बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगर कार्यपालिका निर्वाचन : गठबन्धनका उम्मेदवार विजयी

मङ्गलबार, २४ जेठ २०७९, २० : १४
मङ्गलबार, २४ जेठ २०७९

काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गरेका थिए । 

नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरे । 

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट काँग्रेसका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरेका छन् । उनीहरुको प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । 

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौं महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए । प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो । 

निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन् । निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप