बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जिसस निर्वाचन : कार्यक्षेत्र नछाड्न जनप्रतिनिधिहरूलाई आयोगको आग्रह

शुक्रबार, २० जेठ २०७९, २० : ०८
शुक्रबार, २० जेठ २०७९

निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गरेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका हुन् । आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि बीचमा रोक्न नमिल्ने भएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्न/नगराउन तीनै तहका सरकार, राजनीतिक दल र अन्य सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगबाट निर्देशन गरिसकिएको पनि विज्ञप्तिमा जनाइएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहका निर्वाचनको परिणाम घोषणा भइसकेपछि देशभर गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ । बुढीगंगा गाउँपालिकामा भने पुन: निर्वाचन गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप