सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लमजुङमा नयाँ पाठ्यपुस्तकको अभाव, पठनपाठनमा समस्या

शुक्रबार, २० जेठ २०७९, ०७ : ०६
शुक्रबार, २० जेठ २०७९

लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइ नपुग्दा पठनपाठनमा समस्या भएको छ ।

मस्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच किताब किन्न पाए पनि चारवटा अझै नपाउँदा अध्ययनमा समस्या भएको उनले गुनासो गरिन् । 

सोनिका जस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुःखेसो उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावित पश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ । विद्यार्थी चिन्तित छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलबाड गरेको विद्यार्थीको आरोप छ ।

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । सरकारले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने भनेको छ । बेँसीशहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, “पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत किताब उपलब्ध नहुँदा समस्या भएको छ ।”

बेँसीसहर–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापा किताब उपलब्ध हुन कति समय लाग्छ भन्न सकिने अवस्था नभएको बताउछन् । स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चालक बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराउँदै आएका छन् । 

जिल्लामा सामुदायिकतर्फ ३३६ र निजी तर्फ ३३ विद्यालय छन् । सामुदायिक विद्यालयमा झण्डै २६ हजार र निजीतर्फ नौ हजार विद्यार्थी अध्ययनरत छन् । 
रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप