एउटा नायकको खोजीमा
प्रदीप गिरिले कुनै आलेखमा भनेजस्तै “नायकको खोजी गर्ने समाज अभागी समाज हो” । हामी त्यही समाजका हिस्सा हौं, जो एउटा नायकको खोजीमा भौतारिरहेको छ । सायद आशा गरिएका नेतृत्व विचलित भएकाले होला हामी हरेक कठिन समयमा एउटा नायकको खोजीमा हुन्छौं ।
चुनावको पूर्व सन्ध्यामा मैले कक्षा ६ मा पढ्ने बहिनीलाई सोधें, “तिमीले भोट के मा हाल्ने नि ?” उसले तुरुन्तै जवाफ फर्काइ “बालेन” । मैले ठट्टाको लागि यो प्रश्न गरेको थिएँ । तर उसको उत्तर सुनेर एक छिन त छक्क परें । भोट दिने उमेर उसको पुगेको थिएन । तर उसले दिएको उत्तरले धेर थोक संकेत गर्दछ ।
प्रसिद्ध लेखक युवाल नोहा हरारिले भनेजस्तै सहकार्य गर्नका लागि साझा कथाहरूमा विश्वास गर्नु पर्दछ । काठमाडौं वा धरानका जनताले विश्वास गरेको साझा कथा के हो ? सायद भरोसायोग्य थिए ती साझा कथाहरू । बालेन वा हर्क साम्पाङहरुको विजय यिनै साझा कथाको निर्माणको जगमा भएको छ । आममानिसले आफ्ना सपना र भविष्य बालेन र हर्क साम्पाङहरुको आँखामा देखे र त उनीहरुलाई विजयी गराइदिए ।
सपना देख्नु पर्छ तर त्यसका पछाडि बलियो जगको निर्माण पनि गर्नु पर्दछ । रुमानी सपनाहरूले कसरी नेतृत्वहरूको व्यक्तित्वको क्षयिकरण गर्छ, अब कुनै व्याख्यात्मक टिप्पणीको खाँचो पर्दैन । यसर्थ, चर्चाको शिखरमा उभिएका बालेन वा हर्क साम्पाङहरु राजनीतिको गलत ओरिएन्टेसनमा फस्छन् कि आफूलाई सम्हाल्दै संयमतापूर्वक आफ्नो कार्यभार सम्हाल्छन् ? यसको उत्तर केही महिनाहरूमा स्पष्ट हुँदै जानेछन् । आजलाई भने हामी उनीहरुलाई शुभकामना र शुभेच्छा दिँदै शङ्काको सुविधा दिन सकिन्छ ।
यहाँ चर्चा बालेन वा हर्क साम्पाङको गर्न खोजिएको होइन । यस सम्बन्धमा नेपाली मिडियामा धेरै आलेख वा अन्तरवार्ता आइ सकेका छन् भने आउने श्रृंखला जारी छ । बालेन वा हर्क साम्पाङहरुको विजय सङ्केतहरू हुन् । सुरुमा सङ्केतहरू स्पष्ट देखिदैँनन् तर जव निर्णायक धक्का लगाइन्छ, सङ्केतहरूले कोरेको चित्र स्पष्ट हुन जान्छ ।
सम्भवतः यही मङ्सिरमा केन्द्रको चुनाव हुनेछ । यही चुनावको नतिजाले आगामी प्रधानमन्त्री को हुने भन्ने प्रश्नको जवाफ दिनेछ । यो चुनावपछि कुनै आमूल चमत्कार नभए हामीले झेल्दै आएका यिनै शीर्ष नेतामध्ये एक नै प्रधानमन्त्री हुनेछन् । यो इतिहासको पुनरागमन मात्रै हुने छैन, यो त एउटा झर्कोलाग्दो अट्टहास हुनेछ । सायद यही भविष्यको दृश्यको पूर्वाभास भएर नै होलाm, हामी नायकको खोजीमा भौतारिरहेका छौं । यसर्थ, यो खोजी केवल रुमानी खोजी मात्रै होइन, बरु परिवर्तनप्रति देखाइएको प्रतिवद्धता पनि हो ।
अब सवाल केवल नायकको मात्रै रहेन । इतिहास बारम्बार दोहोरिंदा त्यसले आम मानिसमा नैराश्यता मात्रै जन्माउँदैन, यसले कहिलेकाहीँ विद्रोह पनि जन्माउँछ । यही विद्रोहको प्रतीक बालेन र हर्क साम्पाङहरु हुन् । प्रतीकहरू सुरुमा सामान्य लाग्छन् तर कालान्तरमा तिनीहरूले कोरेको चित्र स्पष्ट देखिन्छ ।
स्थानीय चुनावको लगभग सबै नतिजा आएको छ । बदर मत उल्लेख्य भएको यस निर्वाचनले हाम्रो मतपत्र र मतदाता शिक्षाप्रति प्रश्न चिन्ह खडा गरेको छ । केवल चुनाव भनेको हार वा जित मात्रै होइन, यो आममानिसको प्रत्यक्ष र सक्रिय सहभागिताको साझा चौतारी हो । बदर मतले आममानिसको अभिव्यक्तिमा बाधा सिर्जना गर्दछ । आममानिस र भुइँमान्छेको मतको अभिव्यक्त नहुने चुनावले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँदैन । किशोरावस्थामा रहेको हाम्रो गणतन्त्र हाम्रो सामूहिक चेतनाको जगमा मात्रै समृद्ध बन्न सक्छ ।
बदर मतको सवाल मात्रै होइन, कुल मतको तुलनामा खसेको मतको संख्या पनि कम देखिन्छ । आफ्नो मत प्रकट गर्नु नागरिकको दायित्व हो । तर हाम्रा शासकहरूको कुशासनको उपजले पनि हुन सक्छ, केही मानिसमा चुनावप्रति खासै उत्साह देखिदैन । यसर्थ, आगामी दिनमा नागरिकहरूलाई मतदान गर्न प्रेरित गर्ने काम सरोकारवाला निकाय र राजनीतिक दलहरूको हो ।
हाम्रा संस्थाहरू कमजोर छन् । सायद यही कारणले होला, हामी प्रायः नायकको खोजीमा हुन्छौं । पात्रहरू बद्लिन्छन् । तर नायकको खोजीको क्रम भने फेरिदैन । सायद यो नैराश्यताको उपज पनि हुन सक्छ वा परिवर्तन प्रतिको तीव्र प्रतीक्षा । जे भए पनि यो नागरिकको सामूहिक अभिव्यक्ति हो । नागरिकको सामूहिक अभिव्यक्ति गलत हुन सक्छ तर यसलाई मूलधारका राजनीतिक पार्टीले नजरअन्दाज गर्न मिल्दैन । यसर्थ, एउटा नायकको खोजीमा भौंतारिरहेको समाजलाई दोष दिएर होइन, जिम्मेवारी वहन गरेर सही दिशानिर्देश गर्नु राजनीतिक पार्टीहरुको दायित्व हो ।
पत्रकार तथा लेखक विजय कुमारले भनेजस्तै “हामीले हाम्रो औकात अनुसारको नेता पाउँछौँ” । यो अर्धसत्य हो वा पुरै सत्य पनि होला । तर राजनीतिको उद्देश्य यो होइन । समाजलाई सही बाटोमा हिँडाउने र उचित दिशानिर्देश गर्नु नै राजनीतिक पार्टीको उद्देश्य हुनु पर्दछ ।
यस चुनावले मतदाताको मनोविज्ञान पनि परिवर्तन भएको केही संकेतहरु दियो । मतदाताहरुलाई आफ्ना निजी सम्पत्ति ठान्ने मूलधारका राजनीतिक दललाई यो गतिलो शिक्षा हो । यसले पक्कै पनि आगामी दिनमा मूलधारका राजनीतिक दललाई सच्चिन झक्झकाउने छ । यदि आफूलाई परिवर्तन नगर्ने हो भने आगामी दिनमा आममानिसले यो भन्दा अझै गहन शिक्षा दिनेछन्, जुन निर्णायक हुनेछ ।
अहिलेको समयमा युवाहरूको जनसंख्या पनि उल्लेख्य छ । सायद यही नै निर्णायक धक्का लगाउन पर्याप्त आधार हो । बालेन वा हर्क साम्पाङको उदय केवल संयोग मात्रै हो कि यो एउटा संकेत हो ? यसको लागि आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी नतिजाको प्रतीक्षा गर्नुपर्ने हुन्छ । सायद आगामी दिनहरूले अझ स्पष्ट संकेतहरु दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म