बेथितिको मारमा नेपाल संस्कृत विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि ताला खुलाउन कसैले पहल गरेको छैन । कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्त आम्दानीको ३० प्रतिशत रकम छात्रावास विकास लागि खर्च गर्नुपर्ने उल्लेख छ ।
महेश र हरिहर गुरुकुल विद्यापीठमा स्थायी प्राध्यापकहरू दरबन्दी कायम गर्नुपर्ने, आंशिक प्राध्यापकहरूको व्यवस्थापन, प्रातःकालिक र सायंकालिक कक्षा, अवैज्ञानिक तवरले गरेको उपप्राध्यापक विज्ञापन खारेज, सर्वपक्षीय माग सम्बोधन हुने गरी पुनः विज्ञापन खुल्ला गर्ने, विश्वविद्यालयको आर्थिक हिनामिनाको छानबिन र विद्यार्थीमैत्री पाठ्यक्रम र स्ववियु निर्वाचनको मिति तय गर्नुपर्ने माग पनि उल्लेख छ ।
विश्वविद्यालयले कतिपय माग पदाधिकारीको तबरबाटै समाधान गर्न सकिने भए पनि कतिपय माग विश्वविद्यालय क्षेत्राधिकार बाहिर छ । विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेले विश्वविद्यालय अहिले ‘ह्याङ’मा रहेको बताए । ‘शैक्षिक क्षेत्र राजनीतिक थलो र घेराबन्दी चपेटामा पर्दा निकास विहीन बनिरहेको छ,’ रातोपाटीसँग उनले भने ।
शैक्षिक विकास र योजनाका कुराभन्दा पनि कर्मचारी व्यवस्थापन र राजनीतिक भागबण्डाको सिकारमा विश्वविद्यालय पर्दै आइरहेकाले यस्तो अवस्था भोग्न परिरहेको उनको भनाइ छ । तालाबन्दीको माग कतिपय शिक्षा मन्त्रालय र कतिपय कुलपतिको कार्यालय अर्थात् विश्वविद्यालयको सिनेट बैठकले नै पारित गर्नुपर्ने खालको छ । तर अहिले राजनीतिक भागबण्डा र प्राध्यापकहरूको स्वार्थका कारण विश्वविद्यालयको शैक्षिक गतिविधिमा अवरोध देखिएको छ ।
उनले भने, ‘लोकतान्त्रिक पदाधिकारी, सेवा आयोग पुनर्गठन, प्राध्यापकहरूको स्थायी व्यवस्थापन जस्ता कुराले पुष्टि गर्छ कि विश्वविद्यालय कस्तो बनाउन खोजेको हो ?’
यस्ता जटिल मागका बारेमा विश्वविद्यालय वार्ता समितिमार्फत निकासको खोजीमा रहेको उनले सुनाए । कुलपति र कुल सचिवस्तरीय बैठक आवश्यक रहेकाले यो माग विद्यार्थी केन्द्रित आन्दोलन नभई दल र अस्थायी प्राध्यापक केन्द्रित रहेको उनको भनाइ छ ।
प्राध्यापकको भित्री योजनामा अहिलेको आन्दोलन भइरहेको भन्दै उनले उपकुलपतिमाथि राजनीतिक प्रतिशोध समेत राख्ने काम भइरहेको आरोप लगाए ।
के विश्वविद्यालय राजनीति थलो हो ?
‘संस्कृत विश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पसहरू धेरै ठाउँमा छन् । कतिपय ठाउँमा काजमा प्राध्यापकहरू राख्नुपर्ने बाध्यता विश्वविद्यालयको छ । कसैको मान्छे नियुक्त नभएको खण्डमा पनि विद्यार्थीहरुलाई अघि सारेर आन्दोलन हुने गरेको उपकुलपति लामिछानेको भनाइ छ । ‘त्यो आन्दोलनको नेतृत्व भित्री रुपमा विश्वविद्यालयका प्राध्यापक र राजनीतिक दलहरुले गरेका हुन्छन्,’ उनले भने, ‘विश्वविद्यालयमा दलका व्यक्ति केन्द्रित मान्छे चाहिन्छ, जसका कारण विश्वविद्यालयमा अध्ययन अध्यापनको योजनाभन्दा राजनीतिक योजना बढी चलेको छ । यो विश्वविद्यालय एउटा रोग हो ।’
आफूले कार्यकाल सम्हालेको ३० महिनासम्म विश्वविद्यालयमा कुनै समस्या नदेखिए पनि अहिले अस्थायी प्राध्यापक र दलहरूका कारण समस्या सिर्जना गर्न खोजिएको उनले बताए । राजनीतिक ‘ह्याङ’ले नै विश्वविद्यालयलाई अब कता पु¥याउने हो भन्ने प्रश्न उठिरहेको उनको भनाइ छ ।
‘बारम्बार तालाबन्दी किन ?’
बारम्बार हुने तालाबन्दी र आन्दोलनले संस्कृत विश्वविद्यालयको कद घटाउँदै लगेको लामिछानेले बताए । उनले थपे, ‘नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीलाई अहिले तालाझुण्डी नामले पनि चिन्न थालिएको छ ।’
विश्वविद्यालयको केन्द्रीय कार्यालयहरु दाङमा रहे पनि पदाधिकारी काठमाडौंमा बस्ने र सम्पर्क कार्यालयका नाममा काठमाडौंकै कार्यालयमा काम गर्ने प्रवृत्ति देखा परेको छ ।
नेविसंघका नेता सुशान्त आचार्य भने नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरु विद्यार्थीको भविष्य होइन, आफ्नो व्यवस्थापन गर्ने उपाय, कमाउने उद्देश्यमा बढी केन्द्रित छन् । ‘आर्थिक अपचलनका कुराहरु पनि छ, त्यो हामीले उठाएका छैनौं । पाठ्यक्रम छैन, छात्रावासको अवस्था दयनीय छ । कर्मचारी नियुक्तिमा केही समस्या छन्,’ रातोपाटीसँग उनले भने, ‘आर्थिक अपचलनको आरोपको मुद्दा अख्तियारसम्म पुगेका छन् । हामीले उठाएको मुद्दा राजनीतिक भन्दा पनि विद्यार्थीको भविष्य र अधिकारका लागि हो ।’
पदाधिकारीहरूको मनोमानीका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको आचार्यको भनाइ छ । राजनीतिक दल र सत्ताको आडमा नियुक्त लिएका पदाधिकारीहरुले विद्यार्थीभन्दा बढी कार्यकर्ता संरक्षण र भर्ती केन्द्रका रुपमा विश्वविद्यालयलाई बनाउन खोज्दा विद्यार्थीहरु आन्दोलनमा उत्रनु परेको उनले बताए । उनले थपे, ‘सत्ताको आडमा नियुक्ति लिने, राजनीतिक स्वार्थका लागि पदको दुरुपयोग गर्ने, बिना योजना र लक्ष्य उद्देश्यको काम गर्ने । विद्यार्थीको भविष्यलाई अन्यौल पार्ने, नेतालाई खुसी बनाउन पदाधिकारीहरुले जे पनि काम गर्ने ?’
दरबारमार्गको छात्रावासको सटर भाडाबाट मासिक २६ लाख आम्दानी हुने भए पनि आफूहरु गाई गोठजस्तो छात्रावासमा बस्नु परेको उनले सुनाए । अब विश्वविद्यालयमा राजनीतिक दलका व्यक्ति होइन, विश्वविद्यालयका पदाधिकारीका रुपमा बस्नुपर्ने र विद्यार्थीको माग तत्काल सम्बोधन गर्न उनले आग्रह गरे । माग पुरा नभए आन्दोलन अझै लम्बिने उनको भनाइ छ ।
दश वर्षसम्म दीक्षान्त स्थगित
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङको दीक्षान्त समारोह विगत दश वर्षदेखि रोकिएको छ । विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरे पनि दीक्षित हुने अवसर पाएका छैनन् । दश वर्षसम्म रोकिएको दीक्षान्त समारोह यही वैशाखमा गर्ने निर्णय भए पनि कोरोना महामारीका कारण रोकिएको उपकुलपति लामिछाने भनाइ छ । उनले भने, ‘मेडल तथा प्रमाणपत्र बनाउने काम जारी छ । हजारौं प्रमाणपत्र तथा मेडल बनाउनुपर्ने भएकाले केही पर सरेको छ ।’
बेलाबेला आउने विविध समस्या र अप्ठ्याराहरूका कारण विश्वविद्यालयको नियमित कार्यक्रम पनि रोकिएको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा