बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण

शनिबार, २१ जेठ २०७९, १७ : ४८
शनिबार, २१ जेठ २०७९

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।   यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो ।  शुक्रबार २१६ जनामा  परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

 स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।  

कोरोना सङ्क्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कता अनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारी छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टिजेन विधिमार्फत कोरोना परीक्षण  भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ थियो ।  

यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा सङ्क्रमण देखिएकामा  हालसम्म ६३३ जनाको ज्यान गइसकेको  जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप