आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

होटेलको खाना ढुक्क भएर खाने अवस्था छैन : कृषि सचिव

मङ्गलबार, २४ जेठ २०७९, १५ : ०८
मङ्गलबार, २४ जेठ २०७९

 आफ्नो भान्सादेखि बाहिर होटेल, रेष्टुरेण्टलगायतका ठाउँमा खाद्य स्वच्छताको अभाव रहेको उपभोक्ता तथा सरोकारवालाहरुले जनाएका छन् । भान्सादेखि होटल तथा रेष्टुरेण्ट, पार्टी प्यालेसहरुमा ढुक्क भएर खाना खाने अवस्था नरहेको सरकारी निकायका प्रतिनिधिहरू नै बताउँछन् ।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले होटलहरूमा ढुक्क भएर खाना खाने अवस्था नरहेको गुनासो गरे । खानाका कारण धेरै मान्छे अस्वस्थ्य हुने अवस्था रहेको बताउँदै उनले भने, ‘होटलहरुको अवस्था यस्तो छ कि त्यहाँको खाना नखाई हिँड्नु पर्ने स्थिति छ ।’

होटल वा कहीँकतै बाहिर खाना खाँदा १० पटक सोच्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाहिर निस्किएपछि के खाने, के नखाने भनेर सोच्नुपर्ने अवस्था छ,’ उनले भने, ‘खाद्य स्वच्छतामा सरोकारवालाहरूले ध्यान दिन जरुरी छ ।’

जनस्वास्थ्यसँग खेलबाड गर्ने खालको कुनै पनि उत्पादन कसैले विक्रीवितरण गर्छन् भने त्यस्तालाई तुरुन्त कारबाही गर्नुपर्ने बताउँदै सचिव शर्माले उपभोक्तालाई ढुक्क भएर आफ्नो भान्साको खाना खाने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा कुनै पनि वस्तु खान लायक नरहेको गुनासो गरे । बजारमात्र होइन, आफ्नै भान्साको खानेकुरा स्वच्छ नरहे पनि उपभोक्ताले ध्यान नदिएको उनको भनाइ छ ।

महर्जनले खानेकुरा कति स्वच्छ छ भन्ने ख्याल गर्नुपर्ने अवस्था रहेको बताए । खाना स्वच्छताका लागि नियामक निकायको पनि ध्यान जानुपर्ने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप