शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ रोकिएपछि उपेन्द्रलाई ‘हाइसञ्चो’

तर टरेको छैन खतरा
सोमबार, २३ जेठ २०७९, १६ : १७
सोमबार, २३ जेठ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सिफारिस गरेका चार जना मन्त्रीको शपथ रोकिएपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘हाइसञ्चो’ भएको छ । पार्टीभित्र मन्त्री परिवर्तनको दबाब खेपिरहेका अध्यक्ष यादवलाई नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर प्रक्रिया रोकिएपछि ‘हाइसञ्चो’ भएको हो ।

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । नयाँ मन्त्रीहरूको आजै शपथ हुने तयारी भइरहेको थियो तर गठबन्धनबाटै तत्काल मन्त्री हेरफेर गर्न नहुने सुझाव प्रधानमन्त्री देउवा समक्ष पुगेपछि नयाँ मन्त्रीहरूको शपथ रोकिएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री हेरफेरका लागि ठूलो दबाब परेको थियो । त्यसका लागि जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका सांसदहरूको आइतबारदेखि छुट्टाछुट्टै छलफल गरिरहेका थिए । सोमबार पनि उनीहरूको छुट्टै बैठक बसेको थियो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव भने मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने बारेमा पार्टीमा छलफल गरेर मात्र निर्णय लिने भन्दै पन्छिँदै आएका थिए । पार्टीमा स्थानीय चुनावका समीक्षा हुन बाँकी छ, त्यो समीक्षाका लागि बस्ने बैठकमा मन्त्री हेरफेरको विषयमा समेत छलफल गर्ने जवाफ उनले दिँदै आएका थिए । यद्यपि सरकारमा जान चाहने सांसदहरूको दबाब कायमै थियो ।

‘नेकपा एकीकृत समाजवादी पार्टीबाट नयाँ मन्त्रीको शपथ भइसकेपछि पनि जसपाले मन्त्री हेरफेर नगरेको अवस्थामा पार्टी विभाजनसम्म हुन सक्ने खतरा कायम थियो,’ जसपाका केन्द्रीय सदस्यसमेत रहेका एक सांसदले रातोपाटीसँग भने, ‘उपेन्द्र यादवले मन्त्री हेरफेरको निर्णय नगरेको अवस्थामा पार्टी विभाजन हुने निश्चित छ, सांसदहरूको बैठक चलिरहेको छ, पार्टी विभाजनका लागि उपेन्द्रका साथमा रहेका कतिपय सांसद बाबुराम भट्टराईतिर लाग्नु भएको छ ।’

मन्त्रिपरिषद हेरफेर तत्कालका लागि स्थगित भएसँगै जसपामा त्यो खतरा केही समयका लागि टरेको छ । तर मन्त्री फेर्नुपर्ने माग भने जसपाभित्र सेलाएको भने छैन । सुरुमा मन्त्री पठाउँदा ६ महिनाका लागि पठाइएको र ६ महिनापछि उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीमै भएको भन्दै जसपाका कतिपय सांसदले मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब दिइरहेका छन् ।

जसपाका कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मन्त्री हेरफेरको कुरा मौसमी हल्ला रहेको र यस्तो हल्ला चलिरहने बताइन् । उनले आफ्नो पार्टीमा मन्त्री फिर्ता गराउने तथा नयाँ पठाउने बारेमा कुनै चर्चा नभएको उनको भनाइ छ । उनले भनिन्, ‘बेलाबेलामा यस्ता हल्ला तथा चर्चा भइरहन्छ तर कसलाई बोलाउने र कसलाई पठाउने भन्ने बारेमा पार्टीले निर्णय गर्ने हो, तर मलाई लाग्छ पार्टीमा यसखालको कुनै निर्णय भएको छैन ।’

राष्ट्रिय सभाका सदस्य एवं जसपाका कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंहले पार्टीमा भएको निर्णय कार्यान्वयन गराउनुपर्ने बताए । ‘६–६ महिनामा मन्त्री हेरफेर हुने कुरा पार्टीमा निर्णय भएको हो, यो निर्णय पार्टीका नेताहरुले इमानदारीपूर्वक लागु गर्नुपर्छ,’ उनले भने, ‘बजेट पारित नहुन्जेलसम्म मन्त्री हेरफेर हुँदैन तर त्यसपछि पुनः यस विषयमा छलफल हुन्छ । पार्टीमा हामी यो कुरालाई उठाउँछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप