खुकुरी रमको प्रतिबद्धता : उत्पादन प्रक्रियामा निस्कने फोहोरलाई ३ वर्षभित्र शून्यमा झारिने
खुकुरी रमले उत्पादन प्रक्रियामा निस्कने फोहोरलाई ३ वर्षभित्र शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले विश्व वातावरण दिवसको अवसरमा एक प्रतिबद्धता जारी गर्दै उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई शून्यमा झार्ने र पुनः प्रयोग गर्ने आवस्था बनाउने जनाएको हो ।
‘हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं । यसलाई आगामी ३ वर्षभित्रमा सतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं’, कम्पनीका महाप्रबन्धक सुभास लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने भन्दै अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको जनाएको छ ।
‘हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौं । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरू सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन्’, कम्पनीले भनेको छ ।
कम्पनीले आफूहरुले ग्रीन इनर्जीमा समेत काम गरिरहेको उल्लेख गर्दै आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्ने जनाएको छ ।
कम्पनीले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता जनाएको छ ।