वन्यजन्तुबाट बाली जोगाउन तारजालीभित्र खेती
हरेक बाली भित्र्याउने बेला वन्यजन्तुले सखाप पार्दै आएपछि कैलालीको भजनी नगरपालिका–९ का किसान हैरान भएका छन् । पाकेको बाली भित्र्याउने बेला वन्यजन्तु मात्रै नभएर घरपालुवा जनावर समेतले बाली खाइदिने गरेपछि उनीहरू दिक्क भएका हुन् ।
भजनी नगरपालिका–९ का सोना चौधरी अन्नबाली सबै भित्र्याउनै नपाइने गुनासो गर्छिन् । ‘वन्यजन्तु मात्रै होइन, घरपालुवा जनावरले समेत अन्नबाली नष्ट गर्दै आएका छन्,’ उनले भनिन् । सोनाले धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन् । धानको बिउ जोगाउन उनले चारैतिर तारजाली लगाएकी छन् ।
‘यहाँ राती जङ्गली जनावरहरू आएर धानबालीमा क्षति पुर्याउँदै आएका छन्,’ उनले भनिन्, ‘विगतमा हामी रातभर जाग्राम बसेर अन्नबालीको सुरक्षा गर्दै आएका थियौँ । यसपालि हामीले तारजालीभित्र धानको बिउ राखेका छौँ ।’
सोही वडाका डम्मर दहितले पनि तारजालीभित्र धानको बिउ राखेका छन् । उनले भने, ‘हाम्रो प्रमुख पेसा नै कृषि हो । तर, हामीले वन्यजन्तुबाट धेरै समस्या झेल्नुपरेको छ । यसको समाधानका लागि कसैले पहल गर्दैनन् ।’
उनले रातभरि उठेर वन्यजन्तु भगाउँदै बस्नुभन्दा तारजालीभित्र धानको ब्याड राखेको बताए ।
सोना र डम्मरजस्तै सो वडाका अधिकांश कृषकले अहिले तारजालीभित्र धानको बिउ राखेका छन् । बसन्ता वन क्षेत्रका वन्यजन्तुले आसपासका गाउँमा अन्नबाली सखाप पार्दै आएका छन् । ‘पहिलेपहिले त यहाँ जङ्गली हात्तीको बथान पनि आउने गर्दथ्यो । तीनचार वर्ष भयो, अहिले जङ्गली हात्ती आएका छैनन्,’ सोनाले भनिन्, ‘अहिले वन्यजन्तु भन्दा पनि छाडा पशुचौपायाका कारण बढी क्षति भोग्नुपरेको छ ।’
उनले नगरपालिकाले काञ्जी हाउस नबनाउँदा दिनभरि छाडा पशुचौपाया सडकमा हिँड्ने र राती खेतबारीमा गई अन्न बालीमा नोक्सानी पुर्याउने गरेको बताइन् ।
भजनीमात्र नभई कैलारी गाउँपालिका वडा नम्बर ७ का कृषकले पनि तारजालीभित्र धानको बिउ राखेका छन् । छुटकी बसन्तामा बस्दै आएकी सीता चौधरीले तारजालीभित्र धानको बिउ राखेको बताइन् । ‘यहाँ हात्ती, बँदेल, बाघ लगायतका वन्यजन्तुहरू ओहोर–दोहोर गर्छन्, वन्यजन्तुबाट अन्नबाली जोगाउन तारजालीभित्र धानको बिउ राखेका छौँ,’ उनले भनिन्, ‘वन्यजन्तुलाई त रोक्न सक्दैनौँ तर आफ्नो खेती, अन्न सुरक्षित राख्न नयाँ–नयाँ तरिका अपनाउँदै आएका छौँ ।’
उनी विगतमा समूहहरू बनाई रातभरि वन्यजन्तुलाई खेतबारीमा पस्न नदिन सक्रिय थिइन् । ‘हात्ती प्रवेश गरे हामीले थाल ठटाउने, आगोको राँको देखाउने, रातभरि ठुला–ठुला आवाज निकाल्ने लगायतका काम गर्थ्यौँ,’ उनले भनिन्, ‘अहिले बिउ सुरक्षित राख्नका लागि यो विधि उचित लागेकोले अपनाएकी हुँ । अहिले रातभरि उठ्नुपर्ने चिन्ता भने हटेको छ ।’ उनले काठको बारबाट पनि अन्नबाली सुरक्षित राख्न नसकिएको बताइन् ।
वसन्ता क्षेत्र आसपासमा वन्यजन्तुले अन्न बालीमा क्षति पुर्याउन लागेपछि कतिपयले खेती गर्न छोडेको उनी बताउँछिन् । उनले भनिन्, ‘हामीले मेहनत गरेर अन्न बाली रोपेका हुन्छौँ । वन्यजन्तुले क्षति पुर्याउँदा घाटा भइहाल्छ । त्यसैले कतिपय किसानले अहिले खेती गर्न छोडेका छन् ।’
उनले गाउँपालिकाले कान्जी हाउस सञ्चालन गरी छाडा पशुचौपायाको व्यवस्थापन गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस