सेतो हात्ती बन्यो मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजना जति बेला काठमाडौँ उपत्यकाका लागि भरपर्दो खानेपानीको स्रोतको रूपमा पहिचान गरियो त्यो बेला काठमाडौँ उपत्यकाका लागि त्यो बेला थुप्रै वैकल्पिक स्रोतहरू थिए । जस्तो शिवपुरी जलाधार क्षेत्रलाई नै अलि राम्रो बनाउन सकिन्थ्यो । फुल्चोकी जलाधार क्षेत्र, चन्द्रागिरि जलाधार क्षेत्र, नागार्जुन जलाधार क्षेत्र लगायतका उपत्यका वरिपरि नै पानीका स्रोतहरू थिए । यी स्रोतहरूलाई अधिकतम सदुपयोग गर्दा, संरक्षण गर्दा धेरै हदसम्म त्यसले काठमाडौँको माग पूरा गर्न सकिन्थ्यो ।
दीर्घकालीन रूपमा काठमाडौँमा जनसङ्ख्या धेरै हुन्छ, मेलम्ची आयोजना नबनाए त हुँदैन, सन् २००० सम्म काठमाडौँमा जनसङ्ख्या धेरै बढ्छ । त्यति बेला मेलम्ची नै सबैभन्दा उपयुक्त हो भन्ने निष्कर्षमा सबै जना पुगे । आजभन्दा २२ वर्ष अगाडि त्यहाँको पानी काठमाडौँ आइसक्छ र वितरण गर्न सकिन्छ भनेर त्यो बेला सोचिएको थियो ।
यो आयोजना २०४५ सालतिरबाट बाट सुरु भएको हो । २०४६–४७ सालतिर यसबारेमा धेरै बहस छलफल भएको थियो । २०४७–४८ सालतिर यो आयोजना अगाडि बढाउने भन्ने प्रक्रिया सुरुवात भएको थियो । यो आयोजना बनाउन धेरै समय लाग्यो । बल्ल २०५५–५६ सालतिर काम सुरु भयो । त्यो बेलादेखि बनाउन थालेकै २२–२३ वर्ष भइसक्यो । यति धेरै समय बितिसक्दापनि पानी आउन सकेको छैन, अरबौँ रुपैयाँ खर्च भइसकेको छ ।
मेलम्ची खानेपानी आयोजनाका नाममा धेरै ठूलो खर्च भएको छ । काठमाडौँ उपत्यकामा पाइपलाइन बिछ्याउने नाममा धेरै खर्च भएको छ । सुरुङ खन्ने कामका लागि अरबौँ रुपैयाँ खर्च भएको छ । त्यति धेरै पैसा खर्च भए पनि पानी आउने कुरा भरपर्दो भएन । काठमाडौँमा पानी आउन थालेको १ महिनामा नै माथि हिमालबाट पहिरो झर्न थाल्यो ।
मेलम्ची खानेपानी आयोजना त्यो बेलामा बनाउन थाल्नुभन्दा पहिले त्यसको राम्रोसँग वातावरणीय, भौगर्भिक प्रभावहरू के के पर्न सक्छन् ? त्यसको आर्थिक प्रभाव के पर्न सक्छ ? त्यसले सामाजिक समस्याहरू के आउन सक्छ ? भन्ने बारेमा गम्भीर रूपले चिन्तन मनन गरेर मात्रै एउटा निष्कर्षमा पुग्नुपर्थ्यो । यो विषयमा ध्यान नदिएका कारण नै अहिले नयाँ नयाँ समस्या आएको हो ।
मैले तत्कालीन समयमा यसबारेमा थुप्रै रिपोर्टिङ गरेर प्रश्नहरू उठाएको थिएँ । त्यति बेला विज्ञहरूले के कुरा उठाएका थिए भने सुरुङ खनेर पानी ल्याउने संरचनाका लागि भौगोलिक अवस्था कमजोर छ । त्यो बेला भएको भौगर्भिक अध्ययनको विस्तृत विवरण नै बाहिर आएन र बहस हुन पाएन ।
इटालियन ठेकेदार कम्पनीले सुरुङ त बनाइदियो तर त्यो सुरुङ नै भरपर्दो छ कि छैन भनेर अझै परीक्षण भएको छैन । सुरुङले आफैमा राम्रोसँग काम गर्न सक्छ भनेर पूर्ण रूपमा परीक्षण हुन नै बाँकी छ । २०७२ सालमा भूकम्पले सबैभन्दा क्षति यही क्षेत्रमा पुर्यायो ।
सुरुङमार्ग क्षेत्र थकनी, तालामाराङको बतासे क्षेत्र आसपास र ग्याल्थुम भन्ने क्षेत्रमा धेरै नै जोखिम छ भन्ने कुरा छ किनभने त्यी ठाउँका बाहिरी भागमा ठुला ठुला पहिरोहरू गएका छन् ।
पहिलो कुरा त सुरुङ आफैमा कति भरपर्दो हुन्छ भन्ने कुराको परीक्षण नै भएको छैन । दोस्रो कुरा मेलम्ची खोलाको माथिल्लो क्षेत्रको भौगोलिक अवस्था कमजोर छ । पहिलेदेखि नै मेलम्ची खोला धमिलो आउँथ्यो सङ्लो पानी इन्द्रावतीमा मात्र आउने हो । मेलम्ची धमिलो आउनुको कारण त्यसको मुहान क्षेत्रमा समस्याहरू छन्, गेग्रानहरु छन्, त्यहाँको भूमि कमजोर छ भन्ने कुरा पहिले नै अनुमान गर्नुपर्थ्यो । अहिले पहिरो आएका कारण एकाएक त्यो गेग्रान आएको हैन । गत वर्षको बाढीमा पहिलेदेखि नै थुप्रिएर रहेको गेग्रान आएको भन्ने कुरा आयो । यसको अर्थ मेलम्ची खानेपानी आयोजना अघि बढाउँदा त्यो पक्ष नै हेरिएनछ । जलाधार क्षेत्रको माथिल्लो भागमा के के समस्याहरू रहेछन् भनेर हेरिएकै रहेनछ । अहिले पानी जोगाउने कि सुरुङ जोगाउने भन्ने कुरा भइरहेको छ ।
मेलम्ची सेतो हात्ती हुन्छ भनेर यसअघि देखि नै मैले भन्दै आएको थिएँ । अहिले सेतो हात्तीको अवस्थामा पुगेको छ । गतवर्ष बाढी आयो अहिले बनाउन सत्तरी बहत्तर करोडभन्दा बढी खर्च भयो भन्ने कुरा आइरहेको छ । तर काठमाडौँमा पानी एक महिना पनि आएन । फेरि सुरुङको ढोका छोपेका छन्, त्यसलाई बाढीले कहिले पुर्ने हो र अर्को बजेट करोड अरब खर्च गरेर अर्को वैशाखसम्म बनाएर फेरी १ महिनासम्म पानी ल्याएर फेरी बन्द गर्ने हो भने मेलम्ची आयोजनाले कसरी धान्न सक्छ ।
नेपालको थाप्लोमा एसियाली विकास बैंकको त्यति धेरै ऋण छ । त्यति धेरै पैसा खर्च भएको छ तर पानीका लागि यो वर्ष बल्ल बजेटमा काठमाडौँ आसपासका स्रोतमा ध्यान दिनका लागि समेटियो । यही कुरा ३० वर्ष पहिले नै गरेको भए, काठमाडौँ वरिपरिकै स्रोतहरूलाई प्रयोग गरेको भए सानो सानो स्रोत एउटा बिग्रियो भने पनि अर्को चल्थ्यो, साना साना आयोजनामा खर्च पनि कम लाग्ने हुन्थ्यो । यो ठूलो आयोजनामा एकैचोटी ठूलो लगानी गरेर ढाड सेक्ने काम भयो । अहिले मेलम्चीको २७ किलोमिटर सुरुङ कसरी जोगाउने भन्ने समस्या भएको छ । पानी पनि नआउने र हरेक वर्ष सुरुङ पनि कसरी जोगाउने भनेर खर्च गर्नुपरेको छ ।
मेलम्ची आयोजनाका नाममा भएका भ्रष्टाचार त कति भए कति । आयोजनामा पुग्ने पहुँच मार्ग सडकमा भ्रष्टाचार, सुरुङ निर्माणमा भ्रष्टाचार, काठमाडौँमा पाइप बिछ्याउने कुराको भ्रष्टाचार, सामाजिक काम भनेर अकुत भ्रष्टाचार, जग्गाको मुआब्जाका लागि पैसा गरेर ठूलो धनराशि खर्च भएको छ । केही आयोजना प्रमुखहरू, नीति निर्माताहरू, ठेकदारहरूले त्यसबाट फाइदा उठाए, मेलम्ची क्षेत्रका स्थानीय बासीका लागि पनि जोखिमको जोखिम रह्यो, काठमाडौँका मानिसले पनि पानी खान पाएनन् ।
मेलम्चीबाट के पाठ सिक्ने
मेलम्ची खानेपानी जस्ता ठुला आयोजना बनाउँदा गम्भीर अध्ययनहरू हुनुपर्‍यो । त्यसले ५० वर्षसम्म ती आयोजनाहरू कसरी अगाडि जालान् ? त्यसलाई हामीले थेग्न सक्छौँ कि सक्दैनौँ ? त्यस्ता आयोजनाहरू भोलि सफल हुन्छन् कि हुँदैनन् ? यस्ता कुराहरू गम्भीर ढङ्गले हेर्नुपर्ने हुन्छ ।
अहिले पनि एसियाली विकास बैंकको ३३/३४ अर्ब ऋणको भारी बोक्नुपरेको छ । अर्कोतर्फ काठमाडौँमा पानी पनि छैन । मेलम्ची आउँछ भनेर काठमाडौँमा अरु स्रोतको पानी पनि आएन । एकातिर पानीको सङ्कट भयो भने अर्कोतर्फ ऋणको बोझ पनि भयो । यो आयोजना नेपालका लागि एउटा सिकाइको माध्यम पनि हो ।
अर्को कुरा मेलम्ची जस्तो आयोजनामा विगतदेखि संलग्न भएका व्यक्तिहरू, यसको बारेका नीति निर्माताहरू, प्राविधिकहरूलाई जवाफदेही पनि बनाउनुपर्छ । अहिले आएर उनीहरुले प्रकृतिलाई दोष दिएर मात्रै हुन्छ त ? आयोजना माथि पहिरो गयो हामीले के गर्ने भनेर पन्छिन् पाइन्छ त ? पहिरो जान्छ कि जाँदैन भन्ने कुराको पनि अध्ययन गर्न सक्नुपर्‍यो नि । भूकम्प कहिले जान्छ भन्ने थाहा पाउन नसके पनि भोलि भूकम्प जान सक्छ भनेर अनुमानका आधारमा त्यसबाट बच्नका लागि पूर्व तयारीका काम गरेजस्तै त्यसको पनि जोखिमको अध्ययन अनुसन्धान गर्न त सकिन्छ । जोखिमको अध्ययन अनुसन्धान नै नगरी त्यति ठूलो आयोजना बनाउनेहरूलाई जवाफदेही बनाउनुपर्छ कि पर्दैन ?
आयोजना प्रमुखहरू कसैको निधन भइसकेको छ, कोही अवकाशपछि विदेश पलायन भइसके, कोही वृद्ध भएर घरमा बसेका छन् । आयोजनाबाट ठेकेदार र बिचौलियामा कमाउन सम्म कमाए । अब कसलाई जवाफदेही बनाउने ? यो आयोजनाको ऋण त हरेक नेपालीको टाउकोमा छ । एसियाली विकास बैंकको ऋण त नतिरी सुख छैन । आयोजना असफल भयो अब हामी ऋण तिर्दैनौँ भनेर मुक्ति त पाँइदैन ।
आयोजना माथिको भौगोलिक अवस्था कस्तो छ भनेर कसैले पनि अनुमान नै गरेको छैन । त्यहाँ गेग्रानमात्र थुप्रिएको छ कि अरु नै जोखिमहरू छ कि, त्रिभुवन विश्वविद्यालयबाट गएको भौगर्भिक टोलीले पनि त्यहाँको जोखिमको यथार्थ बताउन सकेको छैन । गत वर्ष तल झरेको गेग्रान थुप्रिएको ठाउँको एक भाग मात्र हो । त्यो क्षेत्रबाट त्यसरी बिसौँ वर्षसम्म पनि बाढी जान सक्छ । वर्षामा मात्र हैन ‘ग्लोबल वार्मिङ’का कारण जमेको हिउँ पग्लिएर हिउँदमा पनि बाढी आउन सक्छ । त्यसले माथि थुप्रिएको ढुङ्गा माटो बालुवा झार्ने भइहाल्छ । जसले क्षति पुर्याउने आयोजना स्थल, त्यहाँसम्म पुग्ने बाटो मर्मत गरिरहनु पर्यो, सुरुङ मर्मतको काम लगायत धेरै काम गरिरहनुपर्ने भयो । एक किसिमले यो धान्नै नसक्ने बोझ भयो ।
(वरिष्ठ पत्रकार तारानाथ दाहालसँग कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताइवानलाई अमेरिकी सहयोगपछि चीनले भन्यो- अमेरिका आगोसँग खेलिरहेको छ
-
पहिलो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोलीको शानदार जित
-
अल्लु अर्जुनको घरमा आक्रमण
-
धनगढीको एक मोबाइल पसलमा आगलागी
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर, कालोसूचीमा पर्ने सम्भावना
-
अनमोल र आँचल उत्कृष्ट अभिनेता अभिनेत्री, फिल्ममा ‘पुजार सार्की’