मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुनु : निर्वाचन आयोग

शुक्रबार, २० जेठ २०७९, २० : ५४
शुक्रबार, २० जेठ २०७९

निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई निर्वाचनलाई प्रभाव पार्ने गरी प्रशिक्षण, गोष्ठी आयोजना नगर्न र नगराउन सरकार, प्रदेश सरकार, राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गरेको हो । 

जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । हाल निर्वाचन सुरु भइसकेपछि कानुनमा उल्लिखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने र बीचमा रोक्न नमिल्ने भएकाले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि यस्ता कार्यक्रम नगर्न भनिएको हो । 

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशका, २०७८ को दफल (४) बमोजिम गाउँ कार्यपालिका सदस्य र नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । सो पश्चात् हुने जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका, २०७८ को दफा (५) बमोजिमको अवधिभित्र निर्वाचन गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन गरिसकिएको  आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप