बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा पेस

शुक्रबार, २० जेठ २०७९, १४ : ४२
शुक्रबार, २० जेठ २०७९

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । शुक्रवार बसेको राष्ट्रियसभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको हो । 

देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् । जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिको विरुद्धमा मूल्यवृद्धि गरेको आरोप लगाए । 

उनले मूल्यवृद्धिले गर्दा गरिब, सीमान्तकृत, कमजोर, आयश्रोत भएका वर्ग, विद्यार्थी लगायत आम जनताको दैनिक जनजीवनमा पार्ने असरबारे अर्थशास्त्रीय दृष्टिकोणबाट गरिएको बहुआयामिक प्रभावसहितको विश्लेषणात्मक प्रतिवेदन माग गरे । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गठबन्धन सरकारले जनतालाई फलफूल, तरकारीमा पनि मूल्यवृद्धिको उपहार दिएको बताए । जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले नेपाली जनताको आर्थिकस्तरले धान्नै नसक्नेगरी मूल्यवृद्धि गरेको बताए । उनले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै संविधानले दिएको सम्मानजनक बाच्न पाउने अधिकारसमेतलाई छिनेको बताए ।

त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रियसभा सदस्य विमला घिमिरेले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्यमाथि वर्तमान सरकार गैरजिम्मेवार भएको आरोप लगाए । जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रुपमा मात्र लिएको जस्तो अनुभुति हुन थालेको बताए ।

राष्ट्रियसभा सदस्य देवकोटाले पेट्रोलियम पदार्थ आधारभूत आवश्यकताको वस्तु भएकोले मूल्य निर्धारणमा फरक सिद्धान्त अवलम्वन गर्नुपर्ने बताए । राष्ट्रियसभाको बैठकमा अहिले जरुरी सर्वाजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले छलफल गरेका छन् । राष्ट्रिय सभाको बैठक आजै दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप