शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोसपा किन बनाउन चाहन्छ लोकतान्त्रिक गठबन्धन ?

आइतबार, २२ जेठ २०७९, १५ : ०९
आइतबार, २२ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भत्काएर लोकतान्त्रिक गठबन्धन बनाउन नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गरेको छ । शनिबार बालुवाटार पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासमक्ष सो प्रस्ताव गरेका हुन् । 

ठाकुरले यस्तो प्रस्ताव राखेको पहिलो पटक भने होइन । प्रधानमन्त्री देउवासँगको यसअघिका हरेक भेटमा ठाकुरले सो प्रस्ताव राख्दै आएका छन् । प्रधानमन्त्री भइसकेपछि देउवाले अध्यक्ष ठाकुरसँग १० पटकभन्दा बढी पटक भेटिसकेका छन् । प्रधानमन्त्री देउवाले पनि ठाकुरसँगको हरेक भेटमा एउटै प्रस्ताव अघि सार्ने गरेका छन्, ‘गठबन्धन र सरकारमा सामेल हुनुहोस्’ ।

तर ठाकुर भने वर्तमान गठबन्धनमा सामेल हुने पक्षमा छैनन् । उनले पार्टीको बैठकहरूमा पाँच दलीय गठबन्धनको नेतृत्व काँग्रेसले गरे पनि खासमा त्यो वामगठबन्धन नै भएको बताउँदै त्यसलाई लोकतान्त्रिक गठबन्धन भन्न मिल्दैन कुरा दोहोर्‍याउँदै आएका छन् । लोसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारी भने आफूहरू सरकारमा भाग खोज्दै  प्रधानमन्त्री देउवालाई नभेटेको बताउँछन् । यद्यपि देशमा एउटा लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको र त्यसका लागि आफूहरूले प्रयास भने गरिरहेको स्वीकार गरे । 

‘हामीले विगतदेखि उठाउँदै आएका मधेसका विभिन्न मागहरू कार्यान्वयन भए भने मात्र सरकारमा जाने कुरा हुन्छ । यति बेला हाम्रो जोड लोकतान्त्रिक गठबन्धनमै रहेको छ,’ पाँच दलीय गठबन्धनबाट देशले निकास नपाउने उल्लेख गर्दै उनले भने ।

नेकपा अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ गते दोस्रो पटक संसद् विघटन गर्दा अध्यक्ष ठाकुर उनको साथमा उभिएका थिए । त्यतिबेला जसपामा रहेको उनको समूहले संसद् विघटन गर्नका लागि तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएको थियो । 

यता संसद्लाई बचाउनका लागि भन्दै त्यति नै बेला काँग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो ।  गठबन्धनमा ठाकुरलाई ल्याउन सुरुदेखि नै प्रधानमन्त्री देउवाले पहल गरिरहेका थिए । तर हरेक पटक अध्यक्ष ठाकुरको एउटै प्रतिक्रिया हुन्थ्यो, ‘यो गठबन्धनमा समावेश हुन सम्भव छैन अर्को नयाँ लोकतान्त्रिक गठबन्धन बनाऔँ ।’ 

२०७८ साउन ३ गते प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिँदा ठाकुरलाई पत्र लेखेर नै विश्वासको मत दिनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यतिबेला ठाकुर जसपामा नै थिए । विश्वासको मत दिनुअघि पनि ठाकुरले  प्रधानमन्त्री देउवासँग बानेश्वरस्थित संसद् भवनमा छलफल गरेका थिए । त्यहाँ पनि देउवाले ठाकुरलाई आफ्नो गठबन्धनमा मात्र होइन, सरकारमा सहभागी हुनका लागि पनि अफर गरेका थिए । 

त्यसको तीन दिनपछि अर्थात २०७८ साउन ६ गते देउवाले अध्यक्ष ठाकुरलाई पुनः बालुवाटारमा बोलाएर छलफल गरे । सो छलफलमा पनि प्रधानमन्त्री देउवाले गठबन्धन र सरकारमा सहभागीका लागि आग्रह गरेका थिए । त्यहाँ पनि ठाकुरले पुरानै अडान दोहोर्‍याए । ‘हामीले अघि सारेको मधेसको माग पुरा गर्नुस्, लोकतान्त्रिक गठबन्धन बनाउनुस् अनि मात्र सरकारमा आउँछौँ भन्ने उनको जवाफ थियो । त्यति बेलासम्म जसपाका उपेन्द्र यादव पक्ष सरकारमा सहभागी भइसकेको थिएन । 

पछि जसपामा विवाद चलिरहेको बेला अध्यक्ष ठाकुर आफै समय लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । पार्टीमा ठाकुर पक्ष अल्पमतमा थियो । बहुमत प्राप्त गर्न नसके ठाकुरले नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यसैले जसपाबाट अलग हुनका लागि विभाजनको व्यवस्था मिलाई दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । त्यसपछि देउवाले अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर ठाकुरलाई जसपाबाट अलग हुने वातावरण मिलाई दिएका थिए । जसपाबाट अलग भएर ठाकुरले लोसपा गठन गरे । 

लोसपा बनाइ सकेपछि पनि प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई सरकारमा सहभागीका लागि पटक पटक आग्रह गरेका थिए । २०७८ माघ २० गते बालुवाटारमा नै बोलाएर सरकारमा सहभागीका लागि प्रस्ताव गरेका थिए । त्यतिबेला एमसीसीलाई लिएर पाँच दलीय गठबन्धनमा विवाद चलिरहेको थियो । देउवाले एमसीसी पास गराउन सहयोग गर्न पनि ठाकुरलाई आग्रह गरेका थिए ।

सरकारमा सहभागी हुनका लागि ठाकुर सकारात्मक नभएपनि एमसीसीमा भने सरकारलाई सहयोग गर्ने विश्वास दिलाएका थिए । जसरी पनि एमसीसी पास गर्ने मुडमा रहेका देउवा लोसपा र एमालेसँग मिलेर अर्को गठबन्धन बनाउने मनस्थितिमा पनि पुगिसकेका थिए । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल अघि बढाएका थिए । 

तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवको चतुर्‍याइँका कारण गठबन्धन टुटेन । एमाले, काँग्रेस र लोसपाको गठबन्धन बन्न सकेन, एमसीसी भने पास भयो । 

त्यसपछि पनि देउवाले ठाकुरको साथ खोजी नै रहेका छन् । २०७८ फागुन २८ गते प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई बालुवाटारमा बोलाएर छलफल गरे । सो छलफलमा लोसपाको तर्फबाट वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि थिए । 

प्रधानमन्त्री देउवा २०७८ चैत १८ गते भारत भ्रमणमा जानुअघि नै लोसपामा सरकारमा सहभागी गराउने सोच बनाएका थिए । त्यसका लागि उनले २०७८ चैत १३ गते नै ठाकुरलाई फेरि बालुवाटारमा बोलाएर छलफल गरे । तर ठाकुरले मधेसको मुद्दा कार्यान्वयन हुनुपर्ने र अर्को लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने अडान दोहोर्‍याएर फर्किए । 

गत जेठ २१ गते दुई नेताबीचको भेट त्यसैको निरन्तरता हो । से भेटमा पनि देउवाले गठबन्धनमा सघाउन, सरकारमा आउन र अगामी चुनावमा सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए । तर अध्यक्ष ठाकुरले फेरि पनि यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाए मात्र त्यसमा सहभागी हुने प्रतिक्रिया दिएर फर्केका थिए । 

प्रधानमन्त्री भएपछि मात्र देउवाले यसरी अध्यक्ष ठाकुरसँग भेटेका भने होइनन् । प्रधानमन्त्री बन्नुअघि पनि काँग्रेसको सभापतिको हैसियतमा देउवाले अध्यक्ष ठाकुरलाई बोलाएर पटक पटक भेटेका छन् । ओलीले संसद्मा गडबड गरे पनि नयाँ सरकार बनाउन आफ्नो पक्षमा बहुमत जुट्ने अवस्थामा नदेखेपछि देउवाले ठाकुरलाई नै प्रधानमन्त्री बन्नका लागि प्रस्ताव गरेका थिए । त्यसका लागि सभापति देउवाले २०७८ वैशाख ३० गते आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए । तर त्यो छलफल पनि सफल भएको हुनसकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप