बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

६ बुँदे निर्णय गर्दै सकियो राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला

बिहीबार, १९ जेठ २०७९, २१ : ३५
बिहीबार, १९ जेठ २०७९

६ बुँदे निर्णय गर्दै राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सकिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा हेटौंडामा बुधबार र बिहीबार चलेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति राप्रपा नेपाललाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा वागमती प्रदेशभित्रका सबै जिल्ला कार्यसमिति मन, वचन र कर्मले समर्पित रहने संकल्प गर्ने निर्णय गरेको छ ।

त्यस्तै भेलामा केन्द्रको तर्फबाट प्रस्तुत भावी कार्यदिशा तथा कार्यक्रमलाई सबै जिल्लाहरुमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै यथाशिघ्र जिल्ला कार्यसमितिलाई पूर्णता दिने, भदौभित्र प्रदेशका सबै पालिकाका वडाहरूमा पार्टीको इकाई समितिहरु गठन गर्ने, असारभित्र जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने, पार्टी कार्यालय व्यवस्थित रूपमा सञ्चालन गर्ने, सबै तहका कार्यसमितिहरूको बैठक नियमित गर्ने, महिनाको एकपटक सबै तहको बैठक बस्ने व्यवस्था मिलाउने जस्ता निर्णय गरेको छ ।

त्यसैगरी नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेकाले सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्ने, प्रदेशको राजधानी हेटौंडालाई सबै जिल्लाहरूसँग सोझो र सरल  यातायातको माध्यमबाट जोड्न तथा काठमाडौं उपत्यकासम्म सहज आवागमनका लागि हेटौंडा काठमाडौं जोड्ने सुरुङ मार्गलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न प्रदेश र संघीय सरकारसँग माग गर्ने, हिन्दुराष्ट्र र राष्ट्रियताको सिद्धान्तप्रति प्रतिबद्ध विगतमा सँगै काम गरेका तथा अन्य सबैलाई राप्रपा नेपालको अभियानमा सहभागी हुन आह्वान गर्ने, वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरि तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप