आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भाषण सुन्न थोरै कार्यकर्ता आएपछि ओलीको गुनासो– अचम्म लाग्यो (भिडियोसहित )

सोमबार, २३ जेठ २०७९, १५ : ०४
सोमबार, २३ जेठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाषणका लागि माहिर मानिन्छन् । उनी वक्तृत्व कलाको धनी मानिन्छन् । तर उनै ओलीले एउटा कार्यक्रममा आफ्नो भाषण सुन्न थोरैमात्र सहभागी भएको भन्दै गुनासो गरेका छन् ।

प्रसङ्ग हो– जेठ २२ गते आइतबारको । विश्व वातावरण दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा एमालेको भगिनी संगठन अनेमसंघले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रूपमा बोलाइएका थिए– एमाले अध्यक्ष केपी शर्मा ओली ।

दिउँसो साढे १ बजेका लागि तय गरिएको कार्यक्रम झण्डै दुई घण्टा ढिला गरी सुरु भयो । कार्यक्रममा श्रोताको सङ्ख्या कम थियो यद्यपि ओलीले वातावरणबारे झण्डै एक घण्टा भाषण (प्रवचन) दिए ।

भाषणका क्रममा ओलीले मानव, जीवजन्तुदेखि अन्य प्राणीसमेतको व्याख्या गरेका थिए । एक घण्टा लामो सम्बोधन गरेका ओलीले आफ्नो भाषणको अन्तिममा वातावरणजस्तो महत्त्वपूर्ण विषयमा भएको गोष्ठीमा न्यून सहभागिता देखेर गुनासो मात्रै गरेनन्, आयोजकप्रति पनि प्रश्न गरे ।

सम्बोधनको अन्तिममा उनले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद त दिए, तर सुन्ने मान्छे अत्यन्त कम उपस्थित भएकोमा आयोजकप्रति प्रश्न उठाए– आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो ? या मान्छेहरूमा रुचि हराएको हो ? अथवा तपाईंहरूको सक्रियतामा कमी भएको हो ? त्यो मैले बुझिनँ । ओली त्यतिमा मात्रै रोकिएनन्, उनले भने, ‘यस्तो महत्त्वपूर्ण विषयमा गोष्ठी आयोजना गर्दा नेपालमा महिलाहरू पनि यतिमात्रै हुने र वातावरणसँग रुचि हुने मान्छे पनि यतिमात्रै हुने, कुर्सी खाली भएको देख्दा अचम्म लाग्यो ।’

ओलीले कार्यक्रमको महत्व धेरै भएको बताए । उनले दोहो¥याएर भने, ‘यति महत्त्वपूर्ण विषयमा तपाईंहरू सेमिनार गर्दै हुनुहुन्छ । मानिलिऊँ अरूको फोक्सो छैन, सासै फेर्नु पर्दैनजस्तो !’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आधा फोक्सो आफ्नो छातीभित्र र आधा रुखमा हुने कुरा नबिर्सन पनि आग्रह गरे । ‘हामीले थाहा पाउनुपर्छ, हाम्रो फोक्सो आधा छातीभित्र छ, आधा रुखमा छ । फोक्सो भएन भने रुख चल्दैन, रुख भएन भने फोक्सो चल्दैन, त्यस्तो छ ।’

उनले फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि थोरै भएकाले अचम्म लागेको बताए । ‘त्यसकारण यो फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि यतिमात्रै हुँदा त अचम्म लाग्यो । तपाईंहरूको आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो कि ? मान्छेहरूका रुचि हराएको हो कि तपाईंहरूको सक्रियतामा कमी भएको हो त्यो मैले बुझिनँ तर यति सानो हलमा त मान्छे नअट्नुपर्ने हो । किन थोरै मान्छे हुनुभयो, त्यो मैले बुझिनँ’, ओलीले भने ।

वातावरण जस्तो महत्त्वपूर्ण विषयमा खबर पाएर पनि कोही आएन भनेचाहिँ त्यस्ता व्यक्तिहरूलाई ‘कठैबरा’ भन्नुपर्ने उनले बताए । आमन्त्रण गरेका व्यक्तिहरूले पनि बेवास्ता गरेको हो कि भन्ने आशङ्का व्यक्त गर्दै उनले भने, ‘मलाई पनि बोलाउनुभयो, बोलाएपछि दौडेरै आएँ । तपाईंहरूलाई, सबै साथीहरूलाई धन्यवाद !’ 

अनि ओलीले आफूले बोलेको कुरा दर्शकदीर्घामा रहेकाहरूलाई सोधे– ‘मैले बोलेको तपाईंहरूले सुन्नुभयो ?’ राम्रो नसुनिएको र ‘इको’ आएको दर्शकदीर्घाबाट जवाफ आएपछि उनले भने, ‘यो हल नबनाएसम्म यहाँ गोष्ठी सेमिनार नगर्नुस्, शंखघण्ट बजाउनुस् । मज्जाले हुईहुई शंखघण्ट बजाएपछि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप