आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने

लोसपाले गर्यो चुनावी गठबन्धन बनाउने निर्णय
आइतबार, २२ जेठ २०७९, १९ : २१
आइतबार, २२ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना विभिन्न माग पुरा गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलवार ज्ञापनपत्र बुझाउने निर्णय आइतबार बसेको कार्यकारिणी समितिको बैठकले गरेको छ ।

ज्ञापनपत्र तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झालाई दिएको छ । नागरिकता, संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहायलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाउन लागेको कार्यकारिणी सदस्य एकवाल अहमदल जानकारी गराए । बबरमहलस्थित पार्टी कार्यालयमा दुई दिनदेखि लोसपा केन्द्रीय समितिको बैठक चलिरहेको थियो । बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा, आगामी चुनावका लागि रणनीति तथा संगठन निर्माणको विषयमा केन्द्रित रहेर छलफल गरेको छ ।

लोसपा नयाँ पार्टी भएको, पूर्णरुपमा संगठन निर्माण हुन नसकेको कारण स्थानीय चुनावमा सोचे जस्तो नतिजा ल्याउन नसकेको निष्कर्ष लोसपाले निकालेको छ । पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनावमा सत्ताको दुरुपयोग गरेर लोसपालाई ठाउँ ठाउँमा कमजोर बनाउने प्रयास गरेको पार्टीले निष्कर्ष निकालेको कार्यकारिणी सदस्य अहमदले बताए । पाँच दलको गठबन्धन नभएको भए लोसपाले पनि राम्रै नतिजा ल्याउथ्यो तर गठबन्धनका कारण सोचे जस्तो नतिजा नल्याएको तर निराश हुने अवस्था पनि नरहेको लोसपाले जनाएको छ ।

बैठकले आगामी चुनावमा दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको अर्का केन्द्रीय सदस्य एकवाल मियाँले बताए । उनले भने,  ‘चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने तर कुन दलसँग गर्ने अहिले नै निश्चित भएको छैन, आवश्यकता अनुसार दलहरुसँग वार्ता गरेर यस विषयमा अगाडि बढ्ने विषयमा छलफल भएको छ ।’ बैठकले केन्द्रीय समिति गठन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माणलगायतका कार्य चाडै सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसका लागि तत्कालै शीर्ष नेताहरुको बैठक बसेर यस कामलाई अगाडि बढाउने सहमति भएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप