शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : गठबन्धन सफल कि असफल ?

काँग्रेसका दुई पक्षको दुई थरी तर्क
शनिबार, २१ जेठ २०७९, १६ : ५८
शनिबार, २१ जेठ २०७९

प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।

‘यो गठबन्धन र तालमेलको अभ्यासको लामो अनुभव छैन । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न कठिनाइ देखियो । विराटनगर, इटहरी र धरानमा हामीले गठबन्धनलाई जिताउन सकेनौँ,’ काँग्रेस नेता गुरुराज घिमिरेले भने, ‘यस्ता केही सकारात्मक र दुःखद पक्ष पनि छन् । यसको वस्तुनिष्ठ तरिकाले समीक्षा गर्नुपर्छ ।’

उनले गठबन्धनकै कारण फाइदा भए पनि वस्तुनिष्ठ विवेचना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । ‘गठबन्धनबाट फाइदा त भयो हाम्रो विगतभन्दा बढेको छ । त्यस हिसाबले हेर्दा राजनीतिमा जितको कुराले नै पार्टीको सफलता र असफलताको मापन हुने भएको हुनाले त्यसलाई सफलता नै मान्नुपर्छ होला तर, विवेचना गर्नुपर्ने कुरा के हो भने यो गठबन्धनको प्रयोगहरू सफल भएको हो कि होइन ?’, घिमिरेले भने, ‘वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता छ । गठबन्धनकै कारणले सङ्ख्या बढायौँ भनेर निरपेक्ष ढङ्गले जान सक्ने अवस्था छैन ।’

उनले कम्युनिस्ट पार्टीहरूको बीचमा नै गठबन्धन प्रभावकारी हुने देखिएको बताए । ‘मूलतः कम्युनिस्ट पार्टीहरूबिचको गठबन्धन नै प्रभावकारी हुने देखियो,’ घिमिरेले भने, ‘कम्युनिस्टहरूका फरक फरक पार्टीहरू उस्तै उस्तै त हो नि भन्ने पनि हुँदो रहेछ । तर, वैचारिक आधार, धरातल र दर्शन फरक भएको कारण काँग्रेस र माओवादी वा काँग्रेस र एमालेबीच तालमेल हुँदा मतदाता नै कन्भिन्स हुन गाह्रो हुने रहेछ, तराई केन्द्रित मधेसवादी दल राजपासँगै राम्रोसँग गठबन्धन सफल भएन । विराटनगरमा सफल भएन, जनकपुरमा पनि भएन । यो चाहिँ विचारधारा, सिद्धान्त र विश्वासले पनि त्यो पूर्ण सफल नहुने हो कि जस्तो देखिन्छ ।’

घिमिरेले विषय, विचार र सिद्धान्त मिल्ने मिल्ने बीच गर्दा मात्रै गठबन्धन फलदायी हुने आफूले अनुभव गरेको बताए । उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा पुनः माओवादीसँग गठबन्धन गरेर जाने तर्कपूर्ण आधार नरहेको बताए । आफ्नो धारणा भनेको अहिले पनि एक्ला एक्लै लडेर जाँदा राम्रो हुन्छ भन्ने रहेको उनले सुनाए । 

‘गठबन्धन गर्ने कुराको तर्कपूर्ण आधार हुनुपर्योग । हामीलाई हरेक घरमा चुनौतीपूर्ण छ । हामीले हाम्रो पार्टीको परिवारलाई हामी काँग्रेस हौँ तर भोट चाहिँ अर्कोलाई हाल है भनेर भन्न सक्ने अवस्था छैन । ओलीजीले संसद् विघटन गरेकै कारण हो भन्ने विषय अब तर्कपूर्ण हुँदैन,’ त्यसो भए तपाईंहरू आगामी निर्वाचनमा गठबन्धन गर्नुहुँदैन भन्ने प्रश्नमा घिमिरेले भने, ‘एमालेले भनेजस्तो दुई दलीय व्यवस्था तर्फ जाने भएको कारण माओवादी हराउन गर्‍यौँ भन्ने विषय पनि तर्कपूर्ण हुँदैन । त्यस कारण हाम्रो गठबन्धन गर्नुपर्ने जायज तर्क के हो ? सरकार हो ? सत्ता हो ? बीपी कोइरालाले पनि सत्ता प्रमुख कुरा होइन भन्नुभएको छ । त्यस कारण तर्कपूर्ण ढङ्गले नयाँ पुस्ताका मतदातासँग हामीले ५ मिनेट बहस गर्न सक्दैनौँ ।’ उनले एक्ला एक्लै लड्नु सबैभन्दा राम्रो विकल्प भएको बताए । ‘आफ्नो आफ्नो तरिकाले लडौँ । हाम्रो परीक्षण पनि हो नि त,’ उनले भने । 

यता प्रदेश १ का काँग्रेस सभापति उद्धव थापाले भने गठबन्धन सफल भएको कारण आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै अगाडि बढ्ने बताए । ‘१ नम्बर प्रदेशमा समग्रमा गठबन्धन राम्रो भयो । पहाडमा हामीले सोचेको भन्दा राम्रो भयो । मोरङमा हामीले राम्ररी गठबन्धन गर्न सकेनौँ । त्यसैले पनि परिणाम मोरङको राम्रो आएन । जहाँ गठबन्धन गरेर गएका छौँ त्यहाँ परिणाम राम्रो आएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको हामीले ठानेका छौँ,’ थापाले भने, ‘तराईका जिल्लामा गठबन्धन भएका ठाउँमा पनि हाम्रा मतदातालाई मतदाता शिक्षा नदिएको कारण हाम्रो मत धेरै बिग्रिएको छ । त्यस कारण पनि हामीले कतिपय स्थानमा सफलता प्राप्त गर्न सकेनौँ ।’ उनले जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन गरेरै प्रतिस्पर्धा गरिरहेको पनि बताए । ‘कार्यपालिकाको निर्वाचन र जिससमा पनि हामीले गठबन्धन गरेरै चुनाव लडिरहेका छौँ, १ नम्बर प्रदेशमा काँग्रेस १ नम्बर पार्टी भएको छ त्यो चाहिँ गठबन्धनकै कारण हो,’ थापाले भने, ‘सङ्घ र प्रदेशको निर्वाचनमा पनि हामी गठबन्धन गरेरै जाने कुरा हो ।’

प्रदेश १ को चुनावी परिणाम यस्तो थियो

२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश १ का १३७ स्थानीय तहमध्ये ५४ तह जितेको काँग्रेसले यस पटक ६९ स्थानीय तह जित्न सफल भयो । यता २०७४ सालमा ६९ स्थानीय तह जितेको नेकपा एमाले ४७ तहमा सीमित भयो । माओवादीले १२ वटा स्थानीय तह जितेको छ ।

यस्तै काँग्रेसले थप १५ प्रमुख/अध्यक्षमा विजयी बन्दा २ उपप्रमुख/उपाध्यक्ष गुमाएको छ भने ३१ वडाध्यक्ष थपेको छ । स्थानीय तहको नेतृत्वमा काँग्रेसले यो निर्वाचनमा २७ प्रतिशत स्थानीय तह थप गर्दा एमालेले ३२ प्रतिशत गुमाएको पाइएको छ । चुनावी परिणाम अनुसार काँग्रेसले उपप्रमुख/उपाध्यक्ष ४६, एमालेले ६३, माओवादी केन्द्रले २१, एकीकृत समाजवादीले ५, जसपाले २ र राप्रपाले २ जितेको छ । २०७४ मा काँग्रेसले ४४, एमालेले ८१, माओवादीले ७, जसपाले २ र राप्रपाले १ उपप्रमुख/उपाध्यक्ष जितेको थियो । २०७४ को निर्वाचनमा प्रदेशका ११५७ वडामध्ये एमालेले ५५४, काँग्रेसले ४३९, माओवादीले ११५, जसपाले २६, राप्रपाले ९ र स्वतन्त्रले ७ वटा जितेका थिए । यस पटक एमालेले वडाध्यक्षमा १४ प्रतिशत गुमाएर ४७६ मात्र जितेको छ भने काँग्रेसले ७ प्रतिशत सुधार गर्दै ४७० वटा जितेको छ । प्रदेश १ मा स्वतन्त्रका १८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप