आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा पदयात्राका लागि नयाँ गन्तव्यको खोजी, २० सदस्यीय टोली प्रस्थान

शनिबार, २१ जेठ २०७९, ११ : ०५
शनिबार, २१ जेठ २०७९

विश्वकै उत्कृष्ट १० मा परेको अन्नपूर्ण चक्रीय मार्गमा कुनै बेला स्वदेशी तथा विदेशी पर्यटकको लर्को हुन्थ्यो । लमजुङको बेसीसहरबाट सुरु भएर म्याग्दीको बेनीमा अन्त्य हुने यो पदमार्ग २१ दिनको थियो । अहिले अन्नपूर्ण चक्रीय पदमार्गमा मोटर गुड्न थालेसँगै २१ दिनको पदयात्रा अवधि घटेर ७ दिनमा झरेको थियो भने पछिल्लो समय त्यो अवधि पनि घटेर ४ दिनमा आइपुगेको छ ।

पदयात्रा अवधि घटेर ४ दिनमा आइपुग्दा यो पदमार्गमा व्यवसाय गरेर बसेका कयौं व्यवसायी विस्थापित भएका छन् । पथप्रदर्शक तथा पर्यटक भरियाहरुले अर्कै विकल्प खोज्नु परेको छ । यसैगरी कास्कीको रोयट ट्रेक अहिले सम्झनामा मात्रै सीमित भएको छ । साथै मुस्ताङ पद यात्रालाई पनि यातायातको सुविधाले विस्थापित गरिदिएको छ ।

गण्डकीको पर्यटनमा योगदान पुर्याएको ठानिएका महत्वपूर्ण पदयात्रा मार्गहरु मासिएपछि यहाँका पर्यटनकर्मी अहिले नयाँ पदमार्गको खोजीमा जुटेका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिको पहलमा पथप्रदर्शकहरु कास्कीको घाचोकदेखि सेती नदीको मुहान ‘तिनसिर’ सम्मको नयाँ पदयात्रा मार्ग पहिल्याउन लागेका हुन् ।

विश्वमै पहिलो पटक आरोहण गरिएको ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारेर उनीहरु यो पत्रयात्रा मार्गको खोजीमा निस्किएका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मा पर्ने यो क्षेत्र पहिले धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको र पछिल्लो क्रममा धार्मिक गतिविधि हुन छोडेको नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त शर्माले बताए ।

पुराना र चल्तीका पदमार्गहरु मासिँदै गएका कारण नयाँ गन्तव्यको खोजी गर्नुपरेको उनको तर्क छ । पहिले पहिले कास्कीको माछापुच्छ्रे क्षेत्रका बासिन्दाहरु तिनसिरमा विशेष पर्वका अवसरमा स्नान गर्न जान्थे । लेक लागेर मानिसको मृत्यु हुन थालेपछि तिनसिरमा मानिसहरु जान छोडे ।

पदयात्री राम गुरुङका अनुसार मानिसलाई स्वर्गको अनुभुति दिलाउने कुनै ठाउँ हुन्छ भने त्यो तिनसिर नै हो । तिनसिरमा पुगेपछि स्वर्गको अनुभुति हुने उनको दाबी छ । तिनसिरको यात्रा अनुभव भएका थोरैमात्र मानिस छन् ।

कास्कीको घाचोकस्थित टुसे गाउँबाट सुरु हुने यात्रा खुमाई डाँडा, कोर्चेन, नाउजेखर्क, रानीखर्क हुँदै तिनसिरमा पुग्छ भने फर्कने क्रममा पिपरखर्क, करुवा सार्दीखोला, पुरुञ्चौर हुँदै पोखराको रुट अनुमान गरिएको छ ।

धेरै वर्षदेखि मानिसहरु जान छोडेका कारण यो रुट पत्ता लगाउन निकै जोखिमपूर्ण रहेको नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव सुदीप गौतम बताउँछन् । उनका अनुसार कतिपय ठाउँमा डोरी र हार्नेसको सहायतामा पनि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ पदयात्री रहेकाले उनीहरु नफर्केसम्म यो ठाउँ र यात्राका बारेमा रहस्य नै रहने उनले बताए ।

नयाँ पदयात्रा मार्ग पहिल्याउन जाने २० जनाको टोलीलाई बिदाई गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अहिले पत्ता लागेको पदयात्रामा फेरि डोजर लगाएर मास्ने काम नहुने विश्वास व्यक्त गरे । अहिले पत्ता लगाइएको पदमार्ग अन्नपूर्ण चक्रीय पदमार्ग जस्तै विश्वमै उत्कृष्ट हुने विश्वास व्यक्त गर्दै उनले विकासमा रहेका विरोधाभाषहरु हटाउनुपर्ने बताए ।

तिनसिरलाई मुलरुपमा सेती नदीको मुहानको रुपमा चिनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीका अनुसार तिनसिरबाट तीनवटा नदीहरु निस्किन्छन् । तीमध्ये एउटा सेतीमा, एउटा कालीमा र अर्को मोदीमा गएर मिसिन्छ ।

तिनसिरसम्बन्धी पौराणिक कहानी पनि छ । भगवान शिवको शीरमा रहेकी गंगाले पृथ्वीमा झर्ने ईच्छा गरिन् । तर पृथ्वीले गंगाको बेग सहन नसक्ने बताएपछि भगवान शिवजीले आफ्ना जटा सो ठाउँमा फिँजाइदिएर गंगाले पृथ्वीमा अवतरण गरेको कहानी पुराणहरुमा उल्लेख छ ।

सोही कारण पनि यो गन्तव्य पदयात्री तथा धार्मिक पर्यटकका लागि महत्वपूर्ण रहेको नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन बताउँछन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई नयाँ पदयात्र मार्गको खोजीले यस क्षेत्रको पर्यटन अन्य क्षेत्रमा मोडिनबाट जोगिन सक्ने बताउँछन् ।

नेपालको सन्दर्भमा अबको पर्यटनको विकास भनेको पदयात्रा र आरोहण नै रहेको उनको जिकिर छ ।

गण्डकी प्रदेशमा अहिले चल्तीको पदमार्ग भनेको मर्दी हिमालमात्रै हो । केही वर्ष अघि पत्ता लागेको धौलागिरी आईसफलतर्फ पर्यटकहरु आकर्षित भएको पाईंदैन । तर यो भने धेरै साहसिक र नयाँ गन्तव्य हो । पोखराबाट नजिकै भएका कारण धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु मर्दी हिमालतर्फ नै पदयात्रा गर्न रुचाउँछन् ।

तिनसिर गन्तव्य पत्ता लागेर त्यसको प्रवर्द्धन भएमा गण्डकीमा आउने आन्तरिक तथा वाह्य पर्यटकले नयाँ गन्तव्यको स्वाद पाउने यस क्षेत्रका पर्यटन व्यवसायी तथा पर्यटनकर्मीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप