बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खाने तेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झार्नुपर्छ : अध्यक्ष गोल्छा

आइतबार, २२ जेठ २०७९, १७ : ४५
आइतबार, २२ जेठ २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले खाने तेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झार्नुपर्ने बताएका छन् । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आज आयोजना गरेको कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

गोल्छाले भारतले पछिल्लो समय लिएको नीतिले नेपालका उद्योग समस्यामा परेको बताएका हुन् । भारतले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिलाई सम्बोधन गर्न भन्दै खानेतेलको भन्सार महसुल शून्यमा झारेको छ । यसले नेपालमा सञ्चालित भारत लक्षित उद्योगहरू संकटमा परेका छन् ।

‘भारतले लिएको नीति र आगामी वर्षको बजेटले लिएको नीतिले नेपालमा सञ्चालित खाने तेल र वनस्पति घ्यू उद्योग समस्यामा परेका छन्,’ गोल्छाले भने, ‘यी उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थ आयातमा शून्य भन्सार गर्नुपर्छ ।’

यस्तै, अध्यक्ष गोल्छाले नेपालमा सञ्चालित उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थको भन्सार दर विदेशबाट आयात हुने तयारी वस्तुको तुलनामा कम्तिमा एक तह कम हुनुपर्ने उनको माग छ । यसो हुन सकेमा नेपालमा सञ्चालित उद्योग फस्टाउने अन्यथा संकटमा जाने गोल्छाको भनाइ छ ।

नेपालमा २२ वटा वनस्पति घ्यू तेल उद्योग सञ्चालित छन् । यी उद्योगमा करिब १ खर्ब रुपैयाँ लगानी भएको र हजारौंले रोजगारी पाएको संघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप