शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साउदी अरबमाथि बढ्दैछ पाकिस्तानको निर्भरता

मङ्गलबार, २४ जेठ २०७९, १२ : १६
मङ्गलबार, २४ जेठ २०७९

इमरान खानले सन् २०१८ अगस्टमा प्रधानमन्त्रीको शपथ लिएपछि अर्को महिना पहिलो विदेश भ्रमण गन्तव्य साउदी अरब रोजे । इमरान खानले आफ्नो साढे चार वर्षको कार्यकालमा कुल ३२ वटा विदेश भ्रमण गरे, जसमध्ये आठ साउदी अरब नै थियो । उनी कहिले साउदी राजतन्त्रप्रति सम्मान देखाउन, त कहिले आर्थिक सहयोग माग्न साउदी अरब गएका थिए ।

इमरानको सरकार अपदस्थ भएपछि प्रधानमन्त्री बनेका शेहबाज सरिफले पनि साउदी अरबलाई उनको पहिलो विदेश भ्रमणको गन्तव्य बनाए । पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध पाकिस्तानको स्थापनादेखि नै बलियो थियो । दुई मुलुकबीचको घनिष्ठता सन् १९७० देखि झन् सुदृढ भयो । अहिले पाकिस्तानका प्रधानमन्त्री तिनको पहिलो भ्रमणमा साउदी जान लागेका छन् ।

पाकिस्तानी नेताको बढ्दो साउदी भ्रमण आर्थिक रुपमा कमजोर पाकिस्तानलाई साउदी अरबले दिने आर्थिक सहयोग जिम्मेबार रहेको मान्छन् विश्लेषक । ​शेहबाज शरीफले साउदी अबरको भ्रमणमा सो मुलुकबाट ८ अर्ब डलरको राहत प्याकेजको प्रतिबद्धता पाए । 

पाकिस्तानी मिडिया द न्युजका रिपोर्ट अनुसार साउदी अरेबियाले पाकिस्तानलाई तेलको लागि दिइने आर्थिक राहतलाई दोब्बर बनाएको छ । त्यसबाहेक उसले ४.२ अर्ब डलरको ऋणलाई निरन्तरता दिनेछ ।  साउदी अरबले अघिल्लो ऋण सम्झौता अन्तर्गत डिसेम्बर २०२१ मा स्टेट बैंक अफ पाकिस्तानमा तीन अर्ब डलर जम्मा गरिदिएको थियो । 

कराँचीको आईबीए युनिभर्सिटीकी प्राध्यापक हुमा बकाई भन्छिन् ,‘ इमरान खान र शेहबाज शरीफ प्रधानमन्त्री बनेलगत्तै साउदी अरब गए किनकि दुवै नेतालाई तत्काल आर्थिक सहयोग जुटाउनुपर्ने थियो । परिस्थिति जस्तोसुकै भए पनि साउदी अरबले पाकिस्तानको अर्थतन्त्रलाई जिवित राख्न सघाउने गरेको छ ।’ 

पाकिस्तानको अर्थतन्त्रमा जब जब समस्या आउँछ, तब तब साउदी अरब उनको आर्थिक सहयोगका लागि अगाडि आउँछ । गत वर्ष पनि पाकिस्तान नयाँ आर्थिक कठिनाईमा पर्दा डलरको तुलनामा पाकिस्तानी रुपैयाको मूल्याकंन घटिरहेको थियो र विदेशी मुद्रा सञ्चिति निरन्तर खिईरहेको थियो । त्यसबेला पाकिस्तानको सहयोगका लागि साउदी अरब पुन अघि आएको थियो ।

गत वर्ष अक्टोबरमा साउदी अरबले पाकिस्तानलाई ४.२ अर्ब डलरको आर्थिक सहयोग गरेको थियो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा यो सहयोगको घोषणा गरिएको थियो । 

पाकिस्तानले सन् २०२१ को डिसेम्बरमा साउदी अरबबाट ऋण पाएपछि इमरान खानले साउदी अरबलाई धन्यवाद दिँदै भनेका थिए ,‘ पाकिस्तानको केन्द्रीय बैंकलाई तीन अर्ब डलर र तेल सहयोगका लागि १.२ बिलियन डलर दिएकोमा हामी साउदी अरबका युवराजप्रति आभार व्यक्त गर्दछौं । साउदी अरबले हरेक कठिन समयमा पाकिस्तानको साथ दिएको छ ।’

साउदीका लागि पाकिस्तान पनि महत्वपूर्ण छ 

सुन्नी बहुल साउदी अरब र शिया बहुल इरान अरब संसारमा वर्चस्वका लागि प्रतिद्वन्द्वी छन् । इरान र साउदी अरब एकअर्कासँग प्रतिद्वन्द्वीको जस्तो मात्र होइन, शत्रुजस्तो व्यवहार गर्छन् । 

यमनमा यी दुई मुलुक छद्म युद्ध लडिरहेका छन् । विश्लेषकका अनुसार साउदी अरबले आवश्यकता पर्दा पाकिस्तानबाट सैन्य सहयोगको अपेक्षा गर्दछ । इरानसँग पाकिस्तानको सिमाना पनि जोडिएको छ । 

फ्रान्समा बसोबास गर्ने निर्वासित पाकिस्तानी पत्रकार तहा सिद्दिकीले १६ फेब्रुअरी २०१९ मा अल–जजीरामा प्रकाशित लेखमा साउदी अरबले आर्थिक प्याकेज र लगानीका वाचामार्फत आर्थिक रूपमा कमजोर पाकिस्तानको बफादारी किन्न खोजेको लेखेको छन् । 

सिद्दिकीका अनुसार पाकिस्तानी सिमानामा साउदी अरबले उसकै मर्जी अनुसार नीति बनाउन थालेको छ । ​ताहा सिद्दीकीले लेखेका छन् ,‘ दुई देशबीचको सम्बन्धमा साउदी ऋण कुनै नौलो कुरा होइन । साउदीको पैसा र अमेरिकी नीतिका कारण इस्लामाबाद सधैं रियादको नजिक रहेको छ । जिया–उल–हकले सन् १९७७ मा वामपन्थी जुल्फिकार अली भुट्टोलाई सत्ताबाट हटाएपछि यो सम्बन्धको उदय भयो । उक्त कदम अमेरिकाको नजिक आउन उठाइएको थियो ।’

साउदी अरबको तेल शक्ति

सन् १९७० को दशकमा तेलको मूल्य बढ्न थालेपछि साउदी अरेबियाको राज्यकोष भरिन थाल्यो । साउदी राज्य कोषमा चाहिनेभन्दा धेरै पैसा जम्मा भएको थियो । यही पैसाको बलमा साउदी अरेबियाले अरब र मुस्लिम संसारमा ‘चेकबुक कूटनीति’ अगाडि बढाएको विश्लेषकको विश्वास छ । साउदी अरेबियाले सन् १९७० यता कैयौं देशको समर्थन प्राप्त गर्न राज्यकोषको पैसा धेरै खर्च गर्यो ।

साउदी अरबले पाकिस्तानलाई ऋणमा मात्र होइन, धार्मिक पूर्वाधारमा पनि सहयोग गरेको थियो । पाकिस्तानका मस्जिद र मदरसाले साउदी अरबबाट ठूलो सहयोग पाएको छ । 

‘साउदी सहायता धेरै रुपमा पाकिस्तानमा आयो । यसमा सैन्य र नागरिक सहायताको रूपमा मात्र होइन, धार्मिक सहयोगको लागि पनि थियो । जिया–उल–हकको सरकारले मस्जिदहरूमा साउदी खर्चलाई अनुमति दिएको थियो तर त्यो सहयोगले सिया विरोधी र कट्टर इस्लामको प्रवद्र्धन गयो । पछि पाकिस्तानमा सियाविरुद्ध हिंसा बढ्यो ,’ ताहा सिद्दीकी लेख्छन् ।

साउदी पाकिस्तान घनिष्ठतामा अमेरिकाको भूमिका

अमेरिका साउदी अरबको मित्रराष्ट्र हो । अमेरिकाका लागि पनि पाकिस्तान महत्वपूर्ण रहेको छ । सन् १९७९ मा भएका दुईटा घटनाले पाकिस्तान अमेरिकी विदेश नीतिको लागि महत्वपूर्ण बन्यो । पहिलो फेब्रुअरीमा इरानमा इस्लामिक क्रान्ति र दोस्रो वर्षको अन्त्यतिर अफगानिस्तानमा सोभियत संघको आक्रमण ।

सोभियत संघ र इरानको प्रभावलाई कम गर्न अमेरिकाले पश्चिम एसियामा मोर्चा निर्माण गर्न चाहेको थियो । यी परिस्थितिले पाकिस्तानलाई अमेरिकाका लागि विशेष बनायो र साउदी अरेबियासँग पनि नजिक ल्यायो । 

तर, इमरान खानको सरकारमा अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा स्पष्ट कटुता देखिएको थियो । विश्लेषकका अनुसार नयाँ पाकिस्तानी सरकराले अमेरिकासँगको सम्बन्धलाई पुनः ट्रयाकमा ल्याउने प्रयास गर्नेछ । 

योसँगै पछिल्ला वर्ष साउदी अरब र अमेरिकाबीच दूरी बढ्न थालेको छ ।  साउदी र अमेरिकाबीचको सम्बन्धमा तिक्तताको कारण यमन युद्ध पनि हो । 

साउदी अरबलाई अमेरिकाले आफूलाई सहयोग नगरेको लागेको छ । मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै साउदी अरेबिया रणनीतिक रूपमा अझ बलियो बन्न चाहन्छ र त्यो पनि अमेरिकासँगको दुरी कायम राखेकै । 

परमाणु कारक

पाकिस्तान एक आणविक शक्ति राष्ट्र हो र साउदी अरेबियासँग आणविक हतियार छैन । 

अक्टोबर २०२१ मा पाकिस्तानी प्रधानमन्त्रीको रूपमा साउदी अरबको भ्रमणका क्रममा इमरान खानले साउदीको सुरक्षामा कहिल्यै खतरा आयो भने पाकिस्तान उनलाई सहयोग गर्न अगाडि आउने बताएका थिए ।

इमरान खानले बाँकी विश्वको अडान जे भए पनि आफ्नो मुलुक साउदी अरेबियाको साथमा रहने प्रतिबद्धता गरेका थिए । पाकिस्तानले साउदी अरेबियाको सेनालाई पनि तालिम दिन्छ ।

भारतसँगको साउदी निकटताले पाकिस्तानको सम्बन्धमा प्रभाव 

पाकिस्तानका मित्र राष्ट्र साउदी अरब पछिल्ला वर्षमा भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । साउदी अरबका सेना प्रमुखले यसै वर्ष फेब्रुअरीमा भारतको भ्रमण गरेका थिए । कुनै पनि साउदी सेना प्रमुखको यो पहिलो भारत भ्रमण हो ।

तीन वर्षअघि साउदी युवराज मोहम्मद बिन सलमान भारत आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकललाई बेवास्ता गर्दै विमानस्थल पुगेर  उनको स्वागत गरेका थिए । त्यसको केही महिनापछि अक्टोबर २०१९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण गर्दा दुवै देशले रणनीतिक सहयोग परिषद्को स्थापना गरेका थिए ।

त्यसपछि सन् २०२० डिसेम्बरमा तत्कालीन भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले साउदीको भ्रमण गरे । कुनै पनि भारतीय सेना प्रमुखको त्यो पहिलो साउदी भ्रमण थियो । भारतसँग साउदी अरेबियाको बढ्दो निकटताबाट पाकिस्तान असहज भएको छ । यसका बाबजुद पनि साउदी अरेबिया र पाकिस्तानबीचको घनिष्टता घटेको छैन । 

प्राध्यापक हुमा बकाइ भन्छिन् ,‘ साउदी अरब र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुत छ तर अहिले यसमा सर्त थपिएका छन् । ’ पाकिस्तानको अर्थतन्त्र यतिबेला निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो संकटको घडीमा पाकिस्तानका नेताहरू साउदी अरेबियातर्फ हेरिरहेका छन् ।

तर के साउदीले पहिलेजस्तै पाकिस्तानलाई सहयोग गरिरहन सक्छ । प्रोफेसर बकाइ पाकिस्तानलाई साउदीले दिएको सहयोग यथार्थमा घटेको बताउँछन् । ‘ पाकिस्तानको आर्थिक सार्वभौमसत्ता संकुचित हुँदै गएकाले उ अब साउदी अरेबियासँग सम्बन्धमा मुखर हुनसक्ने स्थिति छैन । र साउदी अरबका पनि आफ्नै आर्थिक सीमाहरु छन् । उसले यमन लगायत युद्धमा साधनस्रोत प्रयोग गर्छ । त्यसले उसले पाकिस्तानलाई दिने आर्थिक सहायता वास्तवमा घटेको छ ,’ प्रोफेसर बकाई भन्छन् । 

भारत सरकारले २०१९ मा जम्मु कश्मीरलाई भारतको संविधानको धारा ३७० ले दिएको विशेषाधिकार खारेज गर्दा पाकिस्तानले साउदीले पनि सो कदमको विरोध गर्ने अपेक्षा गरेको थियो । तर त्यसो भएन । पाकिस्तानले साउदीप्रति आफ्नो असन्तुष्टि पनि खुलेर व्यक्त गर्न सकेन । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तानले साउदीको खुलेर विरोध गर्न नसकेको विश्लेषकहरुको विश्वास छ । 

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप