बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावपछि माओवादी र एकीकृत समाजवादीलाई एमालेको अफरै अफर

मेटमणि भन्छन् : ओलीले मौका पाए एकै दिनमा दश जनालाई प्रधानमन्त्री बनाउँछन्
शुक्रबार, २० जेठ २०७९, १३ : २१
शुक्रबार, २० जेठ २०७९

गत वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन भयो । नेकपा एमाले स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्ने उत्साहका साथ चुनावी मैदानमा उत्रियो । तर, एमाले नेपाली काँग्रेसभन्दा धेरै अन्तरले दोस्रो शक्तिमा खुम्चिने निश्चित भएपछि हतारहतार गत जेठ १ गते विज्ञप्ति जारी गर्दै ‘सत्ता गठबन्धनले धाँधली गरेको’ आरोप लगायो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाए । मत परिणाम आउँदै गर्दा २०७४ सालभन्दा झण्डै एक सय स्थानीय तह गुमाउने अवस्थामा पुग्ने भएपछि एमाले अत्तालिँदै धाँधलीको आरोप लगाउन पुग्यो ।

स्थानीय तहको निर्वाचनमा काँग्रेस कुल ३२८ तह जितेर पहिलो शक्ति भएको छ भने एमाले २०५ स्थानीय तह जितेर दोस्रोमा खुम्चिएको छ । त्यसपछि क्रमशः नेकपा माओवादी केन्द्र १२२ तह र जनता समाजवादी पार्टी ३० तह र नेकपा एकीकृत समाजवादी २० तह जितेर तेस्रो, चौथो र पाँचौ दल भएको छ ।

स्थानीय तह निर्वाचनमा दोस्रो दलमा खुम्चिएपछि एमाले वृत्तमा सत्ता गठबन्धन कायम रहे प्रदेश र संघको चुनावमा पनि प्रतिकूल परिणाम आउने विश्लेषण सुरु भएको छ । त्यही त्रासबीच एमाले नेताहरु वाम गठबन्धन हुनुपर्ने भन्दै माहौल निर्माणमा जुटेका छन् । यद्यपि, पार्टी अध्यक्ष ओली बाहिरी रुपमा जनमतमा एमाले पहिलो शक्ति भएको भन्दै प्रदेश र संघको चुनावमा पनि एमाले एक्लै प्रतिस्पर्धामा जाने उद्घोष गरिरहेका छन् ।

आगामी प्रदेश र संघको चुनावमा एमाले र एमाले विरोधी गठबन्धन मात्रै चुनावमा जाने भएकाले तयारीमा जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन दिँदै आएका छन् । तर, एमालेका दोस्रो तहका नेताहरु भने भित्रभित्रै वाम गठबन्धन गर्नुपर्ने भन्दै माओवादी नेतालाई भेट्न थालेका छन् ।

एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् । माओवादीबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेर भेटघाट जारी राखेका छन् ।

एमाले नेताहरु पार्टी एकता तत्काल गर्न सम्भव नभए पनि वाम गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जानुपर्ने मत राख्न थालेका छन् । स्थानीय चुनावबाट तेस्रो शक्तिका रुपमा कायम रहेसँगै माओवादी यतिबेला निर्णायक बनेको छ । उसले जता गठबन्धन गर्यो, उतै बलियो हुने स्थिति छ । माओवादीको बार्गेनिङ पावर बढेसँगै एमाले नेताहरुले नै अग्रसरता लिएर कहिले प्रचण्डलाई प्रधानमन्त्रीको अफर, कहिले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफरका साथ निवास धाउने गरेका छन् । तर, स्थानीय चुनावपछि एमालेलाई ‘डाउन साईज’ गर्न सफल भएको भन्दै प्रचण्ड र माधवले यही गठबन्धनलाई कायम राखेर प्रदेश र संघको चुनावमा उसलाई थप कमजोर पार्ने रणनीति बनाइरहेका छन् ।

उता, काँग्रेसले पनि स्थानीय चुनावमा माओवादी र एकीकृत समाजवादी लगायत दलबाट राम्रै फाइदा लिएको छ । त्यसैले काँग्रेस सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धन कायम गरेर सत्ताको भर्‍याङ चढ्ने योजनामा छन् । त्यसका लागि देउवा तत्काल प्रदेश र संघको भागबण्डा टुङ्गो लगाएर कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता चुनाव गर्नुपर्ने पक्षमा छन् । त्यसका लागि गठबन्धनको बैठकमा उनले तत्काल भागबण्डा टुङ्गो लगाएर जाने मत राख्ने गरेका छन् ।

तर, काँग्रेसका शेखर कोइराला पक्षसहित उनीहरु निकट बुद्धिजीवीहरु भने गठबन्धन गरेर माओवादीलाई मात्रै फाइदा भएको विश्लेषण गर्न थालेका छन् । काँग्रेसले गठबन्धन नगरेको भए पनि यति नै सीट जित्ने दाबी गर्दै उनीहरु उल्टै माओवादीलाई यतिको ठुलो पार्टी बनाउने काम भएको भन्दै आलोचना गरिरहेका छन् ।

उनीहरुको आलोचनाले प्रचण्डलाई नराम्रोसँग बिझेको छ । रोल्पा, रुकुम, भोजपुर, प्यूठान र कालिकोटमा माओवादी विरुद्ध काँग्रेस–एमाले मिलेर कमजोर बनाएकोमा प्रचण्ड रुष्ट छन् । त्यसैमा काँग्रेसका कोइराला पक्ष र उनी निकट बुद्धिजीवीले माओवादीलाई अनावश्यक रुपमा हेप्न खोजेको भन्दै प्रचण्ड आक्रोशित छन् ।

प्रचण्डले गत बुधबार माओवादीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै काँग्रेसमा अहङ्कार पलाएको टिप्पणी गरे । स्थानीय चुनावमा ठूलो पार्टी भएपछि काँग्रेसमा एमालेजस्तै दम्भ पलाउन थालेको भन्दै बढी गरे ढलिदिनेसम्मको चेतावनी उनले दिए ।

प्रचण्डले यसरी धम्क्याएर कोइराला पक्षलाई ‘साइज’मा राखेर आगामी प्रदेश र संघको सिटमा बार्गेनिङ गरेको काँग्रेस नेताहरुको बुझाई छ । प्रचण्ड पनि तत्काल जस्तोसुकै परिस्थिति आए पनि पाँच दलीय गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जाने पक्षमा छन् । ‘केपी ओली सच्चिने खालको चरित्र भएको नेता होइनन् । तत्काल वाम गठबन्धन हुने सम्भावना देखिँदैन,’ रातोपाटीसँग कुरा गर्दै प्रचण्डले भने, ‘सत्ता गठबन्धन नै प्रदेश र संघको चुनावमा जान्छ । ढुक्क भए हुन्छ ।’

तर, आफू भने जहिल्यै वाम गठबन्धनको पक्षमा भएकाले वाम गठबन्धन विरोधीको रुपमा नलिन प्रचण्डले आग्रह गरे । यसअघि चुनावमा वाम गठबन्धन गरेर जान खोजे पनि केपी ओलीकै कारण असफल भएको प्रचण्डले बताए ।

वाम गठबन्धन हुनुपर्छ : गुरुङ

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने आगामी प्रदेश र संघको चुनावमा वाम गठबन्धन बनाएर जानुपर्ने बताउँछन् । विगतमा केपी ओलीलाई एक्ल्याउन काँग्रेससँग अप्राकृतिक गठबन्धन बनाएकाले त्यसबाट देशको उन्नति नहुने गुरुङको भनाइ छ । ‘अहिले सर्प, बिच्छी, भ्यागुता एउटै ठाउँमा भएर जुन गठबन्धन भएको छ, त्यो मुलुकको प्रगति, अग्रगतिको र समृद्धिको पक्षमा छैन,’ उनले भने, ‘संघीय शासन कार्यान्वयनको पक्षमा पनि देखिँदैन । संविधानमै व्यवस्था गरेको समाजवादको आधार निर्माण गर्नेतिर जाने पनि देखिँदैन । त्यो आगामी आर्थिक वर्षको बजेटमा समेत प्रतिबिम्ब भयो ।’

रातोपाटीसँग कुरा गदै गुरुङले प्रचण्ड र माधव नेपालहरू अप्राकृतिक गठबन्धनमा रहेको बताए । ‘वाम दलहरुबीच तालमेल भएमा समाजवादको आधार निर्माण गर्न सहज हुन्छ । तुलनात्मक रुपमा वामहरु नै देशभक्त हुन्छन्,’ उनले भने, ‘देशको स्वाधिनताको पक्षमा वामहरु योगदान दिन सक्छन् । नेपालको सन्दर्भमा सच्चा देशभक्त वामहरु मात्रै देखिन्छन् ।’

उनले एमालेविरुद्ध मोर्चाबन्दी बनेको र आफूहरुले पनि लचकता अपनाउन नसकेको स्वीकार गरे । ‘त्यतिबेला हाम्रो पनि थोरै समस्या हो । हामी मिलेर गएको भए यस्तो स्थिति हुने थिएन । हामी जहिल्यै वाम गठबन्धनकै पक्षमा छौं,’ उनले थपे, ‘जनमत भएरमात्रै हुँदैन । हाम्रा विरुद्ध गठबन्धन गर्ने धाँधली गर्ने तिकडम गर्ने, सत्ताको दुरुपयोग गरेर हराउने भयो । त्यसो भएको हुनाले वाम गठबन्धन गर्नै पर्छ ।’

यसका लागि सबैले लचक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । सबै पक्षले मेरै गोरुको बाह्रै टक्का गर्न नहुने उनको सुझाव छ ।

उनी भन्छन्, ‘अहिले परिस्थिति परिपक्व नभएकाले पनि एमालेसँग एकता सम्भव छैन भनिएको होला । एकता हुन परिस्थिति परिपक्व हुनुपर्छ । व्यवहार, सिद्धान्त, कार्यक्रम र नीतिले एकताका लागि आधार स्पष्ट पार्छ । त्यो हुन समय लाग्न सक्छ तर, तत्काल गठबन्धन बनाउन सकिन्छ ।’

अहिले खाली केपी ओलीलाई एक्ल्याउन गठबन्धन गरिएको भन्दै उनले अब एजेण्डामा आधारित गठबन्धन बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘त्यो भनेको वाम गठबन्धनबाट मात्रै सम्भव छ ।’

तर, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले एमालेसहितको वाम गठबन्धन हुँदै नहुने दाबी गरे । ‘वाम गठबन्धनको हल्ला केपी ओलीहरूले चलाएका हुन् । यही पाँच दलीय गठबन्धन नै प्रदेश र संघ चुनावसम्म लैजान्छौं,’ चौधरीले भने, ‘ओली भन्ने नेता नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्न लागेका छन् । उनी नेतृत्वमा हुँदासम्म कसरी वाम गठबन्धन हुन्छ ? त्यो सोच्नै सकिँदैन ।’

अहिलेको स्थानीय चुनावमा एक सयभन्दा बढी पालिका हारेपछि ओलीले आत्तिएर ‘वाम गठबन्धन’ भनेको चौधरीले बताए । ‘केपी ओलीले मौका पाए एकै दिनमा दश जनालाई प्रधानमन्त्री बनाउँछन् । त्यो २४ घण्टामा मिल्यो भने १० जनालाई बनाएर पठाउँछन्, त्यस्ताको लोभमा कोही फस्नेवाला छैन,’ चौधरीले भने ।

केपी ओली वाम नै नभएपछि वाम गठबन्धन हुँदैन : हरिबोल गजुरेल

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले यसअघि चुनावमा एमालेसँग वाम गठबन्धन गरेको स्मरण गर्दै त्यसमा टेकेर केपी शर्मा ओलीले पद, प्रतिष्ठा प्राप्त गरेको बताए । ‘उहाँले त्यो पुरा गर्नुभयो र भत्काउनुभयो । हामीले आगामी २०/३० वर्षलाई सोचेर एकता गरेका थियौं । त्यहीँबाट देशको आर्थिक समृद्धि र विकास गरेर समाजवादमा पुग्ने सपना देखेरै तालमेल गर्दै एकतामा गयौं,’ उनले भने, ‘त्यसलाई ओलीजीले सत्तामा पुग्ने भर्‍याङ बाहेक केही बनाउनु भएन । एकपटक असफल भइसकेपछि फेरि वाम गठबन्धन बनाएर जाने भन्ने हुँदैन ।’

उनले यही पाँच दलीय गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने दाबी गरे । चुनावपछिको सरकार पनि पाँच दलीय गठबन्धनकै हुने उनको भनाइ छ । ‘त्यसमा ढुक्क भए हुन्छ । ओलीले संविधान र लोकतन्त्रलाई भत्काउने, व्यवस्थालाई नै भत्काउने अनि वाम कसरी हुन्छ ?’ उनले भने, ‘एमालेमा कम्युनिस्ट मात्रै होइन, सामान्य वाम चिन्तन समेत छैन । त्यसैले प्रतिगमनको यात्रा नसच्चिएसम्म वाम गठबन्धन हुने कुनै सम्भावना छैन ।’

वाम गठबन्धन एमालेले चलाएको हल्ला : बेदुराम भुसाल

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले वाम गठबन्धन एमालेहरुले चलाएको हल्लामात्र भएको बताए । ‘वाम गठबन्धन गर्नुपर्छ भनेर कुनै नेताले छलफल गर्नु भएको छैन । प्रचण्ड र माधव नेपाललाई औपचारिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव आएको होइन,’ उनले भने, ‘पहिलो कुरा एमाले वामपन्थी नै रहेन । लोकतन्त्रलाई समाप्त पार्ने खालको हर्कत देखायो । त्यसैले लोकतन्त्रवादी नै नभएपछि कम्युनिस्ट झन् हुने कुरै भएन ।’

स्थानीय चुनावको परिणामले एमालेमा एक प्रकारको छटपटाहाट देखिएको उनको बुझाइ छ । ‘उसको छटपटाहटको कारणले वाम गठबन्धन गर्ने भन्ने हुँदैन । हामीले स्थानीय तहमा यति ल्याउँछौ उति ल्याउँछौ भनेर अपेक्षा राखेका थिएनौं,’ उनले भने, ‘जति ल्याएका छौं, त्यसमा ठिकै छ भन्ने छ तर पूर्ण सन्तुष्ट छौं भन्ने होइन ।’

सत्ता गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने उनले पनि प्रस्ट पारे । ‘अब जिल्ला समन्वय समितिमा मिलेर जाने निर्णय भएको छ । आगामी प्रदेश र संघको चुनावमा मिलेर जाने भन्ने कुरा भएको छ,’ उनले भने, ‘अहिले सत्ता गठबन्धन ढल्ने र वाम गठबन्धन भन्ने हल्लामात्रै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप