बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिला मानिसको जीवन सुरक्षा, अनिमात्र वन्यजन्तुको सुरक्षा : मधुवन नगर प्रमुख भाट

मङ्गलबार, २४ जेठ २०७९, १२ : ४२
मङ्गलबार, २४ जेठ २०७९

बर्दियाको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले पहिला मानिसको जीवन सुरक्षा, त्यसपछि मात्र वन्यजन्तुको सुरक्षाको कुरा आउने बताएका छन् । सोमबार दिउँसो बाघको आक्रमणमा परी मधुवन–२ की ४१ वर्षीय अस्मिता थारु घाइते भएपछि स्थानीयवासीले बाघ नियन्त्रणको मागसहित गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा एक महिलाको मृत्यु भएपछि नगरप्रमुख भाटले यस्तो बताएका हुन् ।

स्थानीयवासीको समस्या तथा उनीहरुले उठाएका माग सम्बोधन गर्न सुरक्षा निकाय समवेदनशील नदेखिएको उनले बताए । ‘पहिला मानिसको ज्यान सुरक्षित हुनुपर्छ, त्यसपछि मात्र वन र वन्यजन्तुको सुरक्षा हुनुपर्छ भन्ने हाम्रो माग हो,’ रातोपाटीसँग उनले भने ।

बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएपछि बाघ नियन्त्रणको मागसहित प्रदर्शनमा उत्रिएका स्थानीयवासीले वडा नम्बर २ को ओराली बजारमा सडक अवरुद्ध पारेका थिए । सडक खुलाउन प्रहरीको गोली प्रहार गर्दा मधुवन–२ की २२ वर्षीय नविना चौधरीको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

नविनाको पेटमा गोली लागेको आफूले सुनेको तर देख्न भने नपाएको नगरप्रमुख भाटले बताए । उनले मंगलबार पनि बिहानैदेखि स्थानीयवासी सोही सडक अवरुद्ध पार्न जुटेको जनाए ।

वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी असुरक्षित हुँदै जाँदासमेत सुरक्षा निकाय समवेदनशील हुन नसकेपछि जनता सडकमा उत्रिएको उनको भनाइ छ । डेढ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १३ जनाको मृत्यु भइसकेको भन्दै उनले सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

राजमार्ग, करिडोर र मानव बस्ती क्षेत्रमा कंक्रिट वाल लगाउनु पर्ने जनताको माग जायज भएको भन्दै उनले उक्त माग पूरा गर्न सबैले तत्परता देखाउनुपर्नेमा जोड दिए । ‘उपयुक्त बार–बन्देज नहुँदा कहिले हात्ती, कहिले बँदेल, कहिले बाघको आक्रमणबाट मानिसहरुको ज्यान गएको छ,’ उनले भने, ‘स्थानीयवासीको घाँस दाउरा र गाईभैँसी चरण गर्नु पर्छ ।  अधिकांश गरिव विपन्न बस्ने बस्ती हो त्यो । उनीहरु घरमै बस्न पनि असुरक्षित छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप