उपसभामुख पद खारेज गरौं : अमरेशकुमार सिंह
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे । उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ति भएन पनि उनले प्रश्न समेत गरे ।
सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए । सरकारलाई नचाहिने यो समिति राखिरहनुको औचित्य नभएको उनको दावी छ ।
सांसद सिंहले भने, ‘वास्तवमा हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजिरहेका छौं । यहाँ यदि उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौं । चाहियो भने उपसभामुख नियुक्ति आजसम्म किन भएन ? उपसभामुखको कारणले खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौं । दोस्रो, प्रतिनिधिसभा अन्तरगतकै राज्य व्यवस्था तथा सुशासन समिति छ । त्यो पनि चाहिएन भने त्यसलाई पनि खारेज गरौं । त्यहाँ रहनुभएका सांसदहरुलाई अर्को समितिमा पठाउन पनि म सभामुखजीलाई आग्रह गर्दछु । यी दुईटाको औचित्य र आवश्यक छैन भने किन राख्ने ? उपसभामुख पद पनि हटाऔँ । राज्यव्यवस्था समिति पनि हटाऔँ । किनकी सरकारलाई त यी समितिहरु चाहिँदै चाहिँदैन ।’
सांसद सिंहले बागमती नदीको कटानका कारण सर्लाहीको बरहथवा वडा नम्बर १ को बस्ती जोखिममा परेको भन्दै त्यसको सुरक्षाका लागि तत्काल तटबन्ध निर्माण गर्न सरकारलाई दवाव दिए । उनले भने, ‘बागमतीको सर्लाहीको बरहथवा वडा नम्बर १ मा बागमतीको कटान तीव्र रुपमा भइरहेको छ । त्यहाँ तत्काल तटबन्ध भएन भने हजारौं जनता उठीबास लाग्ने देखिन्छ ।’