बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

घोराही उपमहानगरभित्रकै एउटा गाउँ जहाँ न बिजुली छ, न मोटर बाटो

‘हामीले भोट दियौँ, नेताले आश्वासन मात्र’
आइतबार, २२ जेठ २०७९, ०६ : २९
आइतबार, २२ जेठ २०७९

दाङ । भर्खर स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचित जनप्रतिनिधिहरू कतै स्वागत सम्मान त कतै भेटघाट, कतै भोजभतेरसम्म व्यस्त छन् । विकासको  अभावमा बाँचेका गाउँले भने भोट माग्न आउँदा गरेका बाचा पूरा गर्न जनप्रतिनिधिहरू गाउँ फर्किन्छन् कि भन्ने आशमा बसेका छन् ।

गाउँलेहरु जनप्रतिनिधिहरू कहिले आउलान् र विकासमा कुरा पूरा गरौँला भन्नेमा छन् । निर्वाचित जनप्रतिनिधिहरू दुर्गम गाउँमा भन्दा पालिकाको केन्द्रमै व्यस्त छन् । दुर्गम गाउँका बासिन्दा भने जनप्रतिनिधि कहिले आउलान् र चुनावको समयमा बाँडेका आश्वास पूरा गर्लान् भन्ने प्रतीक्षामा छन् ।

निर्वाचनका बेला दुर्गम गाउँका घरघर, बस्तीबस्ती चहार्दै हिँडेका दलका नेता र उम्मेदवार निर्वाचन सकिएपछि चटक्क बिर्सने पीडाले घोराही उपमहानगरपालिका वडा नं. १ मा पर्ने करमकोट, बस्तीकोट र रुपाकोटका बासिन्दाहरूलाई सधैँ पिरोल्दै आइरहेको छ । यो वर्ष पनि त्यो पीडाबाट उनीहरू अछुतो रहन सकेनन् । बस्तीकोट, रुपाकोट र करमकोट घोराही उमहानगरपालिकाको दुर्गम विकट पहाडी क्षेत्र हो, जहाँ अझै सडक, खानेपानी र बिजुली बत्तीको सुविधा पुगेको छैन ।

हिउँदमा बाटो खन्ने, बर्खामा पहिरो पुर्ने, एक ग्रागी पानीका लागि दुई घण्टा धाउनुपर्ने र सहरतिरको उज्यालो हेरेर बिजुली बत्ती बाल्ने रहर मेट्नुपर्ने उनीहरूको बाध्यता छ ।

‘बत्ती मुनिको अँध्यारो’ भने झैँ उपमहानगरकै अँध्यारो गाउँका रूपमा परिचित बस्तीकोटका स्थानीय लोकबहादुर घर्तीले भने, ‘सधैँ हामीले भोट दिन्छौँ, नेताले हामीलाई आश्वासन मात्रै दिन्छन् ।’

दुर्गम पहाडीवासीको पीडामा सधैँ आश्वासनको मलम लगाउँदै नेता फर्किने गरेको उनले सुनाए । अहिलेका नेताले गाउँलेका दुःख कष्ट बुझ्छन् कि भन्ने लागेको तर जितको खुसी बाँड्नसमेत जनप्रतिनिधि नआएको उनको दुखेसो छ ।

पोल र तार आयो, बिजुली आएन

गाउँमा पोल र तार आएको चार वर्ष बितिसक्यो तर बिजुली अझै आएको छैन । कहिले दसैँ त, कहिले तिहार भन्दाभन्दै बिजुली बत्ती बाल्ने साइत अझै जुरेको छैन । ‘चुनावको बेला नेता आए । चुनावपछि बत्ती आउँछ भन्थे, चुनाव सकियो तर न नेता आए, न बिजुली आयो,’ स्थानीय निमबहादुर थापाले भने, ‘बिजुलीको पोल र तार हेर्दै चार वर्ष ट¥यो । मोबाइल चार्ज गर्न पनि अढाई घण्टाको बाटो हिँडेर जानु पर्छ ।’

भोट माग्न आउने बेला नेताले मिठा कुरा गर्ने तर भोट पाएपछि सबै बिर्सने गरेको उनको भनाइ छ । ‘तिनै नेताको मिठा कुराको भुलभुलैयामा हामी परिरहेका छौँ,’ उनले भने ।

गाउँमा तार र पोल आएपछि गाउँलेले घरघरमा वाइरिङ्ग समेत गराइसकेका छन् । करमकोटमा मात्रै ८० घरधुरीको बसोबास रहेकाले करिव २० घरधुरीमा चारवर्ष अघि नै बिजुलीको वाइरिङ्ग गरिएको छ । पोलमा तार टाँगिए पनि बिजुली बल्न सकेको छैन ।

सडकको पनि असुविधा

स्थानीय बासिन्दा निमबहादुर थापाका अनुसार गाउँमा सडकको पनि असुविधा छ । ‘कोही सुत्केरी र बिरामी हुँदा बडो मुस्किल छ । डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सडक भइदिएको भए एम्बुलेन्स आउँथ्यो, समयमै अस्पताल लैजान सकिन्थ्यो । त्यो पनि छैन । जंगलको बाटो साँघुरो छ ।’

ग्रामीण पहाडी क्षेत्रमा सडक सुविधाको अभाव पनि ठुलो पीडा बनिरहेको उनले सुनाए । सडकले गाउँको दुःख बिमारको पीडालाई हटाउने मात्र होइन, गाउँको आर्थिक आत्मनिर्भरताको विकासमा समेत टेवा पु¥याउने सक्ने उनको भनाइ छ ।

सडक असुविधाका कारण बालबालिकाहरूले सानै उमेरमा विद्यालय छोड्नुपर्ने, कृषि उत्पादन बजारसम्म पु¥याउन नसकिने जस्ता समस्या पनि आफूहरूले झेल्नु परेको उनले सुनाए ।

बस्तीकोट, कमरकोट, रुपाकोटको केन्द्रमै आधारभूत विद्यालय छ तर उक्त विद्यालयको अवस्था पनि नाजुक नै छ ।

अशिक्षाकै कारण यस क्षेत्रका बासिन्दा रोजगारीका लागि भारत जाने गर्दछन् । विकासको अभाव र कमजोर आर्थिक अवस्था जस्ता कारण धेरैजसोले सानैमा पढाई छोडेर मजदुरीका लागि भारत जाने गरेका छन् ।

थापा भन्छन्, ‘दुर्गमका दुःखी मान्छे, न सरकारका मान्छे चिन्छौँ, न सरकारसम्म पहुँच हुन्छ । न हामी नेताको नजरमा पर्छौँ, न सरकारको ।’

दुर्गम बस्तीका मान्छेको पहुँच नेता र सरकारसम्म नहुँदा नै आफूहरू उपेक्षित बन्दै आइरहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप