आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठ गम्भीर घाइते

शनिबार, २१ जेठ २०७९, ०६ : १५
शनिबार, २१ जेठ २०७९

मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दै आएका छन् । 

स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि  हेलिकोप्टरमार्फत न्युरो अस्पताल बाँसबारी लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए । उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन् ।

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका जिल्ला अध्यक्ष ललित राईका अनुसार श्रेष्ठको अवस्था चिन्ताजनक छ । मोटरसाइकल दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप