोरिङ बिग्रिइरहने समस्या देखिएको छ । 

डिपबोरिङबाट सानो पानी प्रवाह हुने भए पनि शुल्क भने प्रतिघर मासिक न्यूनतम रु २५० पर्न जाँदा स्थानीयवासीले उक्त शुल्क तिर्न गाह्रो मान्ने गरेका छन् । बजार धेरै उचाइमा भएका कारण खानेपानीका लागि अन्य उपयुक्त मुहान प्राप्त नहुँदा खानेपानीको समस्या परेको हो । आङदेम्बेका अनुसार अहिले घुर्बिसेपञ्चमीका करीब ३०० परिवारले खानेपानीको समस्या भोगिरहेका छन् । 

खानेपानीको समस्या विकराल बन्न लागेपछि गाउँपालिकाको प्रयासमा अहिले फाल्गुनन्द–३ चिम्फुलामा खानेपानीको मुहान लिई खानेपानी आयोजनाको निर्माण थालिएको छ । फाल्गुनन्द–४ पुरानोपञ्चमीका स्थानीयवासीले आफूसमेत स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित भएको भन्दै उक्त पानी आफूहरुले पनि पाउनुपर्ने माग गर्दै अवरोध गरेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामले उक्त आयोजना निर्माणकार्य अगाडि बढाएको छ । 
फाल्गुनन्द गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बृजहाङ आङदेम्बे निर्माणाधीन आयोजनाको विवाद चाँडै समाधान गरी आयोजनालाई पूर्णता दिने बताउँछन् । “पुरानो पञ्चमीवासीसँग सहमति जुटाई चाँडै आयोजना निर्माण अघि बढाउँछौँ”, आङदेम्बेले भने, “मैले जिम्मेवारी पाएदेखि नै यसका लागि पहल थालेको छु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप