ad
x
साहित्य

शंकरले किन बनाए वानीरा फाउन्डेसन ?

person explore access_timeजेठ २१, २०७९ chat_bubble_outline0

नेपाली साहित्यमा डा. वानीरा गिरी सुपरिचित नाम हो । बाल्यकालदेखि नै साहित्यतर्पm आकर्षित भएकी उनी दार्जिलिङबाट प्रकाशित ‘दियो’ साहित्यिक पत्रिका ‘मेरो साथी भन्छ’ शीर्षकको कविता विसं २०२० मा प्रकाशन गरेर सार्वजनिक साहित्यमा प्रवेश गरिन् । यसपछि निरन्तर साहित्यमा समर्पित उनका ‘एउटा जिउँदो जङ्गबहादुर’ (२०३१), ‘जीवन ः थायमहरू’ (२०३४), कारागार (२०३५), शब्दातीत शान्तनु (२०५६), कारागार (२०३५), निर्बन्ध (२०४४), मेरो आविष्कार (२०४१) लगायत करिब १० कृति प्रकाशित छन् । 


वानीरा २००२ चैत २९ गते भारतको खरसाङमा जन्मिएकी थिइन् । इन्द्रराज गिरी र जानकीदेवीका ६ जना सन्तानमध्ये कान्छी छोरीका रूपमा जन्मिएकी उनको न्वारानको नाम सत्यदेवी थियो । सेन्ट जोसेफ स्कुलबाट एसएलसी र आईएस्सी पास गरेकी उनले २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी थिइन् । 



तत्कालीन समयमा काठमाडौं र दार्जिलिङ नेपाली साहित्यका लागि उर्वर थलो थियो । दार्जिलिङेहरूले पनि आफ्नो भाषा संस्कृतिको विकास र विस्तारका लागि विविध साहित्यिक सङ्घ संस्था खोलेर कार्यक्रम गर्दै आएका थिए भने काठमाडौंले पनि यस्ता कार्यक्रम गर्दै आएको थियो । खास गरी नेपाल प्रज्ञा प्रतिष्ठानले समय समयमा साहित्यिक महोत्सव गर्दै आएको थियो । यस्तै कविता महोत्सवमा भाग लिन गिरी २०२२ सालमा नेपाल आएकी थिइन् । प्रज्ञाले आयोजना गरेको उक्त महोत्सवमा द्वितीय भइन् । त्यो समयमा प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत भएपछि उनलाई अझ जिम्मेवार र गतिशील बनायो । नेपालका प्रतिष्ठित साहित्यकारहरूसँग भएको त्यस अवसरको भेटले उनलाई नेपालमै केही गर्ने उत्साह जगायो । 



सो समय दार्जिलिङमा नेपाली साहित्यमा स्नातकोत्तर तहको अध्ययन गर्न विश्वविद्यालय नभएकाले उनले नेपालमै बसेर पढ्न रुचाइन् । त्यसको व्यवस्थाका लागि प्रज्ञाका केही अधिकारीहरूसँग अनुरोध गरिन् । सो अनुरोध राजा महेन्द्रसमक्ष पेस भई स्नातकोत्तर अध्ययनका लागि सिफारिस भयो । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्न थालिन् । यसै क्रममा उनको विवाह शङ्कर गिरीसँग भयो । अनि, काठमाडौंमै स्थायी बसोबास गर्न थालिन् । 





यसरी भेट भयो वानीरासँग शङ्करको



शङ्कर गिरी वीरगञ्जमा जन्मी, हुर्की त्यहीँबाट एसएलसी उत्तीर्ण गरेपछि अध्ययनका लागि सेन्ट जोसेफ स्कुल दार्जिलिङ गएका थिए । त्यहाँ नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन शङ्कर पनि जाने गर्थे । यस्तै साहित्यिक कार्यक्रममा वानीरा गिरीसँग देखादेख भएको थियो । २०२२ सालमा स्नातकोत्तर अध्ययन गर्न आएपछि २०२३ सालमा इन्जिनियर शङ्करका आफन्तजनले उनीसँग भेटघाट गराई विवाह गराइदिएका थिए । यी दम्पतीबाट एक छोरी अपराजिता र एक छोरा अपूर्व छन् । 

विवाहपछि पनि निरन्तर साहित्य सिर्जनामा लागेकी वानीराले नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरिन् । अनि त्रिविमा स्थायी उपप्राध्यापक भई प्राध्यापन पेसामा आबद्ध भइन् । शिक्षण पेसामा लागेकाले उनले शिक्षा शास्त्रमा स्नातकोत्तर पनि गरिन् । पछि उनले पीएचडीसमेत गरिन् । नेपाली साहित्यमा पीएचडी गर्ने उनी प्रथम नारी हुन् । 

लेखन व्यवस्थापन अनुकरणीय

उनको लेखन व्यवस्थापन अनुकरणीय थियो भन्छन् शङ्कर गिरी । कुनै सिर्जना वा लेखरचना तयार गरेपछि एउटा आफैँ राख्ने, अर्को प्रकाशकलाई दिने गर्थिन् । यसले उनका सङ्कलित रचना प्रकाशन गर्न शङ्करलाई धेरै सहज भयो । 

“उनी धेरै भाग्यमानी थिइन्,” शङ्कर गिरी भन्छन्, “गद्यमा लेखे पनि, कवितामा लेखे पनि उनका सबै सिर्जना चर्चित भए । तर कवितामा नै मेरो पहिलो प्रेम छ भन्थिन् । यिनै सिर्जनाले देशविदेश पनि घुमिन् ।” २०३३ सालमा वानीराले रुसमा भएको अफ्रोएसियाली युवा लेखक सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरिन् । उक्त सम्मेलनमा भाग लिने उनी पहिलो नेपाली नारी प्राज्ञ थिइन् । योभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए । जति देशहरू घुमिन्, उनले आफ्नो देशको शाखलाई उचो बनाउने काम गरिन् ।

रचना प्रकाशनका हिसाबले हेर्दा सबभन्दा पहिले आफ्नै खर्चमा छोराका नाममा एउटा ‘जङ्गबहादुर’ कविता सङ्ग्रह प्रकाशन गरेकी थिइन् । त्यसपछि उनको पहिलो उपन्यास ‘कारागार’ (२०३५) साझा प्रकाशनले प्रकाशित गरेपछि चर्चाको शिखरमा पुगिन् । त्यसपछि उनले ‘निर्बन्ध’ अर्को उपन्यास प्रकाशन गरिन् । त्यो पनि साझाले नै प्रकाशित गरिदियो । पछि ‘जीवन थाया मोरु’ कविता सङ्ग्रह, ‘माई डिस्कभरी’ लामो कविता लेखिन् र आफैँले प्रकाशन गरिन् । उनका तीनवटा उपन्यास, चारवटा कविता सङ्ग्रह, दुईवटा निबन्ध सङ्ग्रह, एउटा यात्रा संस्मरण प्रकाशित छन् । उनका कविता हिन्दी, अङ्ग्रेजी, उर्दु, जापानीलगायत थुप्रै भाषामा अनुवाद गरिएका छन् । यी कृतिबाट उनले धेरै राम्रो सम्मान पाएकी छिन् ।

‘नारी साहित्यकारमा उनी शीर्षस्थ साहित्यकार भएको, पहिलो पल्ट आफूले वानीरालाई भेट्दा एदम जाग्रात, सहासी, अन्याय नगर्ने र नसहने किसिमको व्यवहार उनमा थियो,’ भन्छिन् वानीरा फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईं । साहित्यकार भनेको साहित्यकारै हो । त्यसैले, नारी साहित्यकार भनेर सम्बोधन गरेको मन पराउनु हुन्नथ्यो ।

वानीरालाई सम्मान

नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी स्रष्टा वानीरा गिरीको दक्षता र क्षमतालाई सम्मान गर्दै विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाले पुरस्कृत तथा सम्मान गरेका छन् । उनी प्रबल गोरखा दक्षिणबाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएकी छिन् । 

उनलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ मा रथारोहण गराएका थिए । सो क्रममा उनलाई पाँच लाख रुपियाँसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’ र उनकै उचाइ बराबरको ताम्रपत्रसमेत समर्पण गरी सम्मान गरिएको थियो । 

विडम्वना गिरीलाई २०१९ डिसेम्बरबाट सुरु भएको कोरोना महामारीले छोडेन । हुन त योभन्दा केही समयअघिदेखि उनलाई विर्सिने रोग लागिसकेको बताउँछन् शङ्कर । उनी भन्छन्, “वानीरा लामो समयदेखि मधुमेहको औषधि सेवन गर्थिन् । २०७३ सालबाट उनलाई विस्मृतिजन्य रोग (डिमेन्सिया) पनि सुरु भयो । त्यसपछिको दुई वर्षदेखि नै अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् ।” उक्त समयमा पति शङ्कर निरन्तर सेवामा जुटिरहे । यसै क्रममा २०७८ जेठमा उनलाई कोरोना सङ्क्रमण भयो । यही सङ्क्रमणले करिब ३ सातापछि उनी जेठ ९ गते राति १० बजे निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार गर्दागर्दै धर्तीबाट सदाका लागि बिदा भइन् ।

वानीरा गिरी फाउन्डेसनको स्थापना

वानीरा बिरामी भएपछि नेपाली साहित्यमा तरंग ल्याउने उनका साहित्यिक कृति, सम्मानपत्र, निजी पुस्तकालयलाई अब के गर्ने भन्ने चिन्ताले शङ्करलाई सतायो । उनका कीर्ति र कृतित्वलाई थप अमर बनाउन उनकै योजना र चाहनामा विसं २०७६ मा वानीरा फाउन्डेसनको स्थापना गरे । वानीरा फाउन्डेसनका लागि भवन तथा उक्त भवनभित्र वानीरा सङ्ग्रहालय, वानीरा सभाकक्ष र फाउन्डेसनको कार्यालय रहेको छ । अब उनका कृति र कीर्ति दुवै संरक्षित भएका छन् । यो कार्य श्रीमतीप्रति गिरीले दिएको श्रद्धाको उपहार हो, जसले नेपाली साहित्य सिर्जनामा नयाँ स्रष्टाहरुलाई प्रेरणा र प्रोत्साहन दिइरहने छ । 

पूर्ण कदको सालिक र पुरस्कार स्थापना

साहित्यकार डा. वानीरा गिरीका श्रीमान् शङ्कर गिरीले वानीराका कृति, पुरस्कारहरू सुरक्षित मात्र गरेनन्, काठमाडौंको मीनभवनमा पूर्ण कदको सालिकसमेत निर्माण गरे । सो सालिकको हालै एक कार्यक्रममार्फत समालोचक प्राडा वासुदेव त्रिपाठीले वानीराको पूर्ण कदको प्रतिमासँगै वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गरे । 

वानीराको स्मृति कार्यक्रममा फाउन्डेसनले यही जेठ ९ गते पुरस्कार पनि वितरण गरेको छ । सो क्रममा कालीप्रसाद रिजाललाई एक लाख रुपियाँ राशिसहित वानीरा प्रज्ञा पुरस्कार, उषा शेरचनलाई पचास हजार रुपियाँ राशिसहित वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई पच्चीस हजार रुपियाँ राशिसहित वानीरा कला पुरस्कार हस्तान्तरण गरियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।