शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘फोर लेन’ सडक निर्माणको काम सुस्त, ठेकेदार मस्त

मङ्गलबार, २४ जेठ २०७९, ११ : २१
मङ्गलबार, २४ जेठ २०७९

०७५ पुस १३ गतेदेखि लमही–घोराही–तुलसीपुर ‘फोर लेन’ सडक निर्माणको काम सुरु भयो । निर्माण सुरु भएको ३० महिनाभित्र अर्थात् ०७८ असोजसम्म सडक विस्तार सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले जिम्मा लियो ।

यस बीचमा निर्माण कम्पनी कतै देखा परेन । प्रतिनिधिमार्फत सडक विस्तारको काम अल्झाइरह्यो । तोकिएको हदम्यादभित्र कुनै काम नभएपछि सडक विभाग र मन्त्रालयले निर्माण कम्पनीलाई ताकेता गरे पनि कम्पनीले आफ्ना प्रतिनिधि नेपालमै रहेर सडक निर्माणको काम गरिरहेको जवाफ दियो ।

निर्माण कम्पनीको प्रतिनिधिका रुपमा तुलसीपुर उपमहानगरपालिकाका तत्कालीन मेयर घनश्याम पाण्डेको छोरा अनुप पाण्डे थिए । पाण्डेले काम गरेको रकम नदिएको भन्दै मजदुर र टिपर ढुवानीकर्ताहरुले प्रहरीमा उजुरी दिए । त्यसपछि सडक विस्तारको काम झन् ठप्प भयो । हालसम्म ‘फोर लेन’ सडक विस्तारको काम १० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

विस्तारका नाममा निर्माण कम्पनीले अधिकांश ठाउँमा सडक वरिपरि पूरै भत्काएको छ । कतै वाल निर्माणकै क्रममा अलपत्र पारेको छ । सडक धुलाम्य छ भने खाल्टा नपरेको कुनै ठाउँ छैन ।

ठेकेदारको लापरवाहीका कारण सडक विस्तारको काममा भएको विलम्बको मार दाङवासीले खेप्न परिरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी पूर्णबहादुर डाँगीले भने, ‘फोर लेन सडक काल बन्यो, बाँच्नेका लागि पनि अभिशाप बनेको छ ।’

निर्माण कम्पनीको चरम लापरवाहीका कारण अढाई वर्षमा निर्माण सम्पन्न हुने सडक चार वर्षसम्म पनि अलपत्र बनिरहेको उनले बताए । जोखिम मौल्दै सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

चार वर्ष सडक निर्माण योजनाको काम शून्य प्रगति देखिए पनि नियामक निकायहरु मौन बस्दा सडकको काम अलपत्र परेको घोराही–१० निवासी भक्तुराम विकको भनाइ छ । सडकका कारण थुप्रैका ज्यान गएको छ भने बिरामी वा सुत्केरीलाई उक्त सडक हुँदै एम्बुलेन्समा ओहोरदोहोर गर्दा हुने पीडाप्रति पनि कोही समवेदनशील देखिएका छैनन् ।

‘फोर लेन सडक विस्तार योजना नेपाल–भारत सहायता परियोजना हो । नेपाल सरकारले भारतसँग फोर लेन सडक विस्तार योजना निर्माणका लागि मुख्य निर्माण कम्पनी भारतकै हुने भनी सम्झौता गरेको छ । १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले ठेक्का लिएको छ । तर निर्माण कम्पनी नेपालको नहुँदा ढिला गरे पनि कार्यालय, विभाग र मन्त्रालयले कारवाही गर्न सक्ने ठाउँ छैन ।

‘मुख्य ठेकेदार पनि भेटिँदैन,’ भालुवाङ–बाग्दुला–भिमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोर लेन सडक आयोजनाका प्रमुख अर्जुन बलमे भने, ‘न कारबाही गर्न सकिन्छ, न ठेकेदार कम्पनी भेटिन्छ ।’

ठेकेदार कम्पनीका कारण सडक अलपत्र परेको उनी बताउँछन् । ठेकेदार कम्पनीका प्रतिनिधिले काम गर्न नसक्दा आयोजना कार्यालय दोषी बनिरहेको उनको भनाइ छ ।

चार वर्षमा सडक विस्तारको काम १२ प्रतिशत भौतिक प्रगति देखिएको उनले बताए । लमही–घोराही–तुलसीपुर ४९ किलोमिटर सडक र चन्द्रौटा–कृष्णनगर २८ किलोमिटर सडक निर्माणको काम सँगै सुरु भए पनि  चन्द्रौटा–कृष्णनगर खण्डको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । कपिलवस्तुतर्फ आउदो मंसिरसम्म बाँकी काम सक्ने तयारी रहे पनि दाङमा भन्ने अलपत्र अवस्थामा रहेको उनले बताए ।

कार्यालय प्रमुख बमले भने, ‘स्थानीय निर्वाचनका क्रममा सायद दलहरूको दबाब प-यो कि, अन्य केही भयो । फाटफुट कामदार र अलिअलि सडक कोट्यायो । निर्वाचन सकिएलगत्तै सडक कोट्याउन पनि चटक्क छोड्यो ।’

सडक कोट्याउने मात्रै काम ठेकेदार पक्षबाट हुँदा भएको कालोपत्रे पनि भत्किएको छ । सडक साँघुरिदै गएकाले दुर्घटनाको जोखिम बढेको उनले बताए । विस्तारका नाममा ठेकेदार कम्पनीले सडक कोट्याएर मात्रै छोड्दा सवारी दुर्घटनालाई समेत निम्त्याउँदै आइरहेको उनी बताउँछन् ।

‘फोर लेनले १९ जनाको ज्यान लियो, ८० घाइते’

फोर लेन सडक विस्तारका नाममा ठेकेदार कम्पनीले काम अलपत्र छाड्दा खाल्टाखुल्टीका कारण भएको सवारी दुर्घटनामा विगत तीन वर्षमा १९ जनाको मृत्यु गइसकेको छ भने ८० जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार लमही–घोराही– तुलसीपुरको निर्माणाधीन फोर लेन सडकको खाल्टाखुल्टीमा दुर्घटनामा परी १९ जनाको मृत्यु र ८० जना घाइते भएका हुन् ।

ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले साँघुरो सडक, चारैतिर खाल्टैखाल्टा, हिलोधुलोका कारण नै दुर्घटना हुने गरेको बताए । अकालमा धेरै जिउधनको क्षति व्यहोर्नु परे पनि योजना सम्पन्न गराउन कसैको चासो पुग्न सकेको छैन ।

‘घरखेत सडकले खान लाग्यो ’

तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगरी गुजारेको निर्माण कम्पनीले म्याद थप पाउँछ वा पाउँदैन भन्ने निश्चित छैन । निर्माण कम्पनीका प्रतिनिधिले १२ प्रतिशत काममा करिव ७ करोड लगानी लागिसकेका छन् । रुख कटानदेखि वाल निर्माणसम्म, साइट कटिङदेखि फिलिङसम्म काम भए पनि अहिलेसम्म भुक्तानी पाउन नसकेको निर्माण कम्पनीका नयाँ प्रतिनिधि रामशरण खड्काले बताए ।

‘भएको पैसा रित्तियो, प्रतिनिधिले कहाँबाट लगानी ल्याउने अनि सडक बनाउने हो ?’ उनले भने । आयोजनाले रकम निकासा गर्न नसक्दा फोर लेन सडक निर्माण रोकिएको उनले बताए । ठेकेदारसँगको सहमति अनुसार भुक्तानी दिन नसक्दा आफ्नो घरखेत नै फोर लेन सडकले लैजान लागेको उनको गुनासो छ । उनले थपे, ‘घरखेत हालेर सडक बनाउन कहाँ सकिन्छ ?’ रकम भुक्तानी र म्याद थप भएमा सडक निर्माणले चाँडै पूर्णता पाउने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप