शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अभागी वेल्स कि युद्धग्रस्त युक्रेन, को पुग्ला विश्वकपमा ?

आइतबार, २२ जेठ २०७९, १२ : ३९
आइतबार, २२ जेठ २०७९

आइतबार राति कार्डिफमा विश्वकप छनोटको प्लेअफमा युक्रेनको आतिथ्य गर्दा वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकपमा छनोट हुने आशासहित मैदानमा उत्रनेछ । उता युक्रेन पनि विश्वकपमा छनोट भएर युद्धको पीडा भुलाउन चाहनेछ । दुई टोलीबीच नेपाली समयअनुसार राति ९ः ४५ बजे खेल हुँदैछ ।

दुई टोलीबीचको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा पर्नेछ । ‘यो निकै महत्त्वपूर्ण खेल हो । यसमा लुकाउने कुरा नै छैन,’ वेल्सका कप्तान गेराथ बेल भन्छन्, ‘हामीले अहिलेसम्म एउटा मात्र विश्वकपमा खेल्न पाएका छौँ । विश्वकै ठूलो स्टेजमा खेल्न पाउनु हाम्रा लागि अर्को कोशेढुंगा हुनेछ । हामी हाम्रो उद्देश्य प्राप्तिका लागि जीत हासिल गर्न आतुर छौँ ।’

उनले थपे, ‘युक्रेनमा भइरहेको हृदयविदारक कुराबारे हामी जानकार छौँ । हाम्रो प्राथना सधैँ त्यहाँको जनताको साथमा रहनेछ । तर, आज यो फुटबल खेल हो र हामी जित्न चाहन्छौँ ।’ वेल्स विश्वकपमा छनोट नभएको ६४ वर्ष पुगिसक्यो । वेल्सपछि इन्डोनेसियाले मात्र दुई विश्वकपको खेल्ने बीचमा यति लामो अन्तर बनाएको छ । सन् १९५८ पछि वेल्सले विश्वकपमा छनोट हुने मौका नपाएको हैन । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो ।

तर अहिले स्थिति फेरिएको छ । वेल्सको वर्तमान टोलीलाई ‘गोल्डन जेनरेसन’ भनिएको छ । सन् २०१६ को युरोकपमा छनोट भएर टोलीले मुख्य प्रतियोगितामा छनोट हुने ५८ वर्षको पर्खाईलाई अन्त्य गरेको थियो । सो प्रतियोगितामा वेल्स सेमिफाइनलसम्म पुगेर नयाँ इतिहास बनाएको थियो ।  वेल्स सन् २०२० को युरोकपमा पनि छनोट भयो । अब विश्वकपमा छनोट भएर वेल्सले आफूलाई एक कदम अघि बढाउन चाहेको छ ।


यो खेल वास्तवमा मार्चमा नै हुनुपर्ने थियो । तर, रुसले युक्रेनमाथि सैन्य कारबाही गरेपछि त्यसलाई पर सारिएको थियो । घरमा युद्ध चलिरहँदा यो खेल युक्रेनका लागि मात्र फुटबल खेल होइन, युद्धको पीडाबीच केही खुसी दिने अवसर पनि हो । युक्रेन युद्धको घाउमा मलहम लगाउँदै दोस्रोपटक विश्वकपमा छनोट हुने आशामा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप