सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम हो : नेता खनाल

सोमबार, २३ जेठ २०७९, १६ : ४२
सोमबार, २३ जेठ २०७९

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए । उनले छ महिनासम्म एउटा समुह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे ।  

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले  काँग्रेस भित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताए । उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए । पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहानामा भर पर्ने उनले बताए ।  

नेकपा(माओवादी केन्द्र)का सांसद राम कार्कीले नेताहरुले आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको टिप्पणी गरे । सम्बन्धित विषयको ज्ञान भएको मान्छेलाई मन्त्री बनाउने परिपाटी नभएको र मन्त्री बन्न खास योग्यताको जरुरी नपरेको प्रति उनले असन्तुष्टि जनाए । नेताहरुले राम्रो काम गर्ने मान्छेलाई मन्त्री नबनाएर आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउनु अप्रजातान्त्रिक र दुःखद कुरा भएको उनको भनाइ छ ।  

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र कुमार यादवले मन्त्रिपरिषद् हेरफेर गर्नु जरुरी नभएको बताए । जुन मन्त्रीले बजेट ल्याउँछ सोही मन्त्रीले बजेट कार्यान्वयन गराउन सके राम्रो हुने उनले बताए । आफुहरु मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको उनको भनाइ छ ।  

यता, जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले पार्टीबाट नयाँ नेताहरुलाई मन्त्री बनाउनुपर्ने बताए । विगतमा पार्टीभित्र छ महिनामा मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने सहमती गरेको भन्दै सहमती कार्यान्वयन हुनुपर्ने बताए । आफुहरुले नयाँ मन्त्री बनाउनका लागि दबाब दिइरहेको उनले बताए ।  

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले मन्त्रीपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला भएको टिप्पणी गरे ।  नेकपा(एमाले)का सांसद झपट रावलले वर्तमान सरकारसँग जनताको कुनै अपेक्षा नभएको भन्दै पालो पु¥याउनकै लागि मन्त्रिपरिषद् हेरफेर हुन लागेको टिप्पणी गरे ।  

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले वर्तमान सरकार रहेपनि, हेरफेर भएपनि जनताले केही नपाउने टिप्पणी गरे । सरकार टिकाउनका लागि कसैलाई मन्त्रीबाट हटाएर कसैलाई बनाएपनि देश र जनताले केही उपलब्धी नपाउने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप