नार्पाभूमि गाउँपालिकाको बजेट प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा !
![नार्पाभूमि गाउँपालिकाको बजेट प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा !](https://rpcdn.ratopati.com/media/albums/Narpavumi-gaunpalika1_w0ujSH33Oq.jpg)
सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ । संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभूमि गाउँपालिकामा वितरण गर्ने हो भने जनही तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्न आउँछ । नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जाडो छल्न नागरिकहरू सहर बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको बताए ।
उनका अनुसार नार्पाभूमिमा मतदाता संख्या चार सय ४८ छन् । ‘सडक छाडेर दुई दिन हिँड्नुपर्छ । एउटा योजनामा मात्रै ५०/६० लाख खर्च गर्नुपर्छ । एकजना कामदारलाई मात्रै दैनिक दुई हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । नत्र कामदार पाइँदैन । हरेक हिसावले महँगो पर्छ । बजेट त अझै अपुग हो,’ उनले भने । मनाङमा सबैभन्दा बढी नासों गाउँपालिकाको जनसंख्या एक हजार ६ सय ७१ छ । संघीय सरकारले १९ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । हरेक नागरिकलाई बजेट विनियोजन गर्ने हो भने जनही एक लाख १७ हजार नौ सय ५३ रुपैयाँ ३२ पैसा बजेट पर्छ ।
सरकारले चामे गाउँपालिकालाई १६ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । जहाँ एक हजार २ सय ७२ जनसंख्या छ । जनही बजेट वितरण गर्दा एक लाख ३३ हजार ४ सय ११ रुपैयाँ ९५ पैसा पर्छ । मनाङ निस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । यहाँको जनसंख्या एक हजार पाँच सय ८४ छ । जनही बजेट वितरण गर्दा एक लाख ३ हजार ७ सय ८७ रुपैयाँ ८७ रुपैयाँ पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा दक्षिण एसिया
-
सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’
-
तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा
-
संसद्मा सांसद विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि...
-
सर्वसाधारणबाट १ अर्ब ५८ करोड उठाएर ‘रिलायन्स स्पिनिङ मिल्स’ले के गर्दैछ ?
-
अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन : ठाकुर गैरे