मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

भारत : नाबालिगले पब्जीका लागि गरे आमाको हत्या, ३ दिन शवसँगै बसे अनि गरे पितालाई भिडियो कल

बुधबार, २५ जेठ २०७९, ११ : ०९
बुधबार, २५ जेठ २०७९

पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले ।

नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना (४० वर्ष) आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर घर पठाए ।

प्रहरीको दावी – मोबाइलमा गेम खेल्न रोक्दा, हत्या

एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् । त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए । राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको हत्या गरिदिए । त्यसपछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुनिदिए ।

दाजुको डरले आमाको शवसँगै सुतिन् छोरीः

मंगलबार राति प्रहरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आइरहेको थियो । नाकमा रुमाल बाँधेर प्रहरी भित्र पसेपछि साधनाको कुहिएको शव ओछ्यानमा पल्टिएको थियो । शव यति कुहिएको थियो कि अनुहार चिन्न गाह्रो भएको थियो । साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन् । प्रहरीले छोराले बहिनीकै अगाडि आमाको गोली हानी हत्या गरेको बताएको छ । जसका कारण उनी यति त्रसित भइन् कि दाइको आदेशमा आमाको शवसँगै सुतिरहिन् ।

शवको छेउमा पेस्तोल थियो, म्यागजिन पूरै खाली थियो

प्रहरीले साधनाको शव नजिकै नवीनको लाइसेन्स पेस्तोल फेला पारेको छ । पेस्तोलको म्यागजिन पूरै खाली थियो । यसबाट थाहा हुन्छ कि छोराले म्यागजिनका सबै गोली आमामाथि दागेका थिए । तर, शव कुहिएकाले शरीरमा गोलीका निशानहरू देखिएनन् । प्रहरीले छोरालाई धेरै सोधपुछ गरे तर कति गोली चलाएको हो भनेर उनले भन्न  सकेनन् । यसका लागि प्रहरीले पोष्टमार्टम रिपोर्ट पर्खिरहेको छ ।

बर्थ डेको राती पनि आमा–छोराबीच झगडा

यता प्रहरीले पनि साधनाले कुनै कुरामा रिसाएर छोरालाई लगातार प्रताडित गरिरहेको जानकारी दिएको छ । अक्टोबरमा छोराको जन्मदिन थियो । जन्मदिनकै राती छोराले आमाबारे यस्तै कुरा पितालाई गरेका थिए, यस विषयमा दुईबीच निकै विवाद भयो । त्यसपछि साधनाले लगातार छोरालाई प्रताडित गरिरहेकी थिइन् । घटना हुनु दुई दिन अघि १० हजार भारु चोरेको आरोप लगाएर छोरालाई निर्घात कुटेकी थिइन् । त्यतिबेला नै उनले आमाको हत्या गर्ने सोचेका थिए ।

आमाको कुनै बानी छोराले अति नै घृणा गर्ने गरेको प्रहरीले जनाएको छ । यसबारे उनले आफ्नो बुबालाई धेरै पटक गुनासो पनि गरेका थिए । यति हुँदाहुँदै पनि आमाको व्यवहारमा कुनै परिवर्तन आएन । आमाको यस्तै बानीबाट हैरान भएर उनी एक वर्षअघि घरबाट भागेका थिए । यद्यपी त्यो कस्तो बानी थियो भनेर प्रहरीले केही बताएको छैन । अहिले प्रहरीले छोरालाई आफ्नो सुरक्षामा लिएर १० वर्षीया छोरीलाई नवीनका भाइलाई बुझाएको छ ।

दैनिक भास्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप