बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

'मेरो घरमा बुढी हजुरआमा हुनुहुन्छ, तिमी बाहिरै बसिदेउ ल !'

शनिबार, २१ जेठ २०७९, १८ : १४
शनिबार, २१ जेठ २०७९

स्नातक प्रथम वर्षको अन्तिम परीक्षा नजिकिँदै थियो । हाम्रो ग्रुपमा भएका ५ जना साथीहरूबीच सल्लाह भयो, एकजना साथीको घरमा भेला भएर तयारी गर्ने । त्यो साथीको नाम 'आर' बाट आउँछ, मानौं उसको नाम रुपेश हो । कथित उपल्लो जातको ।

भोलिपल्ट हामी सबै रुपेशको घरमा भेला भयौँ । रुपेशको घर तीनतले थियो, अनि हामीले पढ्ने कोठा तेस्रो तलामा । साथीहरू माथि उक्लिँदै थिए, रुपेशले थोरै पर्तिर लगेर मसँग कानेखुसी गर्यो ।

भन्यो, 'सुबिन तिम्ले मलाई एउटा हेल्प गर्नुपरो, यार !' मैले प्रतिप्रश्न गरेँ, 'के ?' उसले थप्यो, 'यु ह्याब टु अप्सन एण्ड यु ह्याब टु चुज वान ।' मैले 'हुन्छ'को भावमा मुन्टो हल्लाएँ । 'आज हजुरआमा घरमै हुनुन्छ, कि तिमीले आफ्नो जात ढाँटिदेउ कि आजलाई तिमी घर गइदेउ न ल, हजुरआमा भएपछि मलाई गारो हुन्छ क्या ! बुझ न है ।' मैले दोस्रो विकल्प छानें र सरासर घर फर्कें । घर आइपुगेसी उसले फोन गर्यो र भन्यो, 'म त त्यस्तो छैन भनेर तिमीलाई थाहै छ नि ! तर ती 'डाँडापारीको घाम' जस्तै भइसकेकी हजुरआमाको कुरा कसरी काटौँ, भन त । नरिसाउ ल ।'

त्यसपछि मैले महसुस गरेँ, विभेदको शैली बदलिएको रहेछ तर विभेद कहाँ अन्त्य हुन्थ्यो र ? अनि त मैले 'साथी' भन्ने शब्द नै विश्वास गर्न छोडेँ । सुन्छु, रुपेश अहिले कुनै एनजीओको प्रमुख भएका छन् रे ! जसले महिला र बालबालिकाको हकहितमा काम गर्छ । हाम्रो देशको दुर्भाग्य ! त्यस्तै व्यक्तिहरु माथिल्लो निकायमा पुग्छन् र विभेदलाई मलजल गर्छन्, त्यसमा पनि अधिकारकर्मीको खोल ओडेर । उनीसँग त्यही बखतदेखि भेट भएको छैन । उनको हजुरआमाको देहान्त भएको भन्ने सुनेको छु । अब फेरि भेट भएछ कुनै दिन भने एउटा कुरा सोध्न मन छ, 'साथी, अहिले चाहिँ तिम्रो बुबाले घर पस्न दिनुहुन्न होला नि ?' 

हामीकहाँ विभेद एउटा पुस्तादेखि अर्कोमा पुस्तान्तरण भएको हो । विभेद निखारिएको भन्ने भ्रम मात्र हो । हिजो मेरो हजुरआमाले घर पस्न दिनुहुन्न भन्ने नातिको छोराले आज मेरो बुबाले घर पस्न दिनुहुन्न भन्छ । विभेदको शैली यसरी बदलियो कि मानौं भन्नेले पनि भन्नेछ, 'यसलाई विभेद भनिन्छ र ?' त्यो भन्छन् नि, 'अँगालोमा हालेर पछाडि छुरा रोप्ने अनि तिम्लाई मैले माया गरेकै छु नि, नत्र किन अँगालो हाल्थे भन्ने ।' अलि पहिला, दलितहरू पँधेरोमा पानी छोएको निहुँमा, मन्दिर पसेको निहुँमा कुटिइन्थे । मारिइन्थे । तर अहिलेको पुस्ताले त्यसो गर्दैन । बल्की आधुनिक शैलीमा विभेद गर्छ । आज राज्यले दिने समावेशी आरक्षणको विरोध गर्नेमा पुरानो पुस्ता मुस्किलले भेटिन्छ तर आजको पुस्ता पाखुरा सुर्केर कोटा खारेजको माग गर्दै विरोध गर्छ ।

यतिबेला म एक युवा राजनीतिज्ञलाई सम्झिन्छु । उनी पूर्वमा निकै ख्याति प्राप्त राजनीतिज्ञ हुन् । स्नातकोत्तर तहको पढाइ गरेका छन् । राजनीतिमा एउटा गतिलो ओहदामा छन् । उनी पनि कथित उपल्लो जातकै हुन् । र, उनी अविवाहित हुन् । एकदिन मैले अन्तर्वार्ता सकिएपछि एकछिन अनौपचारिक गफ गरेँ । 'दाइले विहे कहिले ख्वाउने ?' उनले जवाफ थियो, 'केटी भेटिएको छैन राजा । बरु एउटी सुन्दरी खोज्देउ न ।' उनको बारेमा मैले जे सुनेको थिएँ… भनिदिए, 'अनि शर्मिला दिदीसँगको प्रेम ?' (उनकी प्रेमिका शर्मिला दलित समुदायकी हुन् ।) उनी थोरै गम्भीर भए । र, भनें, 'यार भाइ, यो लभ-सब सम्म ठिकै हो तर बिहे नै त अलि सोच्नुपर्छ हौ । घरपरिवारको कुरा पनि सुन्नुपरो ।' मैले उनको शब्दको तिरको निशाना सहजै अनुमान गरें र, एकछिन अन्य गफ सकेर म निस्किएँ ।

अहिलेको पढेलेखेको पुस्ता भनिनेहरु छुवाछूत र जातीय विभेद अन्त्य भएको बताउँछन् । अनि भीमबहादुर विश्वकर्माहरू मन्दिर पस्न खोज्दा मारिएको आजै हो । नवराज विकले अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा  मारिएका हुन् । त्यहाँ हिजोको पुस्ता हत्या गर्न पुगेको थियो र? आजका पुस्ताहरू सँगै केही अघिल्ला पुस्ताहरूबाट हुने विभेदको समाजमा आंशिक रूपमा मात्रै बाँकी रहेको भन्छन् । तर हामीकहाँ ठ्याक्कै उल्टो भइरहेको छ । आजका तिनै पुस्ताहरूले भोलि आफू वृद्ध भएपछि विभेद गर्ने गरेको देखिन्छ । 

नेपाल सरकारले २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र भनेर घोषणा गरको थियो । देशभर आज विभिन्न कार्यक्रम गरि जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवस मनाइएको छ । तर जतिसुकै कार्यक्रम गरे पनि विभेदको जरालाई नकाटेसम्म यसको अन्त्य हुने देखिँदैन । यसको जरा भएको 'जात व्यवस्था'को अन्त्य नै हो । त्यसको लागि सम्पूर्ण दलित र गैरदलितहरु, उपल्लो र तल्लो जात भनिनेहरू एक हुनैपर्छ, अन्यथा यो सम्भव छैन । राज्यले विभिन्न खाले आरक्षण दिएको छ, भूमिहीन दलित सुकुम्बासीहरूलाई धनीपुर्जा दिने योजना अघि बढेको छ, विभेद विरुद्ध सचेतनाका थुप्रै कार्यक्रमहरु भएका छन्, स्नातक तहमा जातीय विभेदको 'कोर्स' नै राखिएको छ ।

यी सबै कार्यक्रमहरुले लक्षित समुदायहरू सामाजिक सम्मानका साथ रहन अघि बढ्ने मात्र हो । तर विभेद अन्त्य हुने होइन । विभेद अन्त्य गर्नको निम्ति 'जात व्यवस्था'को अन्त्य हुनैपर्छ । अन्यथा एक धनी दलितको छोराले आफूले प्रेम गरेको आर्थिक रूपमा विपन्न गरिबको छोरीलाई विवाहको निम्ति हात माग्न जाँदा दलित भएकै कारण छोरी नदिने प्रचलन रहिरहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप