आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

शुक्रबार, २० जेठ २०७९, १० : ४७
शुक्रबार, २० जेठ २०७९

जुम्लाका किसानलाई कालीमार्सी धान  रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ ।  जिल्लाका आठवटै स्थानीय तहमा धान खेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ । 

“सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,” उनले भने, “असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ ।” पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ । 

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । काठमाडौँलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ । यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ । पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ । 

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप