बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जिराफको घाँटी यति लामो कसरी भयो, यस्तो छ कारण

मङ्गलबार, २४ जेठ २०७९, १३ : २७
मङ्गलबार, २४ जेठ २०७९

जिराफ आफ्नो लामो घाँटीका लागि परिचित छ । विद्यालयको पाठ्य पुस्तकमा हामीलाई एउटा सिद्धान्तबारे बताइएको थियो जसमा जिराफका पूर्वजले खानाका लागि निकै संघर्ष गरेको र रुखका पातहरु खान प्रयास गर्दा गर्दै उनीहरुको घाँटी लामो भएको बताइन्छ । तर चीनमा आधुनिक जिराफका पूर्वजको जिवाश्ममा यो जनावरको गर्धन लामो हुनुको कारणबारे नयाँ जानकारी दिइएको छ ।

जिवाश्ममार्फत् पत्ता लाग्छ कि जिराफको घाँटीको सुरुवाती विकास खाना नभई टाउको जुधाएर एक–आपसमा यी जनावर भिड्ने भएका कारणले हुनसक्छ । साइन्स जर्नलमा प्रकाशित एक शोधका अनुसार अनुसन्धानको एक टोलीले जिराफको कंकालको अवशेषबारे बताएका छन् ।

अनुसन्धानकर्ताका अनुसार जिराफका पूर्वज डिस्कोकेरिक्स शीजीको खोपडी मोटो र घाँटीका हड्डी निकै बलिया थिए । यसको आकार १.७ करोड वर्ष अघि उत्तर–पश्चिमी चीनको झिंजियांग इलाकामा बस्ने एउटा ठूलो जङ्गली भेडाको आकारको थियो ।

अनुसन्धानकर्ताका अनुसार डिस्कोकेरिक्सको निकै बलियो खोपडी र घाँटीका हड्डी(Cervical vertebrae) यसकारण यति बलिया थिए किनभने उनीहरु एक–अर्कासँग बेस्सरी टाउको ठोक्काउने गर्दथे । थुप्रै स्तनधारी प्रजातिमा पोथीका लागि भाले जीवमा यस्ता खालमा प्रतिस्पर्धा देखिने गर्छ । डिस्कोकेरिक्सको कंकालबाट पत्ता लाग्छ कि यसको टाउकोे र घाँटीका साथै, घाँटीका हड्डीबीचको जोडाई सबैभन्दा जटिल छन् ।

डिस्कोकेरिक्सको खोपडीमा एउटा ठूलो डिस्कको आकारको हेलमेटजस्तो ओसिकोन (ossicone) थियो । यो जिराफको टाउको माथि सिङजस्तो नब (knob) को रुपमा हुन्छन् । अनुसन्धानका मुख्य लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेजका जिवाश्म विज्ञानी शी क्यूई वाङका अनुसार सिङजस्तो ओसिकोन, साधारणतया भिड्नका लागि हतियारको रुपमा काम गर्दथे ।

अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका जिवाश्म विज्ञानी तथा शोका सह–लेखक जिन मेंगका अनुसार डिस्कोकेरिक्समा टाउको र गर्धनको जटिल आकार, टाउको–टाउको जुधाएर भिड्ने व्यवहारका लागि अनुकुलित छ । उनका अनुसार यो नयाँ खोजमार्फत् जिराफको यो नयाँ प्रजाति एउटा उदाहरण भएको पत्ता लाग्छ । यसमा जिराफको घाँटी लामो छैन तर बेस्सरी टाउको जुधाउने शक्ति र त्यसको असर झेल्नका लागि निकै मोटो छ ।

अनुसन्धानमार्फत् अर्को नयाँ कुरा सार्वजनिक भएको छ । आज जिराफमा गर्धनसँग गर्धन मिलाउने जुन व्यवहार देखिन्छ, त्यो आफ्नो साथीसँग प्रतिस्पर्धायुक्त व्यवहार हो । यसमा उनीहरु हिंस्रक रुपमा एक–अर्कालाई आफ्नो गर्धनले हान्ने गर्छन् । लामो घाँटी भएका जिराफको धेरैजसो जित हुन्थ्यो । ‘तुलनात्मक रुपमा गर्धन छोटो भएका भाले जिराफको प्रजनन प्रस्तावलाई पोथी जिराफले अस्वीकार गर्ने सम्भावना धेरै हुन्थ्यो,’ वाङले भने ।

गर्धन बढ्नु स्वतन्त्र रुपमा लाखौँ वर्षदेखि थुप्रै पशुबीच विकसित भएको छ । यसमा एलास्मोसरस र टेनिस्ट्रोफियस जस्ता समुद्री सरिसृप, पेटागोटाइन र मामेनचिसरसजस्ता सेरोपोड डायनासोर, यहाँसम्म कि यसमा हाँसका केही प्रजाति पनि समावेश छन् ।

अन्वेषकहरूका अनुसार डिस्कोकेरिक्सले जिराफको घाँटी लम्बाइबारे प्रारम्भिक चरणमा एक झलक प्रदान गर्न सक्छ जुन लाखौं वर्षहरूमा देखा परेको थियो, यद्यपि यो प्रजातिले टाउको बटार्नका लागि विशेष विकासवादी मार्ग लिएको थियो । डिस्कोकरिक्सलाई आजको जिराफको प्रत्यक्ष पुर्खा मानिएको छैन, यसलाई जिराफ परिवारको एक साइड ब्रान्च मानिन्छ ।

सब–साहारन अफ्रिकामा पाइने आधुनिक जिराफ, जमिनमा रहने संसारको सबैभन्दा अग्लो जनावर हो । यसमा भालेको लम्बाई १८ फिटसम्म हुन्छ भने पोथी १४ फिटसम्म लामो हुने गर्छ । एउटा जिराफको गर्धन करिब ६ फिटसम्म जान सक्छ, जुन कुनै पनि जनावरको तुलनामा सबैभन्दा लामो हो । यद्यपि, अन्य स्तनधारीजस्तै यसको गर्धनमा सातवटा मात्रै हड्डी हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप