बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक’

मुस्ताङमा विमान दुर्घटनाबारे विज्ञको टिप्पणी– प्रतिकुल मौसमलाई म्यानेज गर्न नसक्दा दुर्घटना
शुक्रबार, २० जेठ २०७९, १४ : ३०
शुक्रबार, २० जेठ २०७९

जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको ‘नाइन एनएईटी’ ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा सो विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । दुर्घटनामा निधन भएकाहरुको शव पोस्टमार्टम गरेर बिहीबार परिवारलाई जिम्मा लगाइएको छ ।

घटना अझै सेलाएको छैन । हरेक नेपाली शोकमग्न र त्रसित छन् । अहिले नेपालमा रहेको प्रि–मनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर्जना भएको छ । लगभग अबको दुई महिना नेपालमा प्रि–मनसुन रहनाले हवाई यात्रामा कठिन हुने निश्चित छ ।

त्यसो त नेपालको मौसम अन्य सिजनमा पनि फरक फरक हुनसक्छ । नेपाल हिमाल, पहाड र तराईका क्षेत्रमा बाँडिएकाले पनि मौसम यस्तै भइहाल्छ भन्न सकिहाल्ने अवस्था छैन । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटना आलो र प्रतिकात्मक दुर्घटना हो । यसअघि पनि धेरै विमान प्रतिकुल मौसमका कारण दुर्घटना भएका छन् । यद्यपि जोमसोमका लागि उडेको तारा एयरको विमान प्रतिकुल मौसमका कारण नै दुर्घटना भएको हो भन्ने अनुमानमात्रै छ, यो अनुसन्धानपछि आएको आधिकारिक जानकारी भने होइन ।

सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाएको छ । अबको केही दिनमै छानबिन समितिले यसबारेमा जानकारी गराउने छ । जोमसोम उडान भरेको तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरुले विभिन्न तर्कहरु अघि सारेका छन् । कसैले खराब मौसम त कसैले पुरानो विमानलाई दुर्घटनाको कारण पहिल्याएका छन् ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने बताउँछन् । उनले विमान पुरानो अर्थात् उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने बताए ।

उनले भने, ‘नेपाल सरकारले यो दुर्घटना भएपश्चात् नलेजेवल टिम जाँचबुझका लागि बनाएको छ । वस्तुगत रुपमा यसको निचोड त कमिटीले दिने नै छ । एयरक्राफ्ट बुढो भन्ने कुरो त्यति सान्दर्भिक कुरा हुँदैन । यो अभिव्यक्ति दिने आधिकारिक व्यक्तिले यसमा अलि ध्यान दिनुभएको भए यसो भन्नुहुँदैन थियो ।’

पुरानो एयरक्राफ्ट भएर दुर्घटना हुने भन्ने नहुने उनले प्रस्ट पारे । ‘नर्मल्ली एयरक्राफ्टको हरेक कम्पनीको लाईफ दुई किसिमबाट हेर्ने गरिन्छ । एउटा सर्भिस र अर्को क्यालेण्डर लाईफ । उदाहरणका लागिः कुनै कम्पनीको लाईफ दुईसय घण्टा छ भने त्यो समय सकिएपछि विमान चल्दैन,’ उनले भने, ‘हामीसँग धेरै क्वालिफायर अन्तर्राष्ट्रिय स्तरका इन्जिनियरहरु छन् । उहाँहरुले क्याटोगोराइज हिसावले मेन्टन गरेको हुन्छ । त्यसका रेकर्डहरु अपडेट गरेको हुन्छ ।’

पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उनको भनाइ छ । जोमसोम उडान गरेको विमानमा क्याप्टेन (स्व. प्रभाकर घिमिरे) स्वयं नै स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टको विज्ञ रहेको थापाको भनाइ छ । उनले नेपालमा स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ स्व. पाइलट घिमिरेसरहको कमै भएको बताए ।

मौसम पूर्वानुमान महाशाखा र विमानस्थल टावरले मौसमसम्बन्धी पूर्ण रिपोर्ट दिएको तर बीचमा अचानक आएको प्रतिकुल मौसमलाई तालमेल गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने थापाको भनाइ छ ।

‘सेफ्टीमा हामी कम्प्रोमाइज गर्दैनौँ । सेफ्टी हाम्रो परमकर्तव्य हो । त्यसमा कम्प्रोमाइज गरेपछि एभिएशन अपरेटर पनि रहेन । त्यो पाइलट पनि रहेन । जोमसोम उडेको घटना भन्ने हो भने क्याप्टेन प्रभाकर घिमिरे त्यो स्टल एयरफिल्ड र स्टल एयरक्राफ्टमा विज्ञ नै हो । उहाँ जत्तिको विज्ञ सायदै छन्,’ उनले भने ।

अध्यक्ष थापाले नेपालको मौसम बुझ्न सक्दा सम्पत्ति र बुझ्न नसक्दा समस्या हुने किसिमको रहेको बताए । उनले स्व. क्याप्टेन घिमिरेले इनरुटमा अचानक आएको प्रतिकुल मौसमको अवस्थालाई म्यानेज गर्न नसक्दा यो दुर्घटना भएको हुनसक्ने बताए ।

पाइलटले खराब मौसममा नपसेर नजिक रहेको पोखरा फर्किने वा वागलुङको विमानस्थलमा जाने प्रक्रिया चाल्न सकेको भए दुर्घटनाबाट बच्नसकिने अवस्था रहने उनको भनाइ छ । स्व. पाइलट घिमिरे तारा एयरको सेफ्टी डाइरेक्टरसमेत रहेको उल्लेख गर्दै थापाले जुनकुनै विमानको पाइलटले उडान भर्ने वा नभर्ने, क्लाउडमा पस्ने नपस्ने, इनरुट परिवर्तन गरेर क्लाउड क्षेत्र (बादलले घेरेको) पार गर्ने वा मौसम अनुकुल नभए उडान भर्दिन भन्ने अधिकारसमेत पाइलटकै हातमा रहेको बताए ।

विश्वका घटनाहरु हेर्दा पनि मात्र ८ वर्ष पुराना एयरक्राफ्ट समेत ४० प्रतिशत दुर्घटना हुने गरेको तथ्याङ्क रहेको बताए । उडान भरिसकेपछिका समस्यालाई अनुभवको आधारमै समाधान गर्नुपर्ने भन्दै उनले हरेक विमानको आफ्नै लाईफ हुने र तोकेको समयपछि विमान चल्न नसक्ने प्रस्ट पारे ।

थापाले पहिला मनसुनको बारेमा नागरिक उड्डयन प्राधिकरणको पहलमा धेरै जानकारी र अपडेटहरु आउने गरे पनि त्यो क्रमशः कम हुँदै गएको बताए । उनले एयर ट्राफिक कन्ट्रोलर र पाइलटहरुको बीचमा मौसमको बारेमा जानकारीको कमी हुनु पनि दुर्घटनाको माध्यम बन्न सक्नेतर्फ सचेत गराए ।

अध्यक्ष थापाले हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय वैज्ञानिक नभएको तर्क गरे । उनले हेलिकोप्टरमा एउटा मात्रै इन्जिन हुने र सानो ठाउँ हुनाले त्यो प्रभावकारी नहुने बताए ।

‘हेलिकोप्टर जति अल्टिच्युट माथि भयो, त्यति नै त्यसको क्षमता घट्दै जान्छ । हेलकोप्टर संसारको सबैभन्दा सुरक्षित ट्रान्सपोटेशनमा पर्छ । हाम्रोजस्तो देशमा झनै बढी चाहिन्छ,’ उनले भने, ‘सिङ्गल इन्जिन डबल पाइट बनाउने भन्ने सोच कुनै पनि हिसावमा वैज्ञानिक पनि छैन र सहज पनि । स्थान साँघुरो हुन्छ, जसका कारण हेलिकोप्टर अनियन्त्रित हुनसक्छ । एउटा पाइलटले गरेको टचमा अर्कोको टच भयो भने के हुन्छ ? अचानक समस्या सुरु हुन्छ । सपोर्ट नगर्नेमात्रै होइन, यसले झनै ठूलो खतरा निम्त्याउँछ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व अध्यक्ष राजकुमार क्षेत्री नेपालको मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

उनले भने, ‘दुर्घटना हुनु नै राम्रो कुरा होइन । यद्यपि हाम्रोमा केही बढीजस्तो देखिएको छ । तर हाम्रो टोपोग्राफिकल कण्डिशन, वेदरको प्याट्रन छिनछिनमा चेन्ज हुने, ठाउँठाउँमा चेन्ज हुने, यी कुराहरुले हाम्रोमा अलि धेरै दुर्घटना अन्य देशको तुलनामा धेरै देखिएको मात्रै हो ।’

उहाँले दुर्घटना के कति कारणले भयो, मानवीय त्रुटी थियो वा मौसम बाधक थियो, टे«निङको कमी थियो भन्ने बारेमा सरकारबाट विस्तृत अध्ययन गरेर दुर्घटना हुन नदिने पहल चाल्न आवश्यक रहेको बताए । छानबिन समितिले दिएको प्रतिवेदन पाइलट, विमानस्थल, सिभिल एभिएसन लगायत सरोकारवाला सबै निकायले पालना गर्नुपर्ने उनको भनाइ छ ।

‘मैले आफूले काम सुरु गर्दा सुनेको थिएँ, छानबिन समितिले दिएको रिपोर्ट घर्रामा राखिन्छ, हेर्दा पनि हेरिँदैन, फेरि त्यही घटना दोहोरिन्छ,’ उनले भने, ‘तर मैले काम गर्न थालेपछि के देखेँ भने १५÷१६ वर्ष यता समितिले काम गर्दा पनि पर्फेक्ट गर्नुभएको छ । उहाँहरुले दिएको रिपोर्टलाई लुकाउन मिल्दैन । दोस्रो कुरा, लागू पनि गर्नुपर्ने हुन्छ । त्यो कुरा लागू नभए सिभिल एभिएसनलाई पनि आरोप आउँछ । विगतमा के भयो थाहा छैन अब लागू हुन्छ ।’

क्षेत्रीले पोखराबाट जोमसोम उडान गरेको तारा एयर मौसमका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने बताए । अब सरकारले र विमानस्थलहरुले साथै सम्बन्धित निकायले मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक रहेको बताए । खराब मौसम छल्न कुन उपाय गर्ने जस्ता कुराहरु विस्तृत रुपमा अध्ययन गरेर सरकार, मौसम विभाग र विमानस्थलले सामुहिक रुपमा कार्य गर्नुपर्ने उनको भनाइ छ ।

‘एयरलाइन्स बिजनेसमा एयरलाइन्स भन्दा पनि नियामक निकायको बढी भूमिका हुन्छ । निरीक्षण, नियमनको लागि हामीले उपमहानिर्देशकको नेतृत्वमा १२ सदस्यीय टीम नै बनाएका छौँ,’ उनले भने, ‘पहिला जस्तो हेलचेक्राँइ र निरीक्षण हुँदैन भन्ने कुरा अहिले छैन । अहिले सबै निकायले निरीक्षण गरिरहेको हुन्छ । अहिले भनेको त्यसमा के के सुधार गर्न सकिन्छ त्यसमा जोड दिने हो ।’

पूर्व अध्यक्ष क्षेत्रीले हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णय सबैको लागि ठिक नभए पनि केही स्थान, परिवेश र हेलिकोप्टरका लागि उचित रहेको बताए । उनले मौसम प्रतिकुल रहेका बेला एकजना पाइलटले भन्दा दुवै पाइलटको निर्णयले परिपक्वता देखाउने र सम्भावित दुर्घटनालाई निम्तिन नदिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप