बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

वीरगञ्ज पुगेर अर्थमन्त्रीले गरे निजगढ विमानस्थल बनाउने प्रतिबद्धता

शनिबार, २१ जेठ २०७९, १६ : ४६
शनिबार, २१ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् ।

‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन विमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए ।

उनले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको समेत बताए । ‘मधेसलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उनले भने ।

त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले जानकारी दिए । वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोलीले शनिबार विहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेका थिए । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालनयोग्य रहेको जानकारी दिएका थिए ।

‘वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उनले भने, ‘६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ अर्थमन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप