शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन आउँछ गिजाबाट रगत ?

मङ्गलबार, २४ जेठ २०७९, ११ : ५३
मङ्गलबार, २४ जेठ २०७९

गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट रगत आएमा सामान्य मान्न नहुने विशेषज्ञहरु बताउँछन् ।

सर्जिकल ओन्कोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष  तथा सर्जन डा. प्रकाशराज न्यौपानेले क्याक्टेरियाको सङ्क्रमणले मुखमा इन्फेक्सन भई गिजा सुनिने बताउँछन् । दाँत कीराले खानु, गिजा सुनिनु, रगत आउनु, पाक्नु आदि दाँतका समस्या हुन् । यद्यपि गिजाबाट रगत आउनु दन्तहर्ष हो । यो रोग दाँतसँग मात्रै सम्बन्धित नभएर शरीरका अन्य संवेदनशील अंगमा रोग लागेर लक्षणका रूपमा गिजाबाट रगत आउँछ । यस्तै, गिजामा भएको इन्फेक्सनले रक्तसञ्चारमार्फत् पनि मुटु, कलेजो, मस्तिष्क फोक्सो लगायतमा पनि सङ्क्रमण गराउन सक्छ । 

त्यस्तै, मुखको  सफाइ नभएमा, मुखमा सङ्क्रमण भएमा, ल्यूकेमिया आदिले गिजाबाट रगत बग्ने गर्छ  । गुणस्तरीय खानपान नहुँदा तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा पनि गिजाबाट रगत बग्ने गर्छ । डा न्यौपानेका अनुसार अन्य व्यक्तिलाई भन्दा सुर्तीजन्य पदार्थ खाने तथा धुम्रपान गर्नेहरुमा गिजाबाट रगत आउने समस्या बढी देखिन्छ ।

गिजाबाट रगत बग्ने कुरालाई सामान्य रूपमा लिन नहुने सर्जन डा. न्यौपाने बताउँछन् । उपचारमा ध्यान नदिइए सङ्क्रमणको ठूलो रूप लिन सक्छ । गिजा कमजोर हुँदा दाँत हल्लिने र झर्ने समस्या आउन सक्छ । 

गिजामा रोग लाग्ने मुख्य कारण  

विशेषत गिजामा रगत अर्थात् सङ्क्रमण धूम्रपान गर्नेलाई बढी हुने सर्जन डा. न्यौपाने बताउँछन् । दाँतको उपचार गरेपनि गिजाको उपचारमा भने धेरैले त्यति ख्याल गर्दैनन् । मुखको स्वास्थ्यलाई अझै पनि गम्भीर ढंगले नलिंइदा गिजामा जटिल समस्या देखिने चिकित्सकहरु बताउँछन् । 

सर्जन डा. न्यौपानेका अनुसार हर्मोनको गडवडी, ब्लड क्यान्सर हुँदा, सुगर नियन्त्रण नहुँदा पनि गिजाबाट रगत बग्छ । त्यस्तै मुख स्वास्थ्यमा ध्यान नदिँदा अर्थात् खाना खाइसकेपछि  कुल्ला नगर्ने, नियमित ब्रस नगर्नेहरुको गिजाबाट रगत बग्छ ।

गिजाबाट रगत बग्न नदिन के गर्ने ?

गिजामा समस्या आउन नदिन गुणस्तरीय खानामा जोड दिनुपर्ने सर्जन डा. न्यौपानेको सुझाव छ । कार्बोहाइड्रेट भएको खाना खाइसकेपछि नियमित रूपमा  कुल्ला गर्ने बानी अनिवार्य रूपमा बसाल्नुपर्छ । 

यस्तै, धेरैले सही तरिकाले दाँत सफा गर्दैनन् । धेरैले मुखको तल्लो भाग र माथिल्लो भागमा मात्रै ब्रस गर्छन् । ब्रस गर्दा दाँतका पाँचवटा भाग सफा गर्न डा. न्यौपानेको सुझाव छ । ब्रस बिहान उठ्ने बित्तिकै र राति सुत्नुअघि गर्नुपर्छ ।

दीर्घरोगी वा कुनै रोगका पीडितले सकेसम्म बिहान उठ्ने बित्तिकै र खाना खाए लगत्तै ब्रस गर्नु उपयुक्त हुन्छ । विज्ञापनमा प्रचारप्रसार गरिएजस्तो मञ्जनले मात्रै कीटाणु मर्दैनन् । खासमा मुख भित्रका कीटाणु मार्ने एन्टी ब्याक्टेरियल प्रोपर्टी हाम्रो थुकमा नै हुन्छ । विज्ञापनको पछाडि लागेर जुन पायो, त्यही मञ्जन प्रयोग गर्न हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप