शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रदेशमा समानुपातिक रुपमा बजेट वितरण गरिएको छ : मुख्यमन्त्री राई

बुधबार, २५ जेठ २०७९, ०७ : ५६
बुधबार, २५ जेठ २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी, झापाद्वारा आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रुपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे । 'विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित रुपमा बजेट वितरण गरेको हो', उनले भने ।

मुख्यमन्त्री राईले जनताको आवश्यकतालाई ध्यानमा राखी १४ जिल्लाका जनप्रतिनिधि, किसान, उद्योगी, पर्यटन व्यवसायीलगायतसँग  छलफल गरी उनीहरुका माग सम्बोधन गरिने बताए । 

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहलाई सरकार भएको अनुभूति गराउनुपर्ने बताए । उनले तीन तहको सरकारलाई सुदृढ गरी सङ्घीयता बलियो बनाउनुपर्नेमा जोड दिए । 
    
प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रदेश सरकारले बजेट वितरणमा पूर्वाग्रह नराख्ने बताए । पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रमा स्थानीय पालिकासँग सहकार्य गर्ने उनले विश्वास दिलाए । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले सार्वजनिक वित्तीय व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्दै  प्रदेश सरकारले वार्षिक रु चार अर्ब राजस्व सङ्कलन गरेको जानकारी दिए । 

सो अवसरमा राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले स्थानीय शासन, वित्तीय सङ्घीयता, अन्तर तह समन्वय, बजेट तर्जुमा र स्थानीय तहका असल अभ्यास, पूर्व सचिव पूर्णचन्द्र भट्टराईले अन्तर तह समन्वय, चुनौती र समाधान तथा योजना आयोगका पूर्व उपाध्यक्ष पिताम्बर शर्माले सङ्घीयता र नेपालको संविधान कार्यपत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप