शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावको 'साइड इफेक्ट' : संघीय चुनावका लागि नयाँ गठबन्धन बनाउन दौडधुप

आइतबार, २२ जेठ २०७९, १७ : ०२
आइतबार, २२ जेठ २०७९

 पाँच दलीय गठबन्धनका कारण स्थानीय चुनावमा विफल भएपछि गठबन्धनमा नरहेका दलहरु छटपटिएका छन् । उनीहरुले स्थानीय चुनावमा गठबन्धन नगरेकै कारण कमजोर भएको निष्कर्ष निकाल्दै संघ र प्रदेशसभा निर्वाचनमा नयाँ गठबन्धन बनाउने ‘मुड’ बनाएका छन् ।

नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायतका दलहरु अर्को गठबन्धन बनाउने तयारीमा जुटेका छन् । स्थानीय चुनावपछि यी पार्टीले आन्तरिक समीक्षा गर्दै पाँच दलीय सत्ता गठबन्धनका कारण सोचेजस्तो मतपरिणाम ल्याउन नसकेको निष्कर्ष निकालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल नगरे कमजोर परिणाम हासिल हुने उनीहरुको निष्कर्ष छ ।

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सत्ता गठबन्धनको चलखेलमा कारण स्थानीय चुनावमा अपेक्षा गरे अनुसार सीट नआएको स्वीकार गरे । त्यसबाट पाठ सिक्दै एमाले पनि रणनीतिक ढंगबाट अगाडि बढ्ने उनले बताए । उनले भने, ‘यो सत्ता गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्ने सम्भावना पनि त्यतिकै छ, नभए अरु कुनै विकल्पमा जान एमाले तयार छ ।’

चुनाव सकिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्काउन पटकपटक प्रयास गरेका छन् । ओलीले कहिले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गर्ने, कहिले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने, कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेर सत्ता गठबन्धनलाई भत्काउन विभिन्न उपाय अवलम्बन गर्न खोजेको प्रस्ट बुझिन्छ ।

‘यो गठबन्धन नभएको भए एमाले स्थानीय चु्नावमा पहिलो पार्टी हुन्थ्यो,’ उपमहासचिव गुरुङले भने, ‘सत्ता गठबन्धनले शान्तिपूर्ण धाँधली गरेर केपी ओलीलाई समाप्त पार्ने योजना बनाएको थियो तर त्यो सफल भएन, थोरै मत काटेर स्थानीय तहमा अलिकति खुम्च्याइदिएको मात्र हो ।’

एमालेले पनि गठबन्धन बनाउने योजना बनाएको छ । यसका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई तान्न उसले प्रयास गरिरहेको छ । त्यसमा सफल नभए वाम गठबन्धनको विकल्प पनि एमालेले अघि सारेको छ । आगामी चुनावमा कुनै न कुनै गठबन्धन बनाएर चुनावमा जाने एमालेको तयारी देखिएको छ ।

लोसपा पनि स्थानीय चुनावमा एक्लै भिडेको थियो । उसले मधेस प्रदेशमा १६ पालिकामा मात्र जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा तत्कालीन राजपा नेपाल (हाल लोसपा)ले २५ पालिका जितेको थियो । गठबन्धन नभएका कारण नै यसरी खुम्चिनु परेको लोसपाको ठहर छ ।

लोसपाको जारी कार्यकारिणी समितिको बैठकमा पनि सत्ता गठबन्धनकै कारण स्थानीय चुनावमा पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ । सो पार्टीका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले सत्ता गठबन्धनका कारण लोसपाले अपेक्षा अनुसार सीट हासिल गर्न नसकेको बताए । यद्यपि पार्टी निराश नरहेको उनको भनाइ छ ।

पाँच दलबीच गठबन्धन नगरेर एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरेको भए लोसपा देशैभरि तेस्रो वा चौथो स्थानमा हुन्थ्यो भन्ने उनको दाबी छ । एकातिर गठबन्धन अर्कोतिर केन्द्रमा सरकार र प्रदेशमा पनि सरकार उनीहरुकै भएको कारणले चुनावमा लोसपालाई कमजोर बनाउने काम भएको उनले दाबी गरे ।

आगामी चुनावमा कसरी जाने भन्नेबारे छलफल चलिरहेको बताउँदै उनले परिस्थिति अनुसार रणनीतिक ढंगबाट लोसपा अगाडि बढ्ने बताए ।

आगामी संघ तथा प्रदेशको चुनावमा लोसपाले गठबन्धन बनाएर जाने मनस्थिति बनाइसकेको छ । त्यसका लागि उसले विभिन्न विकल्पसँग आन्तरिक कुराकानी पनि चलाइरहेको सोही पार्टीका नेताहरु बताउँछन् । पहिलो विकल्पमा उसले जसपालाई नै राखेको छ । मधेस प्रदेशमा अन्य दलसँग गठबन्धन गर्नुभन्दा जसपासँग गठबन्धन गर्दा फाइदा हुने निष्कर्ष लोसपाको छ । जसपा र लोसपाको गठबन्धन भयो भने मधेस प्रदेशमा पहिलो पार्टी हुने निश्चित रहेको लोसपाको प्रारम्भिक अनुमान छ ।

२०७४ को संघ तथा प्रदेशको चुनावमा लोसपा (तत्कालीन राजपा) र जसपा (तत्कालीन संघीय समाजवादी फोरम) बीच तालमेल भएका कारण मधेस प्रदेशमा राम्रो नतिजा ल्याएका थिए । त्यो नजिरको आधारमा पनि आगामी चुनावमा दुई दलको बीचमा तालमेल हुनु आवश्यक रहेको लोसपाका नेताहरु बताउँछन् । गठबन्धन बनाउनका लागि जसपा पनि सकारात्मक देखिएको छ तर दुवै दलको बीचमा औपचारिक कुराकानी सुरु भएको छैन ।

जसपासँग चुनावी तालमेल वा गठबन्धन हुन नसके लोसपाले दोस्रो विकल्पको रुपमा एमालेलाई राखेको छ । सो पार्टीका एक कार्यकारिणी सदस्यले भने, ‘पाँच दलको गठबन्धन कायम रहने लगभग निश्चित नै छ, त्यस अवस्थामा जसपासँग चुनावी तालमेल हुने सम्भावना निकै कम छ । आगामी चुनावमा एमालेसँग नै गठबन्धन बनाएर जानेबारे पार्टीमा माइण्ड मेकअप हुँदैछ ।’

गठबन्धन बनाएरै चुनावमा जाने सन्दर्भमा लगभग सबैले मन बनाइसकेको ती नेताले बताए । उनले भने, ‘विकल्पहरुको विषयमा कुराकानी भइरहेको छ ।’

यता, सीके राउत नेतृत्वको जनमत पार्टीले सोचेजस्तो नतिजा स्थानीय चुनावमा ल्याउन सकेन । जनमत पार्टीले स्थानीय तह निर्वाचनमा कुल एक लाख १५ हजार मतमात्र प्राप्त गरेको छ । उसले पनि कमजोर हुनुमा सत्ता गठबन्धनलाई नै दोषी देखाएको छ । पाँच दलीय सत्ता गठबन्धनको चलखेलका कारण आफू कमजोर भएको जनमतको निष्कर्ष छ ।

गठबन्धनबिना सफल हुन नसकिने प्रारम्भिक निष्कर्ष निकालेको सो पार्टीले चुनावी तालमेलका लागि विकल्प खुला राखेको छ । सो पार्टीका नेता बीपी साह जनमत पार्टी पनि चुनावी तालमेल गर्ने पक्षमा रहेको बताए ।

‘हालै सम्पन्न स्थानीय निर्वाचनमा हामीविरुद्ध अधिकांश दलहरुले मोर्चाबन्दी गरेका थिए । हामी एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन,’ साहले भने, ‘आगामी निर्वाचनमा हामी पनि तालमेल गरेर जाने पक्षमा छौं ।’

कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरु खुला रहेको उनले बताए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकिर्ण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ उनले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ, अर्को गठबन्धन बनाउने प्रयास पनि भइरहेको अवस्थामा हामी एक्लै बस्नुको औचित्य छैन ।’

मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने, ‘लोसपा वा जसपाको जनाधार पनि मधेसमै देखियो । हाम्रो जनाधार पनि यही क्षेत्रमा छ । उहाँहरुसँग तालमेल भए झन् राम्रो । तर, उहाँहरु कतिपय कुरामा क्लियर हुनु पर्छ ।’

जनमत पार्टी अहिले बैठकमा केन्द्रित भएको छ । शनिबारदेखि बसेको समीक्षात्मक बैठकले आगामी चुनावका लागि रणनीति बनाउने उनले बताए । आइतबार भर्चुअल माध्यमबाट सो पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक बसेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप