शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
निबन्ध

जीवनको तयारीमा मृत्यु !

शनिबार, २१ जेठ २०७९, १२ : ०२
शनिबार, २१ जेठ २०७९

अन्ततः हामी सबै बाँच्ने तयारी गर्दागर्दै मर्दा रहेछौँ । फेरि हाम्रो तयारी कहिल्यै  पुरा हुँदो रहेनछ । तयारीका अनेकौँ क्रम उपक्रमहरूको फेहरिस्तमा जाँदो रहेछ मानव मन । तयारी तयारीमा व्यस्त हुँदाहुँदै जाने घडी आउँदो रहेछ, त्यसको अलिकति पनि ज्ञान भए मान्छे अर्कै किसिमले बाँच्थ्यो होला जीवन । आसन्न  मृत्युको थोरै  भए पनि बोध भए आनन्दको पललाई तत्क्षण् भोग्थ्यो होला । आजै भोग्ने सुखलाई भोलिको निम्ति थाँती राख्दैनथ्यो होला । आजै लिनुपर्ने आनन्दलाई भविष्यको निम्ति साँची बस्तैनथ्यो होला ।

हामी दुःख जति आज भोग्न तयार छौँ । सुख र आनन्द भविष्यलाई चाहिन्छ भनी साँचेर राख्छौँ । साँचेको खुसी ओठमा पोत्न नपाई  मृत्युशैयामा लम्पसार बन्छौँ । एकजना साथी थिए मेरा, त्यो बेला उनी र म एउटै पाठशालामा पढाउँथ्यौँ । हामी रहेको त्यस ठाउँमा दामी दामी काठ पाइन्थ्यो । उनी झापादेखि जागिर खान उदयपुर आएका थिए । त्यहाँ रहुन्जेल उनले घरका लागि काठका अनेकौँ मालताल निर्माण गराए । महँगा महँगा पलङसेट निर्माण गरे । सोकेश बनाए, आलमारी बनाए । कुर्सी, टेबुल बनाए । हेर्दै लोभलाग्दा ती सामग्री उनले त्यहाँ रहुन्जेल एक दिन पनि उपभोग गरेनन् ।  थोत्रे खाटमा सुत्थे आफू, दामी पलङ फोल्ड गरेर राखेका हुन्थे ।

“पलङ चाहिँ फोल्ड गरेर कुनामा थन्क्याउनु हुन्छ, अनि थोत्रे खाटमा सुत्नुहुन्छ, यो के चाला हो तपाईंको ? ओछयाउनुस् न, सुत्नुहोस् नयाँ पलङमा, ” मेरो  सुझावमा उनी भन्थे, “तपाईंलाई थाहै छैन मित्र ! यो पलङ यस्तो नाथे थोत्रे डेरामा राख्न बनाएको हुँ र ? निकट भविष्यमै झापामा पक्की घर ठडिने छ । त्यही घरको शानदार  कोठामा यसलाई विछ्याउने छु । अनि पो आनन्दले सुत्ने हो । अहिले अर्काको घरमा नयाँ पलङमा के सुतिराख्नु ?” 

त्यो घडी उनको सुनौलो योजना मलाई पनि मनासिवै लागेको थियो । उनले पटक पटक गरी थुप्रै काठे मालताल झापा ओसारे । हुँदा हुँदा पलङ बनाउँदा निस्केको काठको धुलोसमेत बोरामा प्याक गरी झापा पुर्‍याए । हलोको अनौ, हरिसदेखि ठेकी मदानी कति हो कति चिज झापा पुर्‍याए । उनको बाँच्ने तयारी देख्ता मजस्तो फुंगाले फकिर चरित्रको मान्छेलाई अनौठो लाग्थ्यो ।

ती फर्निचरप्रेमी शिक्षकको एक दिन पढाउँदा पढाउँदै अचानक पेट दुख्न थाल्यो । जँचाउन काठमाडांै गए । तर पेटमा कहिले कहिले क्यान्सर भैसकेको रहेछ । तुरुन्तै शल्यक्रिया गरियो । तर उनी बाँच्न सकेनन् । उनले भोलिको सुखको लागि जोडेका पलङ, दराज सबका सब चिज उनका लागि व्यर्थ बने । काम त दियो होला, स्वास्नी छोराछोरी र परिवारजनको निम्ति । तर उनकै लागि त्यसको कुनै काम भएन । 

सम्झिन्छु, ओहो ! उनमा जिजिविषाको कति ठूलो परिताप  सघन थियो । जेमा पनि लोभ गर्नुपर्ने, जे चिजपनि साँच्नु पर्ने, जे चिज पनि घरमै पुर्याउनु पर्ने । यही दौडधुपमा उनले कुनै दिन शान्तिका साथ सास फेरेनन्, सन्तोषको अनुभूति सँगालेनन् । अहोरात्र तृष्णाको तड्पनमा केही जोडिरहेका हुन्थे, केही थुपारिरहेका हुन्थे । यी सबै कुराको पछि बाँच्ने वासनाको लालसा यति तीव्र थियो कि त्यसको तयारीमा उनी चौबीसै घण्टा अन्फनाइरहेका हुन्थे । तर नियतिले उनैलाई लामो समय बाँच्न दिएन । कति विरोधभासपूर्ण छ मृत्युको नियम ।

...

अर्का एक मित्रले हालसालै जस्तो एक राम्रो घर बनाए । पहिले टिनको छाप्रे घरमा बस्थे, सामान्य अवस्थाका ती मित्र । राजनीतिको सघन उपस्थितिले सम्मानको उच्चाइ टेक्दै गए । उनलाई लाग्यो– अब यो छाप्रो घरले मेरो इज्जत धान्न सक्दैन । मेरो नामलाई अब यस घरले शोभा दिन सक्दैन । फलस्वरुप गतिलै घर बनाए । महँगा फर्निचर र डेकोरेसनले सुसज्जित गरे । त्यस घरमा सरेको केही समयमा नै मोटरसाइकल दुर्घटनामा संसारबाट बिदा लिए । उनीपनि सुखपूर्ण जीवनको तयारीकै क्रममा थिए । तयारी नै गर्दा गर्दै अनायास देह छोडेर हिँड्नुपर्यो ।

एकजना मसित औधि मिल्ने किराँती साथी थिए । उनलाई धन कमाउनुको कुनै ठूलो इच्छा थिएन । उनीभित्र एउटै आकाँक्षा जब्बरसित गडिएर रहेको थियो, डवल डिग्री, ट्रिवल डिग्री हासिल गर्ने, देशको इनेगिने विद्वान बन्ने । किराँत जातिमा एक गन्तिको बुद्धिजीवी बन्ने उनको चाहना थियो । चाहना बमोजिम नै उनले डवल विषयमा मास्टर्स डिग्री लिइसकेका थिए । कानुनमा बीएल पनि गर्दै थिए । क्याम्पसमा पढाउन थालेर आफ्नो विद्वताको आभा पनि फैल्याउन थालेका थिए । एक दिन घाममा सुकाएका लुगा टिप्न छतमा चढेछन् । लुगा उठाउन प्रयोग गरेको फलामको छडले छतमाथि टाँगिएको चारसय चालीस भोल्टको विद्युतको नांगो तारलाई छोएछ । अइया पनि भन्न नपाइ ठाउँको ठाउँ करेन्ट लागेर मरे । उनी डिग्रीमाथि डिग्री लिने ध्याउन्नमा थिए । ती लिएका सर्टीफिकेट सब ब्यर्थ बने । मृत्युले गाँजेपछि धन, पद, पैसा, प्रमाणपत्र जस्ता सबै सबैै चिजलाई खरानीतुल्य बनाउँदो रहेछ ।

एकजना मानिस विदेशमा कुस्त कमाएर गाउँ फक्र्यो । हिजो केही थिएन । तर आज खेत जोड्यो, घर बनायो । हुन पनि आठ दस वर्ष विदेश बस्यो । त्यहाँ मरिकुच्चे पसिना बगायो । प्रतिफलस्वरुप राम्रै घरजम बसायो । बालबच्चा परिवारसित धेरै वर्ष विछोडिएर कमाएको थियो । उसलाई आफन्तहरुले भने– अब देशमै बस । आफ्नो जीवनलाई पुग्ने कमायौ । जहान छोराछारीसित धेरै साल विछोड भयो । परिवार बालबच्चालाई अब तिम्रो खाँचो छ । बालबच्चासित ढुक्कले बस ।

सुरुमा त उसले हुन्छ जान्न, तपाईंहरुले भन्नु भएको कुरा ठिक हो भन्थ्यो । तर केही समयपछि भेट्ता विदेश जाने चक्करमा कुदिराखेको पाएँ । सोधेँ– तिमीलाई अझै धनले पुगेन ? किन फेरि विदेशकै चक्करमा पागल भएका छौं ?

उसले भन्यो– मलाई त पुग्यो । यी दुई आमा छोराको लागि अझै केही जोडिदिनु  पर्यो । ऊ फेरि विदेश उड्यो । तर छ महिनापछि बाक्सामा लाश बनेर फिर्ता भयो । ऊसित पछिल्लो समय भएको संवाद सम्झेँ । खुट्का लागिरह्यो । उसले आफ्नो मृत्यु देखेको भए, किन मरिहत्ते गरेर जान्थ्यो होला र ? आफ्नो लागि सम्पत्ति कमाएर आफ्नो तयारी पूरा गरेको तर बालबच्चाको भविष्य तयारी गरिदिन ऊ त्यता लागेको थियो । आफ्नो लागि मात्र होइन, अरुको जीवनको सुव्यवस्थाको लागि, अरुको जीवनको तयारीको लागि मान्छे अनाहक मृत्यु भोग्दो रहेछ । 

तत्काल तत्क्षणको जीवनप्रति बेवास्ता गर्छौं हामी । भोलिको खुशीमा रमाउन भोलिको आनन्दमा डुब्ने कल्पनामा आजलाई अनाहकमा बलिदान गर्छौं । वर्तमान  क्षणको यो बलिदान निकै चर्को मूल्यमा व्यय गर्नु पर्दोरहेछ । तत्क्षणको जीवन तत्क्षण नै भरपूर आनन्दमा जिउन कञ्जुस छौँ । भोलिको थोक आनन्द भोग्ने अभिलाषामा आजको क्षणमा भोग्नुपर्ने खुसी कटौती गरेर अगाडि बढ्दा रहेछौँ ।

हामी आजलाई आजकै दिन मस्ती उमङ्गमा जिउनु पर्नेमा त्यसलाई भोलिको लागि साँच्छौ, पर्सिको लागि थाँती राख्छौं, भविष्यको लागि सञ्चित गर्छाै । तर सञ्चित खुसी भोग्न नपाई पछाडिबाट लुकेर कालले कटारी धसिरहेछ मानव पिठ्यूँमा । त्यो कालकटारीको आजै चेतना भएदेखि कति जाति हुने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप