बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीको नाम परिवर्तन

शुक्रबार, २० जेठ २०७९, २१ : १९
शुक्रबार, २० जेठ २०७९

टर्कीले आफ्नो नाम बदलेर तुर्किए राखेको छ । संयुक्त राष्ट्रसंघले सो मुलुकको नाम परिवर्तनको अनुरोध स्वीकार गरेपछि अब उसको औपचारिक नाम तुर्किए हुनेछ ।  यो कदम चाल्नुको मुख्य कारण ‘टर्की’ नाम एक प्रजातिको चरासँग जोडिने र अंग्रेजीमा टर्कीको अर्थ पनि त्यति राम्रो नहुनु रहेको बताइएको छ । 

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको गत वर्षदेखि नै देशको नाम रिब्रान्डिङ अभियान सुरु गरेका थिए ।  सन् १९२३ मा अटोमन साम्राज्य टुक्रिएपछि बचेको वर्तमान टर्कीले उसको नाम तुर्किए नै राखेको थियो । देशभित्र अहिले पनि धेरैले आफ्नो देशलाई तुर्किए शब्द प्रयोग गर्ने गर्छन् । 

विदेशतिर मात्र टर्की भनेर पुकारिन्छ । वर्तमान सरकारले अहिले विदेशमा पनि तुर्किए नाम नै रिब्राण्डिङ गर्न खोजेको हो । रिब्रान्डिङ योजनाअन्तर्गत राष्ट्रपतिले सन् २०२१ डिसेम्बरमै देशबाट निकासी हुने वस्तुहरूमा ‘मेड इन तुर्किए’ लेख्न आग्रह गरेका थिए । त्यसबाहेक यो वर्षको सुरुदेखि विश्वमा टर्कीको पर्यटनसम्बन्धी विज्ञापनमा ‘हेलो तुर्किए’ लेख्न थालेको थियो । 

देशको अंग्रेजी भाषाको सरकारी प्रसारण संस्था टीआरटी वल्र्डले पनि तुर्किए प्रयोग गर्न थालेको छ । यो वर्षको सुरुमा एक आलेख लेख्दै टीआरटी वर्ल्डले नाम परिवर्तन पछाडिको कारण लेखेको थियो, ‘तपाईले टर्की नाम राखेर गुगल गर्नुस् मेलिग्रिस नामको चरा देखाउँछ,  जसलाई धेरैले टर्की भन्छन् । उत्तर अमेरिकाको रैथाने यो चरा अमेरिकाभर थ्याङ्स गिभिङ चाडमा पकाएर खाइन्छ । र अंग्रेजी शब्दकोषमा टर्कीको अर्थ ‘नराम्ररी हार्नु’ वा ‘मुर्ख मानिस’ लेखिएको छ । र टर्किस आफूलाई तुर्किए भनेर चिनिन चाहन्छन् । आफूलाई के भनेर बोलाइयोस् भन्ने कुरा देशले निर्धारण गर्ने कुरा हो ।’

टर्कीका राष्ट्रपति एर्दोआनले वर्षौंदेखि ‘चराको नामसँग मिल्ने टर्की भनेर देशलाई बोलाउनुको साटो तुर्किए नामले बोलाएमा देशको राम्रो प्रतिनिधित्व हुने’ बताउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप