बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादी र जसपामा क–कसले उचाल्दैछन् मन्त्री बन्न खुट्टा ?

आइतबार, २२ जेठ २०७९, १५ : २३
आइतबार, २२ जेठ २०७९

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतामाथि पार्टीभित्रैबाट मन्त्रीहरु हेरफेर गर्नुपर्ने चर्को दबाब परेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्रीहरु पठाउने सवालमा आकांक्षीहरु धेरै देखिँदा दुवै पार्टीका शीर्ष नेताहरुले ६÷६ महिनामा मन्त्री फेर्ने र अवसर दिने आश्वासन दिएका थिए ।

सोही आश्वासनअनुसार अहिले सांसदहरुले मन्त्री बनाउन शीर्ष नेतालाई दबाब दिन सुरु गरेका हुन् । ६ महिनामा मन्त्री फेर्ने र अवसर दिने नेतृत्वको आश्वासन ९ महिना बित्न लाग्दा पनि पूरा नभएको भन्दै ती पार्टीका नेताहरुले पार्टीका शीर्ष नेताहरुलाई भेटेरै मन्त्री परिवर्तन गर्न दबाब दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकमा मन्त्री परिवर्तन गर्नेबारे छलफल नै भएको स्रोतले जनाएको छ ।

आकांक्षी भन्छन्– चुनाव जित्न सहज हुन्थ्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मन्त्री फेरबदल गर्न दबाब दिने मध्येका एक नेताले रातोपाटीसँग भने, ‘हामीलाई ६ महिना कुर्न भनिएको हो । ६ महिना बितिसक्यो, अब पनि मन्त्री नबनाए कसरी मान्नु ?’

मन्त्रीका आकांक्षी रहेका ती नेताका अनुसार अहिले मन्त्री भएकाहरुले पनि खासै गतिलो काम गर्न सकेका छैनन् । उनले पार्टी पुनर्गठनका क्रममा सबैको योगदान बराबर रहेको भन्दै अवसर पनि समानुपातिक ढंगले नै पाउनुपर्ने जिकिर गरे ।

उनले भने, ‘अहिले पार्टीबाट मन्त्री भएकाहरुले धेरै राम्रो काम गरेको भए पनि ठिकै छ भन्न सकिन्थ्यो तर कामभन्दा विवाद बढी गर्या छन् । त्यसैले पनि पार्टी जोगाउने हो भने अब हामी मन्त्री हुनुपर्छ ।’

उनका अनुसार अहिले सांसदमात्रै हुँदा जनताले समेत वास्ता गर्न छाडेका छन् । ‘यस्तै हालतमा गए जनताले हामीलाई गन्नेवाला छैनन् । मन्त्रीको हैसियत कामय गरेर चुनावमा गए जित्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘चुनाव जित्न पनि मन्त्री हेरफेर गर्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडा मन्त्री छन् भने राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन् । पार्टीले उनीहरुलाई फिर्ता बोलाएमा मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, कल्याणी खड्का र कृष्णलाल महर्जन मन्त्री हुने चर्चामा छन् ।

यता अर्को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा पनि पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउनुपर्ने माग बढ्दो छ ।

गत असोजमा जसपाबाट सरकारमा मन्त्रीका रुपमा पठाउँदा ६–६ महिनामा पार्टीबाट हेरफेर गरिने आन्तरिक सहमति भएको भन्दै सो पार्टीका सांसदले पनि सरकारमा अर्को टीम नपठाएकोमा नेतृत्वसँग असन्तुष्टि पोख्न थालेका छन् ।

त्यसो त यो पार्टीमा गत फागुन–चैतमै मन्त्री फेर्ने चर्चा पार्टीको आन्तरिक बैठकमा चलेको थियो । त्यसबेला जसपाका तर्फबाट सरकारमा गएका सबै मन्त्री फेर्ने या केहीलाई मात्रै फिर्ता बोलाउने भन्नेमा कुनै ठोस निष्कर्ष ननिस्केको नेताहरुले बताएका छन् ।

‘मन्त्रीहरु फेर्ने छलफल चल्दाचल्दै त्यसबेला स्थानीय चुनावको मिति घोषणा भयो र आचारसंहिता लागु भएकाले पनि मन्त्री फेरबदलको प्रसङ्ग सेलाएको हो’, जसपाका एक नेता भन्छन्, ‘चुनाव सकिने बित्तिकै अहिले पार्टीमा पुनः त्यो चर्चा सुरु भएको छ ।’

जसपाबाट हाल रेणु यादव, महेन्द्र राय यादव, रामसहाय यादव र राजेन्द्र श्रेष्ठ मन्त्री छन् । उनीहरुलाई फिर्ता बोलाइएमा प्रदीप यादव, अमृता अग्रहरी, इस्तियाक राई, मृगेन्द्र कुमार सिंह मन्त्री बन्ने चर्चा पार्टीभित्र छ ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले प्रत्येक ६–६ महिनामा मन्त्री फेर्ने सहमति पार्टीमा भएको बताए । अहिलेसम्म मन्त्री फेरबदल नहुनुको कारण भने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

‘स्थानीय चुनावअघि मन्त्री फेरबदलबारे पार्टीभित्र चर्चा चलेको हो तर तत्कालै चुनाव र चुनावी आचारसंहिताका कारण अलि पछि गर्ने भनिएको हो तर अहिले किन भइरहेको छैन, बुझ्न सकेको छैन’, सिंहले रातोपाटीसँग भने ।

माओवादी केन्द्रका सांसद शान्त

अर्को प्रमुख घटक नेकपा माओवादी केन्द्रमा भने नेकपा एकीकृत समाजवादी र जसपामा जस्तो मन्त्री फेरबदलका लागि कुनै दबाब नरहेको नेताहरुले दाबी गरेका छन् । माओवादी केन्द्रमा केही सांसदले सरकारमा जान आकांक्षा देखाए पनि उनीहरुमध्ये कसैले अध्यक्ष प्रचण्डलाई मन्त्री फेरबदलको प्रस्ताव नगरेको नेताहरुको भनाइ छ ।

प्रदेश र संघको चुनाव आउन झण्डै ६ महिनामात्रै बाँकी भएकाले पनि मन्त्री फेरबदलको दबाब नदिएको हुनसक्ने उनीहरुको भनाइ छ ।

‘यसअघि मन्त्री बनाउन पर्यो भनेर अध्यक्ष कमरेडलाई निक्कै दबाब थियो । कतिपय त मन्त्री हुने अवस्था हुँदाहुँदै पनि भागबण्डा र क्लस्टरका कारणले बन्न सक्नुभएन,’ अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘तर स्थानीय चुनावपछि मन्त्री बनाउन कसैले प्रेसर गर्नुभएको छैन । मन्त्री भएकाले पनि छोड्छु भन्नु भएको छैन । अहिले सबै सांसदहरु शान्त हुनुहुन्छ ।’

 
माओवादी केन्द्रमा यसअघि मन्त्री बनाउन दबाब दिँदै आएका एक सांसदले भने, ‘अब प्रदेश र संघको चुनाव आउन जम्माजम्मी ५÷६ महिनामात्रै बाँकी छ । यतिबेला मन्त्री बनाए पनि केही काम गर्न पाइँदैन । अब भुतले खाजा खाने बेला मन्त्री भएर के गर्नु ?’

उनले अब मन्त्रीको प्रस्ताव आए पनि आफूले अस्वीकार गर्ने बताए । ‘बरु अब चुनावको टिकट लिएर जानुपर्छ । चुनाव जितेर आएपछि लामो समय मन्त्री भएर जनताको काम गर्ने सोचेको छु,’ उनले भने ।

ती सांसदले चुनावको मुखमा मन्त्री भएर चुनावमा गए चुनाव जित्न कठिन हुने विश्लेषण रहेको सुनाए । ‘सांसदमात्रै भए अर्को पटक मन्त्री बनेर काम गर्छु भन्न पनि सजिलो हुन्छ’, उनले भने, ‘छोटो अवधिका लागि मन्त्री बन्दा काम गर्नभन्दा पनि नाम लेखाउनमात्रै सीमित हुन्छ ।’

तर, पार्टी नेता वर्षमान पुन र शक्तिबहादुर बस्नेतपक्षका केही सांसदले भने मन्त्री बनाउन पुन र बस्नेतलाई दबाब दिने गरेको स्रोतको दाबी छ । पुन र बस्नेतसँग उनीहरुले कि पार्टी पदाधिकारीमा सम्माजनक हैसियत पाउनुपर्ने कि मन्त्रीमा समेट्नुपर्ने माग राख्दै आएको बुझिएको छ ।

स्रोतका अनुसार उनीहरुको मागलाई पुन र बस्नेतले भने अध्यक्ष प्रचण्डसमक्ष पुर्याएका  छैनन् । अध्यक्ष प्रचण्डको मनस्थिति बुझेकाले नै उनीहरुले आफू निकटका सांसदहरुको माग प्रचण्ड समक्ष नपुर्याएको बताइएको छ ।

‘अध्यक्ष प्रचण्ड अहिले पार्टीका मन्त्री हेरफेर गर्ने पक्षमा हुनुहुन्न । बरु अब सम्पूर्ण पार्टीलाई चुनावमा केन्द्रित गरेर नतिजा ल्याउनेतर्फ लाग्नुपर्ने उहाँको जोड छ’, प्रचण्ड निकट एक पूर्व स्थायी कमिटी सदस्यको भनाइ छ ।

माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा, पम्फा भुसाल, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज मन्त्री छन् भने राज्यमन्त्रीमा बोधमाया कुमारी यादव छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप