शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइन्छः गभर्नर

बिहीबार, १९ जेठ २०७९, १८ : १०
बिहीबार, १९ जेठ २०७९

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् । 

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए । उनले भने, ‘केही विनियम सँग सम्बन्धित कुराहरु बाँकी छन् । जसको लागि सबै युनियनहरूको फिडब्याकसहित बिनियमको ड्राफ्ट बनिसकेको छ र हामी सञ्चालक समितिमा छलफलको प्रक्रियामा छौँ । त्यहाँ भित्र पक्कैपनि वृत्ति विकास लगायतका कुराहरु र केही करेक्शनका कुराहरु, अनुभवको आधारमा गर्नुपर्ने करेक्शन छन् । धेरै ठुलो संशोधन पनि छैन । हामी यसमा गहन मन्थनमा छौँ । छलफलमा छौँ । म यत्ति कुरो यहाँहरुलाई राख्न चाहान्छु, हामीले पास गरिराख्ने संशोधन रिग्रेसिभ हुने छैन । पहिलेको जुन विनियमावली छ, त्यो भन्दा कुनै सेवा, सुविधा अथवा कुनै किसिमका वृत्ति विकासका व्यवस्थाहरु घटेर त्यसबाट आउने छैन । आशा गरौँ त्यो राम्रो हुनेछ । सकारात्मक हुनेछ ।’

उनले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए ।  बैंकका कर्मचारीहरुले गलत काम नगरेको भन्दै उहाँले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप